अपि पावरको हकप्रद बिक्री खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?
काठमाडौं । अपि पावर कम्पनीले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । एक अर्ब ९२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको निष्काशन आज(जेठ २० गते) देखि असार ९ गतेसम्म बिक्री खुला हुने छ । यससँगै योग्य सेयरधनीले आजेदेखि असार ९ गते बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्ने छन् । उनीहरूले मेराे सेयरकाे मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत बैशाख २९ गते बुक क्लोज गरेको थियो । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले यसअघि पनि ४७ प्रतिशत हकप्रद सेयर सेयरधनीमा बिक्री गरिसकेको थियो । हाल एक अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २९.३८ प्रतिशत हकप्रद सेयर बिक्री पश्चात २ अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ ।
जेठ मसान्तसम्म ब्याज तिर्नेलाई एनआईसी एशिया लघुवित्तले १५ प्रतिशतसम्म छुट दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ग्राहकले जेठ मसान्तसम्म ब्याज तिरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । संस्थाले भाखा नाघेका ऋणी सदस्यलाई यहि जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८ प्रतिशतदेखि अधिक १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको हो । संस्थाले गत आ.वा २०७६/०७७ मा समेत आफ्ना ग्राहकलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आ.व.मा संस्थाले ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो । ग्राहकमैत्री संस्थाको अवधारणा अनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ । यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको हो । गत महिनामा समेत २०७८ को बैशाख २४ गतेदेखि ३१ गतेसम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १० प्रतिशत छुट प्रदान योजना लागु गरी सो अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुट वापत प्राप्त गर्ने रकम १५ लाख १८ हजार २०२ रुपैयाँ उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको छ ।
लगानीकर्ताले अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने भएको छ । लगानीकर्तालाई सेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागी आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसी लिई सेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिन सक्नेछन् । उक्त सेवा लिने ग्राहकको लगानी सम्बन्धी निर्णय गर्दा सेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्तालाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ । अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंकमा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल भरच्युअल मिटिङ्गको लागि समय बुक गर्न सक्नुहुने छ । साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै याे लिंकमा क्लिक गरि रितपूर्वक आवश्यक विवरण/कागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने छ । साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिमा सहजै रुपमा लगानी व्यवस्थापनको सेवा लिई सेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ । अहिलेको समयमा सम्पूर्ण काम अनलाईनबाट हुने र परिस्थिति सहज हुन साथ अर्थात निषेधाज्ञा समाप्त भऐ पश्चात आवश्यक प्रकृयाको लागि एनआइसी एशिया क्यापिटलको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ वा क्यापिटलको शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रकृया अनिवार्य रुपमा पुरा गर्नुपर्ने छ ।