मेरो सेयरको पासवर्ड बिर्सिनुभयो ? अब यसरी गर्नुहोस् रिसेट
काठमाडौं । के तपाईं मेरो सेयरको पासवर्ड बिर्सिएर हैरान हुनुभएको छ ? चिन्ता नलिनुस्, किनभने अब तपाईं आफैले पासवर्ड रिसेट गर्न पाउनु हुनेछ । मेरो सेयर सञ्चालक सिडिएस एण्ड क्लियरिङ्गले हालै मेरो सेयरमा ‘फर्गट योर पासवर्ड’को सेवा थप गरेको छ । यससँगै मेरो सेयर प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड बिर्सिएमा स्वयम् आफैले पासवर्ड रिसेट गर्न सक्नेछन् । यसअघि उक्त पासवर्ड बिर्सिएमा सेवा नै अवरुद्ध हुने थियो । र, सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिएपछि मात्रै उक्त सेवा पुनः सुचारु हुने व्यवस्था थियो । तर अब भने मेरो सेयर प्रयोगकर्ताले उक्त झन्झट झेल्नु पर्दैन । सिडिएसले मेरो सेयरको लगइन पेजमा ‘फर्गट योर पासवर्ड’ लिंक थप गरेको छ । जसमा क्लिक गरेपछि प्रयोगकर्ताले आफ्नो पासवर्ड रिसेट गर्न सक्नेछन् । तर कसरी ? मेरो सेयरको सेवा लिन तपाईं शुरूमा मेरो सेयरको लगइन पेजमा जानुभयो । त्यसमा आफ्नो डिपोजिटरी पार्टीसिपेन्टस् सेलेक्ट गरी युजरनेम राख्नुभयो । तर, पासवर्ड बिर्सनुभयो वा गलत पासवर्ड राखेर तल दिइएको लगइन अप्सनमा क्लिक गर्नुभयो भने ‘इन्भ्यालिड पासवर्ड’ भनेर आउँछ । जुन तलको तस्विरमा हरियो घेराभित्रको रातो बक्समा देखाइएको छ । उक्त ‘इन्भ्यालिड पासवर्ड’ भनेर आइसकेपछि ‘फर्गट योर पासवर्ड ?’ भन्नेमा क्लिक गर्नुहोस् । जुन लगइनको बटनभन्दा तल रहेको छ । उक्त लिंकमा क्लिक गरिसकेपछि तपाईंले तलको फोटामो देखाइएको जस्तो स्क्रीन देख्नसक्नु हुनेछ । जहाँ अघिकाे जस्तै, आफ्नाे डिपाेजिटरी पार्टीसिपेन्टस् सेलेक्ट गरी युजरनेम राख्नु हाेस् । त्यसपछि तल इमेल भन्नेमा आफ्नाे इमेल र डेट अफ बर्थमा आफ्नाे जन्म मिति राख्नुहाेस् । नागरिकतामा जे छ त्यही नै हुनुपर्छ । र, सेन्ड भन्ने बटनमा क्लिक गर्नुहाेस् । यदि तपाईंले राख्नुभएकाे डेटा (इमेल र डेट अफ बर्थ) हरू सही रहेका छन् भने तपाईंलाई [email protected] बाट इमेल आउँछ । उक्त इमेल कहिले इन्बक्समा की त प्राय इमेलकै स्पाम (spam) भन्नेमा आइरहेकाे हुन्छ । इमेलमा तपाईंकाे डीपी आईडी, लगइन आईडी र पासवर्ड पठाइएकाे हुन्छ । जुन तल स्क्रीनमा देखाइएकाे छ । यसपछि उता मेरो सेयरमा भने तलको जस्तो स्क्रीन देखिन्छ । जहाँ वल्ड पासवर्ड, न्यू पासवर्ड राखेर र पासवर्ड कन्फर्म गर्नुपर्ने हुन्छ । यससँगै वल्ड पासवर्डमा अघि इमेलमा आएको पासवर्ड राख्नुहोस् । त्यसपछि न्यू पासवर्डमा आफुले नयाँ पासवर्ड राख्नुहोस् (तर इमेलमा आएको होइन) । उक्त पासवर्ड तलको स्क्रीनमा दिइएको पासवर्ड पोलिसी अनुसारकै हुनुपर्ने हुन्छ । त्यसपछि कन्फर्म पासवर्डमा पनि न्यू पासवर्डमा जे राख्नुभएको छ त्यही नै राखेर चेञ्ज पासवर्ड भन्ने बटनमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि तलको जस्तै स्क्रीन देखिन्छ । जहाँ तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन/चेञ्ज भयो भनेर देखाइएको छ । यससँगै अब तपाईंले नयाँ पासवर्ड राखी लगइन गरेर मेरो सेयरको सम्पूर्ण सेवा सुविधा लिन सक्नु हुनेछ ।
विद्युत नियमनको सूचनादेखि डराए हाइड्रोका लगानीकर्ता, अधिकांशको मूल्य घट्यो
काठमाडौं । विद्युत नियमन आयोगले सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका छन् । आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोमा लगानी गुर्न भन्ने सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका बिहीबारको बजारमा छर्लङ्ग देखिएको छ । यससँगै बजारमा अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबारसम्म दैनिक सकारात्मक सर्किट लाग्दै आएका कम्पनीमा आज भने नकारात्मक सर्किट लागेको छ । बिहीबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । जसमध्ये खानीखोलाको सेयर मूल्य यस साता शुरु भएदेखिनै निरन्तर पोजिटभ सर्किट लाग्दै आएको थियो । उसले प्रतिसेयर आम्दानी ७१ रुपैयाँ रहेको वित्तीय विवरण प्रकाशित गरेसँगै कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको थियो । त्यस्तै, बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा पनि अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । बढी कारोबार गर्नेको ५ स्थानमा सबै हाइड्रो नै रहेका छन् । जसमध्ये अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको क्रमशः एक अर्ब १६ करोड ७८ लाख र १ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको पनि ८३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बुधबारको बजारमा कूल २२९ कम्पनीको २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको छ । बुधबार दोहोरो अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबार मापक नेप्से परिसूचक १८.१७ अंकले ओरालो लागेर ३१८०.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो । बजारमा इन्स्योरेन्स, माइक्रोफाइनानस, ट्रेडिङ्ग र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । के थियो नियमन आयोगको सूचनामा ?
रुरु जलविद्युतले एकैपटक घोषणा गर्यो दुई वर्षको लाभांश, बोनस र नगद कति ?
काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकैपटक आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले दुई वर्षको साधारण सभा पनि एकैपटक आव्हान गर्ने छ ।