एशियन हाइड्रोले आईपीओ जारी गर्ने, डाक्यो वार्षिक साधारणसभा
काठमाडौं । एशियन हाइड्रोपावरले सर्वसाधारणलाई साधारण सेयर आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीकाे साधारण सेयरहरु सर्वसाधारणमा जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा सो दिन बिहान कम्पनीको कार्यालय सानेपाबाट विद्युतीय माध्यमबाट जुम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । मंसिर २५ गते बसेकाे कम्पनी सञ्चालक समितिकाे बैठकले सभाकाे मिति तय गरेकाे हाे । त्यस्तै, सभाले आईपीओ प्रस्ताव सहित कम्पनीको सञ्चालक समितिका सञ्चालकहरुको बैठक भत्ता तथा सुविधा निर्धारण गर्ने भएको छ । त्यसैगरी, सभाले वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सभाबाट २ जना सेयरधनी प्रतिनिधि तोक्ने भएको छ ।
प्रभु क्यापिटलको विन्टर अफरः घरमै बसीबसी निःशुल्क डिम्याट खाता र मेराे सेयर खोल्न सकिने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई मध्येनजर गर्दै विन्टर अफर ल्याएको छ । क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन बाटै डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि उक्त अफर ल्याएको हो । जस अन्तर्गत ग्राहकले निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा पाउने छन् । यससँगै ग्राहकले मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि फ्री डिम्याट खाता खोल्न सक्नेछन् । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न गराउन क्यापिटलले आग्रह गरेको छ । क्यापिटलले केही समय अगाडि ३ बर्षे फ्री डिम्याट खाता योजना सञ्चालन गरेको थियो । जसमा ग्राहकहरुको अभूतपूर्व सहभागिता रहेको क्यापिटलले जनाएको छ ।
मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, एनआईबीएल एसका डेपुटी सीईओ बने अध्यक्ष
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारण सभाले अध्यक्षसहित ७ सदस्यीयको नयाँ कार्यसमिति चयन गरेको हो । सभाले संघको अध्यक्षमा एनआईबीएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापालाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझी चयन भएका छन् । त्यस्तै, सभाले दिपेश श्रेष्ठ, नारायणप्रसाद घिमिरे र रोशनी भारतीलाई सदस्य पदमा चयन गरेको छ ।