आरएमडीसी लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जसलाई राष्ट्र बैंकले स्वीकृत गरेको नेप्सेले जानकारी गराएको छ । यससँगै उक्त लाभांशलाई संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । ८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो । सम्बन्धित समाचारः आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने  

डिजिटल भुक्तानीका लागि आईसीएफसी फाइनान्स र खल्तीबीच सहकार्य 

काठमाडाैं । आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । खल्तीसँगकाे सम्झाैतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्ट खल्तीसँग  लिन्क सकिन्छ । खातामा रहेकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्नेछन् । यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा आईसीएफसी फाइनान्सले गरेकाे छ । सम्झौता अनुसार आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। आईसीएफसी फाइनान्सका ग्राहकले  बैंक वाइन्डिंग,ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् । मोबाइल भुक्तानी सेवा प्रदायक खल्तीबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानकाे टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमकाे टिकट बुकिंग, होटल बुकिंग, अखबारकाे ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेकाे बिल तिर्न सकिन्छ । खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हाे । खल्तीकाे प्रयाेग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दै आएका छन् । खल्ती कसरी डाउनलाेड गर्ने ?  खल्तीको मोबाइल एप एन्ड्राेइड प्लेटफर्ममा प्ले स्टाेर, एप्लका डिभाइसहरूमा एप स्टाेर र वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

मर्जपछि सारथी नेपाल लघुवित्तको सेयर सूचीकृत, कारोबार फुकुवा

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएपश्चात बनेको संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त दुई संस्था १ः१ को अनुपातमा एक आपसमा गाभिएका थिए । उक्त मर्जर प्रकृया सम्पन्न भएसँगै संस्थाको सो मात्राको सेयर सूचीकृत भएको हो । त्यस्तै, सेयर सूचीकरणसँगै संस्थाको सेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ । यसअघि मर्जर प्रकृयामा रहेकाले नेप्सेले उक्त संस्थाको सेयर कारोबार रोक्का गरेको थियो ।