मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड भोलि

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि साउन २६ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि बिहान ९ बजे काठमाडौको नक्सालस्थित आफ्नै कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो । बिक्री प्रबन्धकका अनुसार उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेकोभन्दा बढी हो । मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गर्ने छ । यससँगै आईपीओमा रितपूर्वक आवेदन दिनेमध्ये ६६ हजार ८७४ जनाले कम्पनीको सेयर हात पार्न सक्ने छन् भने बाँकी २० लाखभन्दा बढीको हात खाली हुने देखिएको छ ।

…अर्थात ‘मन्थ अफ दी आईपीओ’

काठमाडौं । साउन महिना ‘मन्थ अफ दी आईपीओ’को जस्तै भएको छ । यो महिना ७ कम्पनीका करिब २ अर्ब रूपैयाँ बराबरका आईपीओ जारी हुँदै छन् । ७ वटा कम्पनीमध्ये केहीले आईपीओ जारी गरिसकेका छन् भने केही कम्पनीले आईपीओ जारी गर्ने मिति तय गरिसकेका छन् । यससँगै साउनको अन्त्यसम्ममा ७ कम्पनीले कूल एक करोड ८२ लाख ३० हजार ३६ कित्ता आईपीओ बजारमा ल्याइसक्ने छन् । साउनमा मात्रै ३ वटा कम्पनीले आईपीओ जारी गरिसकेका छन् । यो अवधिमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र मैलुङ् खोला जलविद्युत कम्पनीले आईपीओ जारी गरिसकेका हुन् । जसमध्ये  मध्यभोटेकोशी जलविद्युत कम्पनीले गत साउन ४ गतेदेखि स्थिगित आईपीओको पुनः निष्काशन खुला गरेको हो । गत बैशाखमा बिक्री खुला भएको कम्पनीको आईपीओ सरकारले निषेधाज्ञा गरेको कारणले स्थगित भएको थियो । कम्पनीले स्थानीयवासीलाई ६ लाख अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । यससँगै स्थानीयवासीले यो साउन महिनाभित्र उक्त आईपीओमा आवेदन दिन पाउने छन् । त्यस्तै, तेह्रथुम पावर कम्पनीले गत साउन ५ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले स्थानीयवासीलाई ४ लाख कित्ता अर्थात ४० करोड रुपैयाँ बराबरको सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । मैलुङ् खोला जलविद्युत कम्पनीले पनि गत साउन १४ गतेदेखि आईपीओ निष्काशन गरी बिक्री बन्द समेत गरिसकेको छ । कम्पनीले सर्वसाधारणलाई कूल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसैगरी, सानिमा लाइफ इन्स्योरेन्सले साउन महिनामै अर्थात हाल आईपीओ जारी गरिरहेको छ । गत साउन २० गतेदेखि बिक्री खुला भएको कम्पनीको आईपीओ आजदेखि बिक्री बन्द हुँदै छ । कम्पनीले सर्वसाधारणलाई कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । थप तीन कम्पनीको आउँदै माथिका ४ वटा कम्पनी बाहेक थप ३ वटा कम्पनीले पनि यही महिनामा आईपीओ जारी गर्न मिति तय गरिसकेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था, साहस उर्जा र बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीले साउन भित्रै आईपीओ बिक्री खुला गर्न लागेका हुन् । जसमध्ये मानुषी लघुवित्तले सर्वसाधारणलाई र अन्य दुई कम्पनीले भने स्थानीय वासिन्दालाई आईपीओ बिक्री गर्न लागेका हुन् । कसले कति ? साउन २७ गतेदेखि मानुषी लघुवित्तको मानुषी लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दै छ । संस्थाले सो दिनदेखि एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न संस्थाले जनाएको छ । यससँगै इच्छुकले आगामी साउन २७ गतेदेखि छिटोमा साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्मा माग बमोजिम बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन बिक्री खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जानकारी गराएको छ । हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ । साउन २९ गतेदेखि साहस उर्जाको काठमाडौं । साहस उर्जाले आगामी साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता अर्थात ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर जारी गर्ने छन् । उनीहरुले साउन २९ गतेदेखि छिटोमा भदौ ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने छ । आईपीओमा ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । त्यस्तै, आयोजनाको इजाजतपत्र वहाल रहने अवधि २०७१ असोज २ गतेदेखि २१०६ असोज १ गतेसम्म रहेकोले विद्युत उत्पादन अनुमति पत्र २९ वर्ष बाँकी रहेको छ । र, साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३, प्रतिसेयर आम्दानी २२.४२ र सञ्चित नाफा ४० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.५६, प्रतिसेयर आम्दानी २१.८७ र सञ्चित नाफा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । बुद्धभुमि नेपाल हाइड्रोले साउन ३२ गतेदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक सेयरधनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटका बासिन्दाहरुका लागि सेयर बिक्री गर्न लागेको हो । उक्त आईपीओको बिक्री बन्द छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गते हुनेछ । सो अवधिमा इच्छुक बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन पाउने छन् । उनीहरुले ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । न्यादी हाइड्रोले भदौ १ गतेदेखि त्यस्तै, न्यादी हाइड्रोपावरले पनि आईपीओ जारी गर्ने प्रकृया पुरा गरी बिक्री खुला गर्ने मितिसमेत तय गरिसकेको छ । कम्पनीले आगामी भदौ १ गतेदेखि कुल १८ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक सेयरधनीहरुका लागि १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्काशन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको जानकारी गराईएको छ । यससँगै स्थानिय बासिन्दाले छिटोमा भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्ममा कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् । आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटलले जनाएको छ । त्यस्तै, कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले भने बुद्धनगरमा रहेकको कम्पनीको कार्यालयबाट आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनएमबि क्यापिटल रहेको छ ।

