५ महिनादेखि राष्ट्र बैंकमै अड्कियो लघुवित्तको लाभांश, १५ प्रतिशतमै झार्ने निर्देशन कहाँबाट आयो ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको गत माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । लघुवित्तको प्रस्तावित लाभांशले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पायो । जुन गत फागुन १८ गते सम्पन्न संस्थाको चौँथो वार्षिक साधारण सभाले पारित पनि गरिसक्यो । यस्तै, महिला लघुवित्तको गत पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइ फागुन २१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले पारित गरिसक्यो । हालसम्म ४५ वटा लघुवित्त संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ३३ वटा लघुवित्तको वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरिसकेका छन् भने ११ वटा लघुवित्तले लाभांश पारित गर्न सभा आह्वान गरेका छन् । लाभांश घोषणा गरेका संस्थाहरुमध्ये २ वटा लघुवित्तले भने वार्षिक साधारण सभा आह्वानका लागि कुनै पहल नै गरेका छैनन् । जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको ५ महिना भयो । लघुवित्तको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लघुवित्तले गत वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन लघुवित्त संस्थाहरुले हालसम्म घोषणा गरेको लाभांशमध्ये सबैभन्दा उच्च हो । यस्तै, दोस्रोमा नेष्डो समृद्ध लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ७३ प्रतिशत बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यी दुवै लघुवित्तले लाभांश घोषणा गरेर स्वीकृतिका लागि राष्ट्र बैंक पुगे पनि हालसम्म स्वीकृति पाएका छैनन् । यी दुई लघुवित्तले घोषणा गरेका अधिकांश लघुवित्तको लाभांश सेयरधनीहरुले प्राप्त गरिसके । तर, ५ महिना पुग्दा पनि वार्षिक साधारण सभाका लागि कुनै चाँजोपाँजो छैन । यी दुवै लघुवित्तका अनुसार राष्ट्र बैंकले होल्ड गरेर राखेको छ । नयाँ सिनारियो पर्खँदै लघुवित्तहरु जाल्पा सामुदायिक लघुवित्त स्रोतका अनुसार राष्ट्र बैंकले लघुवित्तको एजिएम क्लियरेन्स अड्काएर राखेको छ । जाल्पाले सबैभन्दा पहिला नै लाभांश वितरण गर्ने घोषणा गरेको भएपनि राष्ट्र बैंकले रोकेर राखेको लघुवित्तको उच्च अधिकारीले बताएको छ । साथै, नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबिए) ले पनि होल्ड गर्न आग्रह गरेको उच्च अधिकारीले बताए । ‘हामीले लाभांश घोषणा गर्दा लघुवित्त विरुद्धको संघर्ष उत्कर्षमा पुग्यो, राष्ट्र बैंकले यति धेरै लाभांश वितरण गर्दा केही विवाद हुन सक्छ भनेर केही दिन होल्ड गरेर राख्यो तर, अन्य लघुवित्तले उच्च लाभांश घोषणा गर्दा हामीलाई रोकेको रोक्यै गर्याे,’ उनले भने । सबैले केही समयको लागि होल्ड गर्न आग्रह गरेपछि आफूहरु स्वीकृतिका लागि राष्ट्र बैंक नगएको लघुवित्तका उच्च पदाधिकारीहरु बताउँछन् । राष्ट्र बैंकले अनौपचारिक रुपमा आफूहरुलाई लाभांश संशोधन गरेर आउन भनेको भएपनि आफूहरु संशोधन गर्ने पक्षमा नरहेको उच्च अधिकारीको भनाइ छ । ‘राष्ट्र बैंकले फागुन १० गतेको निर्णय बमोजिम लाभांश संशोधन गरेर एजिएम क्लेयरेन्स लिएर जानुस् भनेर विभिन्न छलफलहरुमा भनेको छ, स्वीकृति लिनका लागि हामी पनि राष्ट्र बैंक गएका छैनौं, केही दिन अझै कुर्छौं,’ उनले भने, ‘लघुवित्तको सञ्चालकहरुको आकष्मिक बैठक बसेर राष्ट्र बैंकसँग पहल गर्ने निर्णय गरेको छ, नयाँ सिनारियो आउँछ की भनेर पर्खिरहेका छौं ।’ उनका अनुसार साढे ४ वर्षमा कमाएको नाफा वितरण गर्दा पनि स्वीकृति दिएको छैन । जसकारण लगानीकर्ताहरु चिन्तित हुनु परेको उनको भनाइ छ । लघुवित्तले प्रस्ताव गरेको लाभांश संशोधन गर्ने पक्षमा नरहेको उनले बताए । ‘७६.८४ प्रतिशत लाभांश घोषणा गरेर स्वीकृतिका लागि राष्ट्र बैंक पुग्यौं, जाल्पा लघुवित्त लाभांश संशोधन गर्ने पक्षमा छैन, सञ्चालकहरु काठमाडौंमै हुनुहुन्छ, अबको एक हप्ता भित्र संशोधन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुन्छ, कानुन अनुसार सबै प्रक्रिया पुर्याएर लाभांश वितरण गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘यदि राष्ट्र बैंकले घटाउन निर्देशन नै दियो भने हामीले मान्नै पर्छ, नमानेर पनि सुख छैन ।’ अधिकतम २० प्रतिशतसम्म लाभांश वितरण गर्न दिइने राष्ट्र बैंक स्रोतका अनुसार १५ प्रतिशतभन्दा बढी लाभांश स्वीकृति दिइने छैन । फागुन १० गतेको परिपत्र अनुसार लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्नुपर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । लघुवित्त विरुद्धको आन्दोलन चर्किएपछि उच्च तहबाटै फागुन १० गतेको परिपत्र जारी गर्न निर्देशन दिएको उनको भनाइ छ । ‘अब १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका लघुवित्तको लाभांश स्वाट्टै घट्छ, फागुन १० गतेको सर्कुलर राष्ट्र बैंकभन्दा पनि अर्थमन्त्रालय वा प्रधानमन्त्रीको कार्यालयबाट आएको निर्देशन हो, राष्ट्र बैंकले कुनै अभ्यास गरेर यो निर्णय गरेको होइन,’ उनले भने । राष्ट्र बैंकका उच्च अधिकारीका अनुसार लघुवित्त विरुद्धको आन्दोलन राजनीतिक मुद्धा बनेपछि प्रधानमन्त्री, अर्थमन्त्रीले नै लघुवित्तलाई कडाइ गर्न निर्देशन दिएको हो । १५ प्रतिशत मात्रै लाभांश वितरण गर भनेर निर्देशन दिँदा उचित भएन भनेर आफूहरुले आवाज उठाएको भएपनि माथिको निर्देशन भन्दै निर्णय गरिएको उनले बताए । ‘राष्ट्र बैंकले लघुवित्तका विरुद्धका समस्या समाधान गरिसकेको थियो, अधिकांश लघुवित्तको एजिएम क्लियरेन्स स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा थियो,’ उनले भने, ‘सडकमा मान्छे उत्रिएपछि राजनीतिक मुद्धा बन्यो, १५ प्रतिशत मात्रै लाभांश वितरण गर्नु भनेर निर्देशन दिनका हामीले सोचेका पनि थिएनौं, गभर्नरज्यूले कुन ठाउँबाट आएको हो भन्नु भएन, राष्ट्र बैंकबाट जारी गरिएको भए कम्प्रमाइज गर्न सकिन्थ्यो तर, अर्थमन्त्रलायबाट दबाब आएको जस्तो देखिन्छ ।’ उनका अनुसार यदि लघुवित्तले जोड गरेमा अधिकतम २० प्रतिशतसम्म लाभांश वितरण गर्ने दिने उनको भनाई छ ।
सुमेरु सहकारीसँग ‘भरत महर्जन’को नाम जोडेकोमा खोजतलास मिडियाको आपत्ति
