सनराइज ब्लूचिप फण्ड सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । सनराइज क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र सनराइज क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड आगामी आइतबार अर्थात जेठ १६ गतेदेखि ‘एसबीसीएफ’ सिम्बोल मार्फत दोश्रो बजारमा कारोबार हुने छ ।

फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले लगानीकर्तालाई भन्यो- धन्यवाद

काठमाडौं । गत जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री बन्द भएको छ । प्रभु क्यापिटलले जारी गरेको उक्त फण्डमा ४ दिनमै मागभन्दा बढी आवेदन परेसँगै आज(जेठ ९ गते)बाट निष्काशन बन्द भएको हो । क्यापिटलका अनुसार जेठ ९ गते साँझ ५ बजेसम्म उक्त फण्डमा करिब २ गुणाभन्दा बढी आवेदन परेको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपरान्ह ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । जसमध्ये ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो । त्यस्तै, फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले सम्पूर्ण लगानीकर्तामा धन्यवाद व्यक्त गरेको छ । लगानीकर्ताले क्यापिटलको पहिलो स्किम अन्तर्गतको प्रभु सेलेक्ट फण्डमा देखाएको विश्वास र उत्साहजनक सहभागिता रहेको धन्यवाद दिँदै यसले आगामी दिनमा थप उचाईमा पुग्न प्रेरणा मिल्ने पनि बताएको छ । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड रुपैयाँ लगानी वापत १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड रुपैयाँ लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्रा अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने भएको हो । बोर्डले जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले अब केही समयमै सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईमई क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ ।