बाहिरबाटै मात्रा हेर्न मिल्ने नेपाल ग्याँसको कम्पोजिट सिलिण्डर आजदेखि बजारमा, मूल्य १० हजार ६ सय
काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर आजदेखि बजारमा ल्याउने भएको छ । नयाँ ब्राण्ड लाइट सेफ सिलिण्डरलाई नेपाल ग्याँसले बिक्री गर्ने भएको हो । कम्पनीले प्रति सिलिन्डर ग्याँसको मूल्य १० हजार ६ सय रुपैंया तोकेको छ । यो ग्याँस सिलिण्डर सबै परिक्षण गरेर आगलागिका बेलामा पनि बिस्फोटन नहुने गरी प्रमाणित गरिएकाले शतप्रतिशत सुरक्षित रहेको कम्पनीको दाबी छ । सिलिण्डर पारदर्शी भएकाले यसमा ग्याँसको मात्रा कति छ भनेर हेर्न सकिन्छ । यो बिल्कुलै खिया प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार विकशित देशमा परीक्षण निकायबाट मजबुत प्रमाणित भएको साथै नापतौल तथा गुणस्तर विभागबाट समेत स्वीकृति तथा प्रमाणीकरण भएको छ । गत बैशाखमा क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई लञ्च गरेको थियो ।आधुनिक प्रविधिबाट निर्मित यस कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो । परम्परागत सिलिण्डरको तुलनामा बलियो भएकाले यसलाई मेनटेनेन्स गरिरहनु नपर्ने कम्पनीको दाबी छ । यो सिलिण्डरको तौल फलामे सिलिण्डरको तुलनामा आधा भन्दा कम रहेको छ । यसमा भएको ह्याण्डल रिङले यसलाई उचाल्न सजिलो बनाउने कम्पनीले जानकारी दिएको छ । बर्षेनी नेपालमा ग्याँस सिलिण्डर बिस्फोट भएर ज्यान नै गुमाउनुपर्ने, धन सम्पती क्षति हुने अवस्था बढ्दै गएको सन्दर्भमा कम्पोजिट ग्याँस विकल्प हुने कम्पनीको भनाई रहेको छ । फलामको सिलिण्डरमा बिस्फोटको खतरा हुने, सिलिण्डरमा २ केजी लेदो तल जम्ने, अपारदर्शीका साथै ग्याँसको मात्रा देख्न नसकिने हुँदा पुरानो प्रविधिलाई हटाउन खोजिएको छ । फलामको सिलिण्डरमा रहेको ग्याँस शून्य डिग्री सेल्सियसमा जम्नेमा कम्पोजिट सिलिण्डरमा माइनस ४० डिग्रीसम्म ग्याँस नजम्ने कम्पनीले जानकारी दिएको छ । नेपाल आयाल निगमले पनि सबै ग्याँस बोटलिङ कम्पनीलाई अनिवार्य रूपमा ५ प्रतिशत कम्पोजिट सिलिण्डर बेच्नुपर्ने नियम बनाउने तयारी गरिरहेको छ । अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन् । यस्ता छन् कम्पोजिट सिलिण्डरको विशेषताहरु नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण-सुरक्षित र विस्फोटन नहुने रहेको छ । यसलाई आगोले विष्फोट गर्न सक्दैन, त्यसैले उपभोक्ताहरुले आफु पूर्ण सुरक्षित भएको विश्वास गर्न सक्ने कम्पनीको दावी रहेको छ । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ । यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सकिने छ । कम्पनीका अनुसार अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । हाल बिक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ के.जी र ५ के.जीमा उपलब्ध छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपालग्यास उद्योग पूर्ण स्वचालित छ जसमा अटोमेटिक वोटलिङ्ग प्लान्ट, परीक्षण स्थल छन भने विज्ञ प्राविधिक जनशक्तिले यसको सञ्चालन गरेका छन् । यस उद्योगको प्रत्येक सिफ्टमा १२,००० सिलिण्डर उत्पादन गर्नेे र उपभोक्ताको माग अनुसार १००० मेट्रिक टन सम्मको भण्डार गर्ने क्षमता रहेको छ । हाल यसका २६० भन्दा बढी डिलरहरुले काठमाडौं उपत्यका ग्राहकलाई सेवा पुर्याई रहेका छन् भने उपत्यका बाहिर २०० भन्दा बढी डिलरहरु रहेका छन् । मोबाइल एप सार्वजनिक नेपाल ग्यास उद्योगले आफ्नो मोवाइल एप सार्वजनिक