मनीग्रामबाट पठाएको रेमिट्यान्स अब सिधैं आइएमई पे वालेटमा

काठमाडौं । मनीग्रामबाट पठाएको रेमिट्यान्स अब सिधैं आइएमई पे वालेटमा पाइने भएको छ । जसको लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पनी मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको आइएमई लिमिटेड र आइएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच सम्झौता गरेको छ । मनीग्रामले पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको हो । समझदारीपछि विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्नेछन् । यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट विश्वका विभिन्न दुई सय (२००) देशमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा प्रदान गरेको छ । व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए । प्रमुख सोहेलले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गरे । वार्षिक आठ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा ६० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागु भइ ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ । रेमिटेन्स सेवाका लागि पर्यावाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन् । आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेम राज ढकालले बताए ।

हिमाल दोलखा हाइड्रोपावर १७ कराेड नाेक्सानमा, सेयर मूल्य र काराेबारमा भने उछाल

काठमाडौं । वित्तीय विवरण गुपचुप राखेकाे हिमाल दोलखा हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य र काराेबारमा उछाल आएकाे छ । कम्पनीकाे वेवसाइट वित्तीय विवरण राखिएकाे छैन ।  नेपाल स्टक एक्स्चेन्ज वा नेपाल धिताेपत्र बाेर्ड लगायत पुँजीबजारका सञ्चालक र नियामक कसैलाई पनि कम्पनीकाे वित्तीय विवरण जानकारी छैन । तर पछिल्ला दिनमा यस कम्पनीकाे सेयर मूल्य र काराेबार दुबैमा उछाल आएकाे छ । बुधबार नेप्से परिसूचक ३.१९ अंकले घट्याे तर हिमाल दाेलखाकाे मूल्य ९.२४ प्रतिशतले बढेर उच्च मूल्य वृद्धि हुनेकाे सूचिमा टप टेनमा चड्याे । विगत ११ महिनामा प्रतिकित्ता ८२ देखि ९२ रूपैयाँसम्मका किनबेच हुँदै आएकाे यस कम्पनीकाे सेयर बुधबार १३० रूपैयाँमा किनबेच भइ काराेबार बन्द भएकाे छ । पछिल्लो समय दोश्रो बजारमा यस कम्पनीको कराेडाैं मूल्य बराबरको सेयर कारोबार भइरहेको छ । बुधबार ८ कराेड २९ लाख ७५ हजारकाे काराेबार भएकाे छ । मंगलबार १० कराेड ६२ रूपैयाँकाे काराेबार भएकाे थियाे भने आइतबार १४ कराेड २७ लाखकाे सेयर किनबेच भएकाे थियाे । बेच्नेकाे चाप उच्च मुल्य वृद्धिसँगै यस कम्पनीकाे सेयर बेच्नेकाे चाप बढेकाे छ । बुधबार मध्यान्नमा कम्पनीको ८५ हजार ८ सय ६० कित्ता सेयर बिक्रीमा रहेको थियाे भने १५ हजार ५० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए ।  बुधबार सेयर बजार खुलेकाे करिब ३० मिनेटकाे अवधिमा कम्पनीको एक करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकाे थियाे भने सबैभन्दा बढी सेयर कारोबार हुनेको अग्रस्थानमा देखिएकाे थियाे । कम्पनीले इलाम स्थित माइखोलामा ४.