एक महिनामा सेयरको ग्राफः वर्षाको कोशी जस्तै हाइड्रो, टेलिकमको टावर जस्तो अन्य

काठमाडौं । केही समययता सेयर बजारमा हरियाली छ । बजार बढेका कारण सेयर लगानीकर्ताको सम्पत्ति दैनिक जस्तै बढिरहेको छ । बजारमा कारोबार गर्नेहरुले पनि राम्रैसँग कमाई भएको बताइरहेका छन् । बजारले निर्धारण गर्नुपर्ने सेयर बजारलाई पछिल्लो केही समययता राजनीतिले निर्धारण गर्न थालेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजार मापक नेप्से परिसुचक ३ हजार विन्दुमा पुर्याउन अनौपचारिक रुपमा निर्देशन नै दिएका थिए । मन्त्री पौडेल हटेपछि पनि सेयर बजार माथिको राजनीति कम भएन । गत शुक्रबार बसेको संघीय प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले पुँजी बजारलाई नकारात्मक असर र प्रभाव नपर्ने मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन नै दियो । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि पुँजी बजारमा नकारात्मक असर पर्ने नीतिगत व्यवस्था नगर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । पछिल्लो समय अर्थमन्त्रीको सफलता वा असफलताको मापक नै सेयर बजारमा देखिने नेप्से परिसुचक हुन थालेको छ । यस्ता गतिविधिले सेयर बजार ‘राजनीतिक बाली’का रुपमा परिणत हुन थालेको छ । पुँजी बजारमा बढ्दो राजनीतिक चासोले बजारलाई बजारको रुपमा प्रतिक्रिया जनाउँन अवरोध सिर्जना हुन थालेको आभास मिलेको छ । यद्यपि, सेयर बजारमा संलग्न लगानीकर्ता भने आफ्नो सम्पत्ति बढेको र कारोबारीले बजारबाट दैनिक राम्रै कमाई गरेको कारण उनीहरु खुसी देखिन्छन् । यही सन्दर्भमा हामीले पछिल्लो एक महिनामा नेपाली सेयर बजारका सबइन्डेक्सको ग्राफ कस्तो बनेछ भनेर विश्लेषण गर्ने प्रयास गरेका छौं । पछिल्लो समय असाध्यै बढेको जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्यका कारण जलविद्युत क्षेत्रको सबइन्डेक्सको ग्राफ वर्षाको कोशी नदी जस्तै गरी बढेको बढ्यै देखिएको छ । अंग्रेजी महिनाको जुलाई ११ मा २७७६.७ विन्दुमा रहेको जलविद्युत समुहको सबइन्डेक्स अगष्ट ५ मा ३५०७.३३ विन्दुमा पुगेको छ । जलविद्युत समुहको सबइन्डेक्स यसबीचमा घटेको देखिदैन । करिब बढेको बढ्यै छ । नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी रहेको अन्य समुहको सबइन्डेक्सले भने टेलिकमको टावर जस्तै ग्राफ बनाएको छ । कुनै समय ज्यादै बढ्ने र लगत्तै ह्वात्तै घट्ने गरेका कारण अन्य समुहको सबइन्डेक्सको ग्राफ टेलिकमको टावर जस्तै देखिएको हो । गत जुलाई ११ मा २१७७.१८ विन्दुमा रहेको अन्य समुहको सबइन्डेक्स १५ जुलाईमा २१३२.८२ मा झरेको छ । यस्तै, १९ जुलाईमा भने २१८१.७५ विन्दुमा, २६ जुलाईमा २१४०.४९ तथा २८ जुलाईमा २२१५.१९ र ५ अगष्टमा २१४८.९३ विन्दुमा छ । अन्य समुहको ग्राफ हेर्दा कुनै यात्रुले एक महिनासम्म उच्च पहाडी क्षेत्रको लामो यात्रा गर्दा पार गरेको डाडा र खोला जस्तै लाग्छ । ११ जुलाईमा ३६५०.