काठमाडौं । यहि चैत १३ गते विकासन्युज डटकममा ‘जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो’ शिर्षक राखेर प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै खोजतलास मिडिया प्रालिले खण्डन पठाएको छ । खोजतलास मिडियाका सञ्चालक राजु बस्तेतले चैत २० गते विकासन्युजलाई पठाएको खण्डन पत्रमा भरत महर्जन उक्त मिडियाको अध्यक्ष भएको उल्लेख गरेका छन् । सुमेरु बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका भरत महर्जन लगातार १७ वर्षसम्म अध्यक्ष रहेका थिए । सहकारीको १७ औं साधारण सभापछि सम्पूर्ण स्वामित्व छाडी कुनै पनि सरकारी पदमा आवद्ध नभएको खण्डन पत्रमा उल्लेख गरिएको छ । सहकारीबाट व्यवसायिक यात्रा शुरु गरेका महर्जनले पछि शिक्षा, स्वास्थ्य, घरजग्गा, व्यापार, पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका थिए । उनी अध्यक्ष रहेको सुमेरु ग्रुपमा सुमेरु बचत तथा ऋण सहकारी, सुमेरु हस्पिटल, सुमेरु सिटी हस्पिटल, सुमेरु डास्नेष्टिक, एशियन कलेज फर एडभान्स स्टडी, सुमेरु मेडिकल कलेज, सुमेरु मार्ट, सुमेरु मनि एक्चेज, सुमेरु हाउजिङ एण्ड डेभलपर्स, सुमेरु टुर एण्ड ट्राभल्स लगायत करिब एक दर्जन कम्पनी खुलेका थिए । सुमेरु सहकारीको पैसा चलाएर महर्जनले दर्जनभन्दा बढी कम्पनी खोलेको र अहिले ती सबै कम्पनीहरु आर्थिक संकटमा फसेको जानकारहरु बताउँछन् । हाल महर्जन विदेशमा बस्छन् । बचतकर्ताहरुको पैसा डुबाएर महर्जन विदेश भागेको सुमेरु सहकारी पीडितहरुको आरोप छ । तर खोजतलास मिडियाका सञ्चालक राजु बस्तेतले विकासन्युजलाई पठाएको खण्डन पत्रमा महर्जन व्यक्तिगत तथा पारिवारिक कामले विदेशमा बस्दै आएको बताएका छन् । सुमेरु सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसक्दा हजारौं बचतकर्ता पीडित भएका छन् । सुमेरु ग्रुपको अध्यक्ष अहिले पनि भरत महर्जन नै छन् । ग्रुप सञ्चालक समितिको उपाध्यक्ष विकास महर्जन, महासचिव हेमराज दाहाल, कोषाध्यक्ष सुनिल ढंगोल, सदस्यहरुमा दिलिप ढंगोल, रमेश महर्जन र स्वच्छन्द मानन्धर रहेको ग्रुपको वेवसाइटमा उल्लेख गरिएको छ । ग्रुपका महासचिव दाहालले अहिले सुमेरु बचत तथा ऋण सहकारीको अध्यक्षता गरिरहेका छन् । सिभिल बचत तथा ऋण सहकारीका अध्यक्ष इच्छाराज तामाङले पनि आफू आर्थिक संकटमा परेपछि र सहकारीको निक्षेप फिर्ता गर्न असफल भएपछि केशव लाल श्रेष्ठलाई सहकारीको अध्यक्ष बनाएका थिए । बस्तेतले ‘जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो’ शिर्षकका समाचारमा प्रकाशित ग्रुप फोटोबाट भरत महर्जनलाई हटाउन माग गर्दै आएका छन् । उक्त समाचारमा सहकारीबाट उठेर व्यवसायिक सफलता हासिल गरेका तर पछि सहकारीसँग आफ्ना अरु व्यवसाय पनि संकटमा परेको व्यवसायीहरु इच्छाराज तामाङ, राजेन्द्र शाक्य, सुधीर बस्तेत, सुरेन्द्र भण्डारी, भरत महर्जन, रामबहादुर गौतम र सुशील बानियाँको बारेमा लेखिएको छ । उक्त समाचारमा भरत महर्जनको व्यक्तिगत चरित्र हत्या भएको बस्तेतको खण्डन पत्रमा उल्लेख गरिएकाे छ । विकासन्युजमा प्रकाशित समाचारकाे पनि पढ्न सक्नुहुनेछ । जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
मिर्मिरे र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अन्तिम समझदारीमा हस्ताक्षर