५ मेगावाटको माई खोला स्मल हाइड्रोपावर प्रोजेक्ट र ८ मेगावाटको माई खोला स्मल क्यासकेड हाइड्रोपावर प्रोजेक्ट गरी दुईओटा विद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले २०७६ साल असारमा सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गरेको थियो । आईपीओ निष्काशन गर्दा कम्पनीले २०७६/७७ को अन्त्यमा प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ र नेटवर्थ १०५.३ रूपैयाँ प्रक्षेपण गरेको थियो । र, नाफा ८ करोड ८३ लाख रुपैयाँ  पुग्ने कम्पनीको प्रक्षेपण रहेको थियो । तर कम्पनीका वित्त प्रमुख अनन्त कार्कीका अनुसार २०७६/७७ काे अन्त्यमा कम्पनी करिब १७ कराेड रूपैयाँ संचित नाेक्सानमा छ । ‘गत वर्ष करिब २० कराेड भन्दा बढी नाेक्सानमा थियाे । यसपाली संचित नाेक्सान ३ कराेड रूपैयाँले घटाउन सफल भएका छाैं’ उनले विकासन्युजसँग भने । कम्पनीकाे सेयर पुँजी १ अर्ब ६० करोड रहेकाे कम्पनीले वार्षिक ३ कराेड नाफा गर्नु भनेकाे सेयरधनीलाई १.८७ प्रतिशत लाभांश दिन पुग्छ । तर संचित नाेक्सान पूर्ति नभएसम्म सेयरधनीले केही पनि पाउँदैनन् । गत साताकाे अनुपातमा कम्पनीले नाफा गर्ने हाे भने संचित नाेक्सान पूर्ति गर्न अबकाे ६ वर्ष लाग्छ । बैंककाे ऋण १ अर्ब १५ करोड रुपैयाँ रहेकाे छ । वित्तीय रूपमा यति धेरै कमजाेर कम्पनीकाे सेयर मूल्य र काराेबारमा किन उछाल आएकाे छ ? नेपाल धिताेपत्र बाेर्डले यसबारे जानकारी मागेकाे प्रबक्ता निरज गिरीले जानकारी दिए । यस विषयमा सम्पर्क गर्न खाेज्दा कम्पनीकाे अध्यक्ष कल्याण न्याैपानेसँग सम्पर्क हुन सकेन । कम्पनीका एक कर्मचारीले दिएकाे उनकाे माेवाइल नम्बर ९८१०२६६०८१ मा पटक पटक फाेन गर्दा उनले उठाएनन् । कम्पनीले विगत २ वर्षदेखि साधारणसभा पनि गरेकाे छैन । सर्वसाधारणमा सेयर बेचेर कराेडाैं रूपैयाँ संकलन गर्ने, वित्तीय विवरण पनि सार्वजनिक नगर्ने, लेखापरिक्षण पनि नगराउने, साधारणसभा पनि नगराउने, भित्र भित्र मनपरी खर्च गरेर सञ्चालक र प्रमाेटरले मालामाल कमाउने विकृति जलविद्युत क्षेत्रमा माैलाउँदै जादा साधारण लगानीकर्ता भने उच्च जाेखिममा परेका छन् । यसाे भन्छन् नेप्से र धिताेपत्र बाेर्ड सूचीकृत कम्पनीको वित्तीय विवरण प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्छ । यदी सो अवधिसम्म नगरेमा उक्त त्रैमास सकिएको ३५ दिनभित्रमा सार्वजनिक गरिसक्नु पर्ने नियम छ । त्यसपछि पनि वित्तीय विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘कम्पनीले किन नगरेको भन्ने हामीलाई थाहाँ भएन । त्यो कम्पनीको समस्या भयो । धितोपत्र बोर्डले पनि सार्वजनिक गरेकोलाई गरेको भन्ने नगरेकोलाई नगरेको भन्ने बाहेक अहिलेसम्म कुनै कानुन छैन । हामीले सोध्नसम्म सक्छौं किन नगरेको भनेर त्यहाँ भन्दा बढी गर्ने केही नै छैन । सोध्ने हो भने पनि धितोपत्र बोर्डले सोध्नु पर्यो त्यो धितोपत्र बोर्डको नियम हो ।’