‘ई-सेवा’मा खाता खोल्ने २० लाख नाघे
काठमाडौँ । ‘ई-सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको हो । ई–सेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको जनाएको छ । २५ जनवरी २००९ बाट सेवा सुरू ई–सेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ । ‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।
पुँजीगत लाभकरका विषयमा अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने लगानीकर्ताको चेतावनी
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले पुँजीगत लाभकरको अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने भएका छन् । लगानीकर्ताहरूले हकप्रद र बोनस सेयरको भारित मूल्य गणना विधिको अस्पष्टता नहटेसम्म पुँजीगत लाभकर नतिर्ने चेतावनी दिएका हुन् । सेयर बजारमा कारोबार गर्दै आएका लगानीकर्ताको चारवटै संस्थाले यसको स्पष्टता नभएसम्म राफसाफ नगर्ने बताएका छन् । भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नु पर्ने सूचना जारी गरेसँगै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने-नाफामा सरकारलाई कर तिर्ने हो, ‘घाटामा तिर्ने होइन । हकप्रद तथा बोनस शेयरको खरिदमूल्य १०० रुपैंया मानेर त्यसमा पुँजीगत लाभकर उठाउने गरी लिएको सरकारी नीतिका विरुद्ध हामीले यो कदम चालेका हौं । उनले भने-‘हामीले राफसाफ रोकेपनि सेयर कारोबार भने गर्नेछौं ।’ भारित औषत लागत गणना गर्दा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी र लगानीकर्ताहरुले ‘कट अफ प्राइस’ का लागि कुनै एक दिनलाई आधार दिनको रुपमा मान्न सुझाएको थियो । यस विषयमा आन्तरिक राजस्व विभागले सहमति दिएको छैन । अहिले नेप्सेले सेयर मूल्यको समायोजन गर्छ । कम्पनीको तहमा मूल्य समायोजन गरेर आधार मूल्य निकालेर पुँजीगत लाभकर लगाउँदै आएको थियो । अहिले भने प्रत्येक लगानीकर्ताले नयाँ विधिअनुसार पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । सिडिएससीले आधार दिन तय नहुँदा पूँजीगत लाभकर गणना गर्न गाह्रो पर्ने सुझाव दिएको छ । सरकारले व्यक्तिगततर्फको पुँजीगत लाभकर घटाउनु र हकप्रद तथा बोनस शेयरको पुँजीगत लाभकर गणना गर्दा वेटेड एभरेज (भारित औसत) का आधारमा गणना गर्ने घोषणाको स्पष्टता व्यवसायीहरूले खोजेका हुन् ।
चोभारमा पाँच तारे स्तरको रिसोर्ट बनाउँदै सुमेरु ग्रुप, यसरी मनाइयाे २१ औ वार्षिकउत्सव
काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २१ औ वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा सुमेरु ग्रुप अन्तरगत रहेका विभिन्न संस्थाहरुबीच ‘अन्तरसंस्था सप्ताहाव्यापी फूटसल प्रतियोगिता’ आयोजना गरिरएको छ । त्यस्तै, सुमेरु ग्रुपको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, विभिन्न सुरक्षा निकायहरु, महागनरपालिका, समाजसेवी संघसंस्थाका प्रतिनिधिहरुसहितको उपस्थितिमा ललितपुर महानगरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको ग्रुपका अध्यक्ष भरत महर्जनले बताए । वार्षिक उत्वसवको अवसरमा सुमेरु किड्नी अस्पतलामा दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ । अति विपन्न परिवारका एक महिला र एक पुरुषको मृगौला प्रत्यारोपण सफल भएको र दुबै विरामीको अवस्था सामान्य हुँदै गएको उनले जानकारी दिए । त्यस्तै, ‘सुमेरु सामाजिक अभियान, गरौ रक्तदान गरौ जीवन दान’ भन्ने नाराको साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४७६ जनाले रक्तदान गरेका छन् । ‘स्वास्थ, शिक्षा, सहकारी, सम्वृद्धि , व्यवसाय र रोजगारी’ भन्ने मुल उदेश्यका साथ २१ वर्षअघि सुमेरु सहकारी स्थापना भएको थियो । सुमेरु सहकारीबाट उदायको यो संस्था हाल हाल ठूलो व्यवसायिक समूहको रुपमा स्थापित भएको छ । हाल सुमेरु ग्रुपभित्र १६ वटा संस्थाले शिक्षा, स्वास्थ्य, सहकारी सेवा दिदै आएका छन् । सबै संस्थामा गरी १२३५ जनाले प्रत्यक्ष रोजगारी पाएको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले जानकारी दिए । सुमेरु ग्रुप भित्र सुमेरु सहकारी, सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, सुमेरु किड्नी अस्पताल, सुमेरु डाइनेष्टिक, सुमेरु मार्ट, सुमेरु मेडिकल कलेज, सुमेरु एशियन कलेज, सुमेरु मनी एक्स्चेज, सुमेरु मनी ट्रान्सफार, सुमेरु योग व्यायामशाला सञ्चालन छन् भने नयाँ परियोजना सुमेरु रिसोर्ट निर्माण हुँदैछ । सुमेरु ग्रुपले ३० करोड रुपैयाँ सेयर पुँजी लगानीमा चोभारमा सुमेरु रिसोर्ट निर्माण गर्ने भएको छ । त्यसको लागि ४० रोपनी जग्गा लिइसकेको उनले बताए । उक्त रिसोर्टमा बैंक कर्जासहित अर्बौ रुपैयाँ लगानी हुनेछ । रिसोर्टभित्र पाँच तारे होटलस्तरीय सेवा सुविधा हुने र ४ वर्ष भित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष महर्जनले जानकारी दिए ।