मिर्मिरे लघुवित्तको १२.६३ प्रतिशत लाभांश घाेषणा, चुक्ता पुँजी ४४ करोड नाघ्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ४४ करोड ३६ लाख रुपैयाँ पुग्ने छ । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४७.३६ प्रतिशत लाभांश (४५ प्रतिशत बोनस र २.३६ प्रतिशत नगद) वितरण गरेको थियो ।
धनतेरस लगानीकाे लागि शुभदिनः अनलाइनबाटै एनआइबिएल सहभागिता फण्डका इकाइ किन्न मिल्ने
काठमाडौं । एनआईबिएल म्युचुअल फण्डले यो वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्तालाई नयाँ अवसर ल्याएको छ । फण्डले धनतेरसको अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई अवसर स्वरुप एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुरु गर्न सक्ने व्यवस्था मिलाएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यही शुक्रबार अर्थात कार्तिक २८ गते धनतेरसको दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ । फण्डले हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको हो । यससँगै इच्छुक लगानीकर्ताले लगानीको लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुरु गर्न सक्नेछन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।
अपि पावरको नाफा १९६ प्रतिशत र आम्दानी १२१ प्रतिशतले बढ्यो
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.९६ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफासँगै आम्दानीमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२१.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३५.७४ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२.८ रुपैयाँ रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात र प्रतिसेयर नेटवर्थ घटेर क्रमशः ५.४० गुणा र १२४.३० रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत आवको असोज मसान्तमा कम्पनीको जगेडा कोषमा ११ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको थियो । जुन यसै आवको सोहि अवधिमा बढेर २८ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।