एनसीएचएलको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना निर्वाचित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा जेठ ५ गते जुम प्ल्याटफर्म मार्फत सम्पन्न भएको हो । सभाले चुक्ता पुँजीको ३८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश पारित गरेको छ । २९ करोड ८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी ४१ करोड १ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले पुँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ । आ.व. २०७६÷७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुद नाफा २२.२ प्रतिशतले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ । कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् । सभाले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नु हुने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै उक्त पदमा हिमालयन बैंकका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आइ.टि. प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् । नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधी रहेका छन् । कम्पनीले भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७६/७७ मा कुल ९७ खर्ब रुपैयाँ बराबरको २ करो ०६ लाख रुपैयाँ भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

१ अर्ब रूपैयाँ बराबरको ‘प्रभु सेलेक्ट फण्ड’को बिक्री खुला, यस्तो छ भावी योजना

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना ‘प्रभु सेलेक्ट फण्ड’को निष्काशन तथा बिक्री खुला भएकाे छ । क्यापिटलले आज (जेठ ५ गते)देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाईकाे बिक्री खुला गरेकाे हाे । निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । र, बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले जेठ ५ गतेदेखि छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ । उनीहरूले न्यूनतम १०० र अधिकतम ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो । नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ । यो योजना अन्तरगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ । कसरी दिने आवेदन ? लगानीकर्ताले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । तर हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तिय संस्थाका शाखाहरु बन्द भएको हुँदा लगानीकर्ताले सिडिएससीले प्रदान गरेको मेरो सेयरमा लगइन गरेर समेत आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरमा गई माइ आस्बा मेनुभित्र क्लिक गरेर प्रभु सेलेक्ट फण्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरु राखेर आवेदन दिन सक्नेछन् । फण्डबाट उठेको रकम ३० कम्पनीमा लगानी गर्छौं, लगानीकर्तालाई ३ गुणाबढी प्रतिफल दिन्छौं- गिरी

बजारले एकैदिन तीन नयाँ कीर्तिमान रचेसँगै नेप्सेले भन्यो- कारोबार गर्दा कुनै समस्या भए यसो गर्नुस्

काठमाडाैं । आज (जेठ ४ गते) मंगलबारकाे सेयर बजारमा तीन नयाँ कीर्तिमान कायम भएकाे छ । एकैदिन कारोबार रकम, कारोबार संख्या र नेप्से परिसूचकमा नयाँ कीर्तिमान कायम भएकाे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएकाे छ । नेप्सेका अनुसार मंगलबार एक लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यसदिन २७९३.८९ विन्दु कायम भएको छ । कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हाे । यससँगै नेप्सले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजारमा उक्त कीर्तिमान कायम भएकाे जनाएकाे छ । ‘गत २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।’, नेप्सेले भन्याे । दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नुपर्छ । खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक  विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने दाेश्राे बजार सञ्चालक नेप्से जानकारी गराएकाे छ । साथै, कारोबार गर्दा कुनै समस्या भए यो लिंकलाई पछ्याउन नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ । सम्बन्धित समाचार नेप्सेमा दैनिक नयाँ रेकर्ड, ११ अर्ब माथिको सेयर किनबेच, ३३ कम्पनीको मूल्यमा सर्किट