औद्योगिक प्रर्दशनीसहित महासंघको अधिवेशन तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको तयारी पुरा गरेको छ । औद्योगिक प्रवद्र्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । उक्त महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको प्रमुख अतिथि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिलेको विषम परिस्थितीमा देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य लिएर अधिवेशन गर्न लागिएको समेत संयोजक सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार महासंघले बबरमहलस्थित कार्की बैंकेटलमा देशभरका करिव ३ हजार उद्योगी व्यवसायीको सहभागितामा निर्वाचन सहितको महाधिवेशन गर्ने भएको छ । यसैगरी महासंघले देश भित्र रहेका लघु घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित बस्तुहरुको बजाररिकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोवल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधी चलायमान बनाउनका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।’ महासंघले अधिवेशनको अबसरमा देशभरका उद्योगी व्यवसायी उपस्थित गराई उनीहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्ने छ । साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाईने समेत उनले जानकारी दिए । उक्त प्रदर्शनीमा देशभरका ३ हजारभन्दा बढी उद्योगी व्यवसायीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहेन उक्त मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, घलुघरेलु देखि मझौला र ठूला गरी करिव १ सय स्टलहरु राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाईने जिम्बु, यार्चा, सिलाजित देखि पूर्वको छुर्पी, अलैची देखि चियाकफी सम्म रहने छ ।’

आर्थिक मन्दीले पर्वतमा १३३ उद्योगको दर्ता खारेज

फाइल फोटो पर्वत । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ ।  चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिए । खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन् । दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उनले बताए । त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चार सय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीन सय ९० पुगेका छन् भने तीन हजार दुई सय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एक सय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताए । छ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताए । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताए । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उनको भनाइ छ । लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उनको भनाइ छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन् । सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताए । कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ । वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ । कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ । पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ । दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा २८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छवटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ । रासस

विद्युत आपूर्तिका सम्बन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण

काठमाडौं । उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ हुने भएपछि उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात हुने विद्युत आपूर्तिमा भएको कटौतीको कारण १२ घण्टासम्म लोडसेडिङ हुने जानकारी गराएसँगै उद्योग संगठन मोरङले ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको छ । प्राधिकरणले भारतबाट आयात हुँदै आएको विद्युत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कटौती गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) भन्दै लोडसेडिङ हुने जानकारी गराएको हो । उद्योग संगठन मोरङले गत पुस महिनादेखि नै अघोषित रूपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेको भन्दै यस समस्याको समाधान खोज्न आग्रह गरेको छ । ‘विगत पाँच सात वर्षदेखि नै हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति अवरुद्ध हुँदा संगठनले सशक्त आवाज उठाइरहेको र सम्बद्ध पक्षबाट ट्रान्समिसन लाइन निर्माण भइसकेकोले चाँडै यस प्रकारको विद्युत आपूर्तिमा अवरोध नहुने आश्वासन दिइरहेको थियो,’ संगटनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर हाल भारतबाट आयात कटौती भइ विद्युत आपूर्ति अवरुद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरूलाई आश्चर्यचकित मात्र नबनाइ विद्युत आपूर्तिको दीर्घकालीन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ ।’ उद्योगीहरूले ६ देखि १२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द  गर्ने विषयले आफूहरू अन्योलमा परेको बताएका छन् । ‘बजारमा कहिले तरलता अभाव, कहिले ब्याज वृद्धि, आर्थिक संकुचन एवं कहिले झ्याप्प कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा परेको नेपालको औद्योगिक क्षेत्र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशिल स्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योलता बढेको छ,’ विज्ञप्तिमा भनिएको छ । आफ्नै मुलुकमा प्रचुर मात्रामा रहेको जलस्रोतको धनी देश हुँदाहुँदै पनि दीर्घकालीन सोच, आत्मनिर्भरता प्रतिको ठोस कार्य नगर्दा औद्योगिक क्षेत्र प्रताडित बनेको उनीहरुको भनाइ छ । विद्युत आपूर्तिमा सुख्खायाममा हरेक वर्ष नै यो तहको विकराल समस्या थाहा हुँदाहुँदै पनि ठोस योजना नबनाइएको गुनासो व्यवसायीहरूको छ ।