‘जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
काठमाडौं । शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो। यसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु गरेको छ । हरेक घर र व्यवसायका लागि शुद्ध खाने पानीमा आधारित भई करिब चार दशकदेखि काम गरिरहेको जिरो बी ब्राण्ड भारतको आओन एक्चेञ्ज इण्डिया लिमिटेडको प्रमुख उत्पादन हो । पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीको अत्याधुनिक प्रविधिका लागि यो प्रविधि परिचित छ ।
कृषि क्षेत्रमा ठूलो सम्भावना छ, व्यवसायिक बनाउन सकियो भने लाखौले रोजगारी पाउँछन् : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रबाट फाइदा लिन निर्वाहमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नुपर्ने बताएका छन् । नेपाल कृषि तथा मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष ढकालले कृषिमा पर्याप्त सम्भावना भएपनि नेपालले त्यसबाट फाइदा लिन नसकेको बताएका हुन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि कृषिको यान्त्रिकरण, आधुनिकिकरण र व्यवसायिकरणको गर्नु पर्ने उनको भनाइ छ । ‘नेपालको भौगोलक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक साधन र श्रोत हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । यसलाई व्यवसायिक बनाउन सकियो भने लाखौ मानिसलाई कृषि मै रोजगारी सिर्जना गर्न सकिन्छ र देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन सकिन्छ,’ उनले भने । देशलाई कृषि प्रदान भन्ने तर कृषि क्षेत्रलाई सधैं उपेक्षा गरिएको बताउँदै आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन र कार्यान्वयन योग्य बजेट निर्माणका लागि सरकारसँग उनले आग्रह गरे । महासंघले कृषि उद्यम केन्द्रका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले महासंघ ७७ जिल्लामा रहेका आफ्ना १२४ जिल्ला नगर उद्योग वाणिज्य संघहरुसँग समन्वय गरि सरकारसंग मिलेर काम गर्न तयार रहेको बताए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भएपनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै अनुदानलाई व्यवस्थित गर्नु पर्ने बताए । कृषिको विकाकसा लागि राज्यले प्रविधिको प्रयोग मार्फत कृषि वस्तु उत्पादन र बजारीकरणमा राज्यको लगानी प्रर्वद्धन गर्न जरुरी रहेको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि किसानको लागि समयै मल बिउ, प्रविधि उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
आयातित फर्निचर हटाएर स्थानीयस्तरमै उत्पादन बाँस प्रयोग, राष्ट्रपतिसहित ६ उच्चपदस्थलाई उपहार
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ ६ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो । स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्चपदस्थ ६ जना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । ‘स्थानीय स्रोत तथा साधन उपयोग गरेर बनाइएका सामग्री उपयोग गर्न दबाब सिर्जना गर्न बाँसबाट निर्मित कुर्सी र टेबल दिने तयारी गरिएको हो । यसमध्ये कुर्सी आज काठमाडौं पठाइएको छ । टेबल भने केही दिनपछि पठाउने तयारीमा छौँ,’ उनले भने, ‘बहुउपयोगी बाँस बिनाउपयोग त्यत्तिकै खेर गइरहेका छन् । यसलाई उद्योगका रुपमा विकास गर्दै उपयोगमा ल्याउनसके खर्बौंको आम्दानी गर्न सकिन्छ । बाँसको उपयोगसम्बन्धी नीतिगत रूपमा निर्णय गरी कार्यान्वनयन गर्न÷गराउन दबाबस्वरुप राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको हो ।’ नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा स्थानीयस्तरमा उत्पादन गरिएका बाँसकै फर्निचर प्रयोग गरेका छन् । अघिल्लो नगर सरकारका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गरेका सुविधायुक्त आयातित फर्निचर हटाएर नगर प्रमुख भट्टराई र उपप्रमुख राईले स्थानीय कासिन्दा एवं उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गरेका हुन् । बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवं उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । जिल्लाको सबैभन्दा ठूलो (१५ वडा रहेको) नगरपालिकाभित्र अत्यधिकमात्रामा मलीबाँस, ढुङ्ग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपालनका लागि घाँस, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक काममा बाँस उपयोग गरिँदै आइएको छ । नगरपालिकाले बाँसलाई जीवनोपयोगी बनाउँदै बाँससम्बन्धी उद्योगहरु सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले तीनदिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’समेत सम्पन्न गरेको छ । गत फागुन १५, १६ र १७ गते दिक्तेलमा सञ्चालन भएको राष्ट्रिय बाँस सम्मेलनले बाँस सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीतिनिर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडका आधारमा ‘खोटाङ घोषणापत्र’ जारी गरिएको हो ।