, प्रवक्ता पराजुलीले बताए । यस विषयमा विद्युत नियमन विभाग, प्रधानमन्त्री कार्यालय, धितोपत्र बोर्ड, नेप्से लगायत सबैतिर यो कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेन भनेर निवेदनहरु परिसकेको छ । तर, विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको प्रवक्ता पराजुलीले विकासन्युजसँग भने । उता नेपाल धितोपत्र बोर्डले भने केही दिन अघि मात्रै वित्तीय विवरण सार्वजनिक नगरेको कारण सोध्दै हिमाल दोलखालाई पत्र पठाएको बताएको छ । ‘यस विषयमा हामीले हिजो मात्र कम्पनीमा पत्र पठाएका छौं । के भएको हो, किन वित्तीय विवरण सार्वजनिक नगरेको भन्ने विषय उल्लेख गर्दै तीन दिन भित्र जवाफ पठाउन निर्देश गरेका छौं । सो समयमा पत्र आएन भने कारवाहीको प्रक्रिया अघि बढाउँछौं ’, बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘सूचीकृत कम्पनीले तोकिएको समयमा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेनन् भने सचेत गराउने र त्यसपछि जरिवाना गराउने नियम छ । निर्देशनहरुको पालना नगरेकोलाई एक लाख ५० हजार रुपैयाँसम्म जरिवना रहेको छ भन्ने लाग्छ तर ठ्याक्कै याद भएन, हेर्नै पर्छ’, प्रवक्ता गिरीले विकासन्युजसँग भने । ( असाेज १५ गते ८ः१५ अपडेट गरिएकाेः सम्पादक)

धितोपत्र व्यवसायीकाे जाेखिम कम गर्न बोर्डले असोज १५ गतदेखि आरबीएस म्यानुअल लागू गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज १५ गतदेखि ‘रिक्स बेसड सुपरभिजन (आरबीएस) म्यानुअल’ लागू गर्ने भएको छ । बजारमा सम्पत्ति शुद्धीकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न बोर्डले उक्त व्यवस्था लागू गर्न लागेकाे हाे । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले विकासन्युजसँग कुरा गर्दै सो कुरा बताएका हुन् । ‘बोर्डले धिताेपत्र व्यवसायीहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरणहरुको जोखिम आधारित पर्यवेक्षण गर्नुपर्छ । त्यसको म्यानुअल अहिलेसम्म थिएन । जुन असोज १५ गते लागू गर्न लागेका छौं ।’, उनले भने । सम्पत्ति शुद्धीकरणको आधारमा सुपरिवेक्षण गरिने यसमा जुन संस्थाको जोखिम धेरै छ त्यसमा पटक पटक गएर जोखिमहरु पहिचान गर्ने, यो एउटा अन्तर्राष्ट्रिय अभ्यास हो । कुनै कम्पनीले ठूलो कारोबार गर्छ, संस्थामा केही तल माथि पर्यो भने बजारलाई नै असर पर्छ भने त्यसलाई उच्च जोखिममा राखेर पटक पटक हेरिरहनु पर्ने बोर्डले जनाएको छ । यस अन्तर्गत बोर्डले विभिन्न मापदण्डहरुको आधारमा लाइसेन्स दिएका धितोपत्र व्यवसायीहरु कुन कस्तो जोखिममा छन् भनेर गणना गर्छ । यसमा बोर्डले मोड्युल बनाएको छ । जसअनुसार उनीहरुको तथ्याङ्कहरु लिएर जोखिम निकाल्छ । त्यसको आधारमा बोर्डले उक्त कम्पनीहरुको सुपरिवेक्षण गर्छ, जुन उच्च जोखिममा रहेका छन् । ब्रोकर, मर्चेन्ट बैंक तथा बोर्डबाट अनुमति लिएका धितोपत्र व्यवसायीहरुले निर्देशनहरु बनाएका छन् वा छैनन्, आफ्नो आन्तरिक निर्देशनहरु पालना गरेका छन् वा छैनन् । यी सबैको आधारमा बोर्डले त्यो कम्पनी कुन जोखिम स्तरमा छ, भोलि बजारमा तल माथि भयो भने के हुन्छ भन्ने हिसावमा हेर्छ । र, यसकै आधारमा बोर्डले सुपरिवेक्षण गर्ने बाेर्डले जनाएकाे छ । रिक्स बेसड सुपरभिजन भयो भने बजारमा सम्पत्ति शुद्धिकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न सहयोग गर्ने बोर्डकाे भनाइ छ । [pdf id=240130]