यसकारण स्थगित भयो बिहीबारको सेयर कारोबार राफसाफ

काठमाडौं । गत बिहीबार (भदौ २५ गते)को सेयर कारोबारको राफसाफ स्थगित भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सोमबार एक सूचना जारी गर्दै उक्त कारोबारको राफसाफ तत्कालको लागि स्थगित भएको जनाएको हो । नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनेको कारोबारको राफसाफ तथा फछर्यौट सेवा तत्कालको लागि स्थगत गरिएको सीडीएससीले जनाएको छ । गत बिहीबारको कारोबारको राफसाफ आज (भदौ २९ गते) हुनुपर्ने थियो । तर, कारोबारमा समस्या भएकोले सो दिनको सेटलमेन्ट पोष्टपोन गर्नुहुन्न भनेर नेप्सेबाट पत्रचार भएकोले सीडीएससीले कारोबारको राफसाफ तथा फछर्यौट सेवा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।

मोबाइलको व्यालेन्स बैंकको पैसा जसरी प्रयोग गर्न पाइने, टेलिकमले अघि बढायो प्रक्रिया

काठमाडौं । तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ? अथवा तपाईंलाई पैसाको जरुरी छ । पैसा सापटी दिने वा सहयोग गर्ने मान्छे इन्टरनेटको पहुँचभन्दा बाहिर कुनै स्थानमा छ । उसले मोबाइलमा व्यालेन्स हालिदिन सक्छ । तर, मोबाइलको व्यालेन्स देखाएर तपाईंले न कतै खाजा खान सक्नु हुन्छ, न कतै सपिङ नै । मोबाइलमा भएको व्यालेन्स प्रयोग गरेर खाजा खान, सपिङ गर्न, सिनेमा हेर्न तथा अस्पताल तथा शिक्षण शुल्क तिर्न मिल्ने व्यवस्था भए कति सजिलो हुन्थ्यो भन्ने तपाईंलाई लागेको छ ? वा कसैले मोबाइलमा हालिदिएको व्यालेन्स बैंकमा राखेको पैसा जसरी प्रयोग गर्न पाए हुन्थ्यो भन्ने सोचिरहनु भएको त छैन ? यस्तै यस्तै चाहनामा हुनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ । नेपाल टेलिकमले मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा जम्मा भएको रकम जसरी नै प्रयोग गर्न पाइने अर्थात क्यास बनाउन पनि पाइने व्यवस्था गर्न लागेको छ । यस्तै, मोबाइलको व्यालेन्सबाट विजुलीको विल, शिक्षण संस्थाको शुल्क तिर्न वा सिनेमा हेर्न पनि प्रयोग गर्न पाइने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दिएको जानकारी अनुसार अब यही आर्थिक वर्ष भित्रमै तपाईको हातमा कुनैपनि मोवाईल फोन छ भने तपाईले तुरुन्तै फिजिकल क्यास प्राप्त गर्न सक्नु हुन्छ । नेपाल टेलिकमले मोबाइल व्यालेन्सलाई फिजिकल क्यास बनाउन मिल्ने गरी नयाँ कम्पनी स्थापना गरेर काम गरिरहेको छ । यसका लागि टेलिकमले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नयाँ कम्पनी स्थापना गरिसकेको छ । ‘हामीले अंग्रेजी नयाँ बर्षबाटै मोवाईलमा भएको व्यालेन्सलाई फिजिकल मनी बनाउन मिल्ने गरी काम गरिरहेका छौं, कोरोना महामारीका कारण केही ढिलाई भएको छ, नेपाली नयाँ वर्षबाट सो सोजना संचालनमा आउँछ,’ प्रबन्ध निर्देशक अधिकारीले विकासन्यूजसँग भने । मोवाईलमा रहेको व्यालेन्सलाई फिजिकल क्यासको रुपमा प्रयोेग गर्न सकिने चलन अन्तर्राष्ट्रिय रुपमा चलिआएकै कुरा हो । अहिले यस्तो छ, पछि के होला ? अहिलेसम्म मोवाईलबाट एयर टाइम मात्र ट्रान्सफर गर्न मिल्छ । त्यो भनेको ग्राहकले फिजिकल मनीबाट एयर टाइम किन्यो, अनि त्यसलाई लोड गरेपछि खपत गर्न सकिन्छ । एयर टाइममा डाटा, भ्वाईस, एसएमएसहरु किन्न सकिन्छ । यसरी ग्राहकले आफ्नो व्यक्तिगत प्रयोजनको लागि वा कसैलाई गिफ्ट गर्न मिल्ने व्यवस्था छ । टेलिकमले गर्न लागेको नयाँ व्यवस्था अनुसार कुनै पनि मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा रहेको नगद सरह प्रयोग गर्न मिल्ने हो । बैंकमा रहेको रकम नगदको रुपमा झिक्न पाइन्छ, सपिङ गर्दा कार्डमार्फत तिर्न पाइन्छ वा अरुलाई दिन सकिन्छ । अब मोबाइलमा भएको व्यालेन्स पनि बैंकमा भएको व्यालेन्स जस्तै हुनेछ । डिजिटल फाइनान्स कम्पनी टेलिकमले यसका लागि डिजिटल फाईनान्स कम्पनी स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति लिएको यो कम्पनीले नै मोबाइल व्यालेन्सलाई फिजिकल मनीको रुपमा प्रयोग गर्न गराउन मिल्ने प्रबन्ध मिलाउने छ । नयाँ कम्पनीले काम सुरु गरेपछि डिपोजिट गर्नेदेखि विभिन्न काममा पैसा प्रयोग गर्न सकिन्छ । त्यसका लागि टेलिकमले कुनै कोड नम्बर प्रदान गर्नेछ । टेलिकमले कम्पनी दर्ता गरिसकेको छ भने काम अघि बढाउनको लागि अन्र्तराष्ट्रियस्तरको टेन्डर समेत आह्वान गरिसकेको छ । असोजको पहिलो साता टेन्डर खालेर काम अघि बढाइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

