नेप्सेमा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बैशाख ८ गते) दुई कम्पनीको बोनस र हकप्रद गरी ७ लाख ९७ हजार ९१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद र छ्याङ्दी हाइड्रोको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुई कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।

साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत २०७७ माघ १८ गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार अब २०७८ बैशाख ९ गतेदेखि फुकुवा हुने भएको हो । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो । त्यसपश्चात कम्पनीले २०७७ बैशाख ३ गते आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु पेश गरेकोले नेप्सेले कारोबार फुकुवा गरिदिने निर्णय गरेको हो । साथै, उक्त लेखापरीक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भएपश्चात यथाशिघ्र साधारणसभा सम्पन्न गर्ने कम्पनीको प्रतिवद्धता रहेको छ । बैशाख ८ गतेको नेप्सेको निर्णयअनुसार कम्पनीको भोलि अर्थात बैशाख ९ गतेदेखि सेयर कारोबार शुरु हुने छ । पछिल्लो समय कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ८८० रुपैयाँमा भएको थियो ।

धितोपत्र बोर्डले भन्यो- सेयर बजार बन्द नगर्नु, सुरक्षित कारोबारको लागि विभिन्न ६ व्यवस्था अपनाउनु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोभिड-१९ महामारीको बढ्दो संक्रमणमा सावधानी अपनाएर धितोपत्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समय विश्वभर फैलिँदै गएको नयाँ भेरियन्ट सहितको कोरोना महामारीको संक्रमण नेपालमा समेत बढ्दै गएकोले सुरक्षा मापदण्ड अपनाएर सेयर कारोबारलाई सुरक्षित तवरले सञ्चालन गर्ने तथा गराउने व्यवस्था मिलाउन बोर्डले धितोपत्र व्यवसायीलाई आग्रह गरेको हो । बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीले समेत संक्रमण फैलिनबाट रोक्न विभिन्न व्यवस्था अपनाउन बोर्डले ६ बुँदे निर्देशन जारी गरेको छ । यस्ता छन् ६ बुँदे निर्देशन  कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने तथा गराउनु पर्ने छ । नेपाल सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने तथा गराउनु पर्ने छ । कार्यालय हाता भित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने बोर्डले जनाएको छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्च्युअल माध्यमबाट गर्ने तथा गराउने । सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गर्न आफ्नो संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने गरी परिचालन गर्नुपर्ने छ । सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म भर्च्युअल माध्यमबाट गर्ने तथा गराउनु पर्ने छ । कोभिड-१९ को संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले कोभिड-१९ रोकथामका लागि अपनाएका आवश्यक उपायहरुको साथै बोर्डले यस अघि दिएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न तथा गराउन बोर्डले आग्रह गरेको छ ।