‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन, कतिले गरे लगानी ?

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले जारी गरेको ‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन परेकाे छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार अन्तिम दिन अर्थात माघ १५ गते बिहीबार साँझ ५ बजेसम्ममा ७५ हजार ८८४ जनाले कूल एक अर्ब ६ कराेड ६६ लाख ९४ हजार ५ सय रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । साे अवधिमा ७५ हजार बढीले १० कराेड ६६ लाख ६९ हजार ४५० इकाईकाे लागि माग गरेका क्यापिटलले जनाएकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा बढी आवेदन हाे । यद्दपि, सबै आवेदन संकलन भइनसकेकाेले उक्त संख्या केही मात्रामा बढ्न सक्ने छ । यससँगै उक्त फण्डमा लगानी गर्ने म्याद आज माघ १५ गतेबाट सकिएकाे छ । सानिमा इक्विटी फण्डले गत माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न गरेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो । योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।

अब अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सकिने, एनआईबिएलले शुरू गर्याे नयाँ सेवा

काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने भएका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले माघ १५ गतेदेखि विद्युतिय प्रणाली मार्फत डिम्याट खाता साथै मेरो सेयरदर्ता सेवा सुचारु गरेको हो । क्यापिटलले आफ्ना सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा मेरो सेयरदर्ता विधुतीय प्रणाली(अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाएको हो । यसअघि कम्पनीेले विद्युतीय प्रणाली(अनलाइन) मार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआईबिएल म्युचुअल फण्ड) का ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै, आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्देै यस कम्पनीले आगामी दिनमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवा-सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी गराएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा पुनः धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । माघ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयर रजिष्ट्रारमा उक्त क्यापिटललाई पुनः नियुक्त गरेको हो । यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।