काभ्रेपलाञ्चोक । बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बिराटनगरमा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बीचएक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा अन्तिम समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको वित्तीय संस्था सम्बद्द स्रोतले जनाएको छ । दुवै संस्थाका मर्जर र एक्विजिसन समिति संयोजकद्वय मणि कुमार अर्ज्याल र सन्तोष फुयाल सहित संस्थाका संचालक एवं व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रमको शभाध्यक्षता मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले गरेका थिए भने कार्यक्रमको संचालन उद्घोषण नेरुडे (मिर्मिरे सयुक्त मर्जर समितिका सदस्य सचिव एवम् मिर्मिरे लघुवित्तका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले गरेका थिए । मर्जरपश्चात् वित्तीय संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमेटेड रहने र स्वाप रेसियो १:१रहने सम्झौतामा उल्लेख गरिएको छ । एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको चुक्ता पुंजी १ अर्ब ३८ करोड, शाखा संजाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब कर्मचारी संख्या १३०० पुग्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी गराए । स्वागत मन्तब्य दिदै जोशीले वित्तीय संस्थाहरुको मर्जर कार्यले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने बिस्वास लिएको बताएका थिए । मर्जर पश्चात जोशी स्वेच्छिक अवकासमा जाने र हाल नेरुडे लघुवित्तका बहालवाला प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल ले निरन्तरता पाउने अन्तिम सम्झौतामा उल्लेख छ । मिर्मिरेको तर्फ बाट मर्जर र एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तव्यका क्रममा लघुवित्त क्षेत्रमा यो मर्जर बिग मर्जर को रुपमा रहन सक्ने बताउँदै यस अघि नै मिर्मिरे लघुवित्त मर्जर सम्बन्धमा अनुभवी भैसकेकोले भविष्यमा अन्य लघुवित्तहरु समेतलाई समेटेर अघि बढ्न सकिने बताए । नेरुडे लघुवित्तका तर्फबाट वित्तीय संस्थाका अध्यक्ष डा. भेषप्रसाद धमलाले मन्तव्यका क्रममा तत्कालिन पुर्वान्चल कैजेठो लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको स्मरण गर्दै वित्तीय संस्थाले त्यस क्षेत्रमा गरिबी न्यूनीकरणर निवारणको दिशामा उल्लेखनीय कार्य गरेको बताएका थिए । नेरुडे लघुवित्तका तर्फबाट मर्जर र एक्विजिसन समिति संयोजक मणि कुमार अर्ज्यालले लघुवित्त वित्तीय संस्थाहरु प्रति हाल बजारमा उत्पन्न समस्या न्यूनीकरण गर्न मर्जर कार्यले थप टेवा पुग्ने बताए। नियमनकारी निकायको मार्गदर्शनलाई पछ्याउदै एक सबल लघुवित्तको स्थापनाका लागि मर्जर र एक्विजिसन कार्यमा आफुहरु लागेको र मिर्मिरे लघुवित्तसंग यस अघि मर्जर भएका स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त सबैको साझा योगदानले नेरुडे लघुवित् संग मर्जरमा जाने हैसियत प्राप्त भएको बताउदै आफुलाई मर्जर कार्य सम्पन्न गर्न लघुवित्त क्षेत्रका अग्रज व्यक्तित्वहरुबाट प्राप्त प्रेरणा र बिश्वासको लागि कृतज्ञ रहेको, यी दुई वित्तीय संस्थाको मर्जर कार्यले नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक तरङ्ग संचारण हुने बिश्वास लिएको बताउँदै उक्त कार्यक्रमका सभाध्यक्ष एवं मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले कार्यक्रम समापनको घोषणा गरेका थिए ।