गरेको छ । साथै, कम्पनीले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्वेसेडर घोषणा गरेको छ । उद्योगका कार्यकारी निर्देशक-गोकुल भण्डारीले संस्थाले पूर्ण गुण्स्तरीय सिलिण्डर उपलब्ध गराउँदै आएकोमा कम्पोजिट सिलिण्डर अझ भरपर्दो हुने बताए । नेपालको मापदण्ड अनुसार स्वीकृत तौल +/–१५० ग्राम रहेतापनि नेपाल ग्यास उद्योगले आफ्नो उत्पादनमा +/–२० ग्रामको मापदण्ड तय गरिएको छ । साथै, मेरो किरानालाई नेपाल ग्यास कम्पोजिट सिलिण्डरको काठमाडौं उपत्यका भित्र अनलाइन डेलिभरी पार्टनरको रुपमा पनि घोषणा गरिएको कम्पनीले जनाएको छ ।
उखु कृषकलाई खुशिको खबर, प्रतिक्विन्टल ६० को दरले सरकारी अनुदान वितरण सुरु
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा उखु कृषकलाई अनुदान दिने व्यवस्था कार्यान्वयनमा आएको छ । अब उखु कृषकलाई प्रतिक्विन्टल ६० रुपैंको दरले अनुदान वितरण सुरु हुने भएको हो । अनुदान रकम वितरण गर्नका लागि अर्थ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पत्र काटिसकेको छ । मन्त्रालयका अनुसार प्रत्येक जिल्लाका सहायक जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोष तथा लेखा नियन्त्रक प्रमुखको समितिले सम्बन्धित चिनी मिलमार्फत कृषकलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक पनि अर्थ मन्त्रालयले रकम वितरणको लागि आवश्यक निर्देशन दिइसकेको छ ।
उद्योग मन्त्रालयको समिक्षा: घरेलु र सैनिक उत्कृष्ट, आयल निगम झुर
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आफु सहित मतहतका विभिन्न विभाग,समिति र कार्यालयहरुको वार्षिक कार्य प्रगति मूल्याङकन गरेको छ । आर्थिक वर्ष २०७४ र ०७५ मा घरेलु तथा साना उद्योग विभाग (जिल्ला) र सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालय कार्यसम्पादनमा उत्कृष्ट बन्दा अबौंको कारोबार गर्ने आयल निगम सबैभन्दा झुर गर्ने निकायमा दर्ज भएको छ । मन्त्रालयलको समिक्षा विवरण अनुसार घरेलुले १०३.५० प्रतिशत कार्यप्रगति गरेको छ भने सैनिकले १०० प्रतिशत कार्यप्रगति गरको छ । ८० प्रतिशत भन्दा बढी कार्यप्रगति गर्ने ९ वटा विभाग तथा कार्यालय रहेका छन् । जसमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल गुणस्तर तथा नाप तौल विभाग, पेट्रोलियम अन्वेषण परियोजना, खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग विकास समिति, कम्पनी रजिस्टर कार्यालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय रहेका छन् । यसैगरी ५० देखि ८० प्रतिशत कार्य प्रगति गर्नेमा उद्योग विभाग, सडक विभाग, नेपाल विद्युत प्राधिकरण लगायत १६ वटा कार्यलय तथा विभाग रहेका छन् । यस्तै ५० प्रतिशत भन्दा कम कार्यप्रगति गर्नेमा ५ वटा कार्यालय तथा विभाग रहेका छन् । सबैभन्दा कम कार्यप्रगति गर्नेमा आयल निगम रहेको छ । उसले वर्षभरीमा जम्मा १४ प्रतिशत भन्दा मात्रै कार्यप्रगति गरको छ । आर्थिक वर्ष ०७४/०७५ ५० प्रतिशतभन्दा कम प्रगति गर्नेमा नेपाल भारत क्षेत्रिय व्यापार तथा पारवहन आयोजना, केन्द्रिय कारागार कारखाना र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना रहेका छन् । मन्त्रालयले मुख्य उपलब्धीहरुमा नवलपरासीको धौवादी फलाम अन्वेषणमा भएको प्रगति, धादिङको चुनढुङगामा भएको प्रगति, निजी क्षेत्रको ४ अर्ब लगानी भई भैरहवामा स्थापना हुने उद्योगले ३ हजार जनालाई रोजगारी दिने लगायत विषयलाई मूख्य उपलब्धीको रुपमा लिएको छ ।