मर्चेन्ट बैंकरकाे जिम्मेवारी थप, पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने

काठमाडौं ।नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ । सोही क्रममा बोर्डले आज संस्थागत परामर्श सेवा दिने अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुका लागि नयाँ निर्देशन जारी गरेको छ । त्यसबाट मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाउँदै लैजाने लक्ष्य राखिएको छ । परामर्श सेवा दिनका लागि संस्थामा मानव संशाधन विभाग बलियो हुनुपर्ने, योग्य व्यक्ति हुनुपर्ने, भेञ्चर क्यापिटललगायत धेरै विषयमा परामर्श दिनका लागि भौतिक पूर्वाधार समेत बनाउनुपर्नेमा जोड दिएको छ । बोर्डले मर्चेन्ट बैंकर्सको प्रशासनिक विनियमावली, कर्पोरेट एडभाइजरी पोलिसी, कर्मचारी आचारसंहितालगायत नीतिगत सुधार गर्नुपर्नेमा समेत स्पष्ट निर्देशन दिएको छ । यस्तै संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा सञ्चालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि बनाउन बोर्डले निर्देशन दिएको आज प्रकाशित विवरणमा उल्लेख छ । अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरले तोकिएको संरचना ६ महिनाभित्र तयार पार्नुपर्नेछ । यस्तै, आगन्तुक प्रतिक्षालय, ग्राहक सेवा, भण्डारण, सूचना प्रविधि सहित व्यवसाय सञ्चालन सम्बन्धी कार्य सञ्चालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा एक हजार वर्ग फिटको कार्यस्थल बनाउन र कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहाल सम्बन्धी सम्झौता भएको हुनुपर्ने जनाइएको छ । यस्तै सम्पूर्ण रुपमा सूचना प्रविधिको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । यसैगरी प्रमुख कार्यकारी अधिकृतले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने नयाँ व्यवस्था गरिएको छ । बोर्डका अनुसार अनुपालना अधिकृत अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्नेछ ।