३२ विन्दुमा रहेको होटल समुहको सबइन्डेक्स २९ जुलाईमा उछालिएको देखिन्छ । सो दिन होटल समुहको सबइन्डेक्स २९६८.०४ विन्दुमा पुगेको थियो । ५ अगष्टमा भने सो समुहको सबइन्डेक्स ३८१२.८६ विन्दुमा छ । यसबीचमा बैंकिङ समुहको सबइन्डेक्स ‘भलाद्मी पारामा बढेको देखिन्छ । ११ जुलाईमा १९५७.०३ विन्दुमा रहेको बैंकिङ समुह २५ जुलाईमा २१५०.०६ विन्दुमा पुगेको थियो । ५ अगष्टमा बैंकिङ समुहको सबइन्डेक्स २१०५.२९ विन्दुमा छ । यो एक महिनाको बीचमा डेभलपमेन्ट बैंक समुहको सबइन्डेक्स भने बढ्ने, नयाँ उचाई कायम गर्ने र फेरि बढ्ने क्रममा देखिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत जुलाई ११ मा ४५३१.६ विन्दुमा रहेको डेभलपमेन्ट बैंक समुहको सबइन्डेक्स ५ अगष्टमा ५०२८.५५ विन्दुमा पुगेको छ । एक महिना अवधिको ग्राफ विश्लेषण गर्दा म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन समुहको सबइन्डेक्सले पनि लगानीकर्तालाई फसाएको देखिदैन । ११ जुलाईमा ६२१४.४१ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स २८ जुलाईमा ६७५९.४५ विन्दुमा पुगेको थियो । ५ अगष्टमा सो समुहको सबइन्डेक्स ६७३४.९५ विन्दुमा छ । विगत एक महिनाको अवधिमा माइक्रोफाइनान्स समुहको सबइन्डेक्सले दिपावली मनाइरहेको छ । नेप्सेका अनुसार गत जुलाई ११ मा ५३००.८५ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स ५ अगष्टमा ५८१५.३५ विन्दुमा छ । एक महिनाको ग्राफ हेर्दा जीवन बीमा समुहको सबइन्डेक्स समुन्द्रको छाल जस्तै गरी अघि बढ्दैछ । जुलाई ११ मा १७२५१.९७ विन्दुमा रहेको जीवन बीमा समुहको सबइन्डेक्स ५ अगष्टमा १८०७७.७३ विन्दुमा छ । एक महिनाको अवधिमा निर्जीवन बीमा समुहको सबइन्डेक्स समुन्द्रको छाल जस्तै गरी अघि बढेपनि त्यसको दुरी अलि लामो छ । ११ जुलाईमा १४१३४.४५ विन्दुमा रहेको निर्जीवन बीमा सहुमको सबइन्डेक्स ५ अगष्टमा १४७२९.४६ विन्दुमा छ । यो एक महिनाको अवधिमा फाइनान्स कम्पनीहरुको सेयरमा उल्लासमय आकर्षण देखिएको छ । नेप्सेका अनुसार गत ११ जुलाईमा २२८८.९८ विन्दुमा रहेको फाइनान्स समुहको सबइन्डेक्स ५ अगष्टमा बढेर २७३४.३५ विन्दुमा छ । यो बीचमा फाइनान्स कम्पनीको सेयरमा लगानी गर्नेहरुले कुनै दिन पनि खासै गुमाउनु परेको ग्राफले देखाउँदैन । तर, कम्पनी अनुसारको ग्राफ भने बेग्लै देखिन सक्छ । कोभिड महामारीका कारण सर्वसाधारणको आम्दानी र व्यापार व्यवसायमा नकारात्मक असर परेको भएपनि नेप्सेको ट्रेडिङ समुहले भने निरन्तर ग्राफ बृद्धि गरिरहेको छ । ११ जुलाईमा ३७५२.५१ विन्दुमा रहेको ट्रेडिङ समुहको सबइन्डेक्स ५ अगष्टमा ४११०.५५ विन्दुमा पुगेको छ । विगत एक महिनाको म्युचुअल फण्ड समुहको सबइन्डेक्सको ग्राफ हेर्दा कुनै उपत्यकाका मानिसहरु पिकनिक खान डाडामा पुगेर रमाइरहेको समय जस्तै लाग्छ । गत ११ जुलाईमा १५.५३ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स डाडा उक्ले जस्तै गरी १८.३२ विन्दुमा पुगेको थियो । ५ अगष्टमा म्युचुअल फण्ड समुहको सबइन्डेक्स १७.५२ विन्दुमा छ ।