२० औं अर्बको कम्पनीलाई पछाडि पार्याे नेष्डोले, पुरानाले ३ गुणा कमाउँदा नयाँ जोखिममा
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो । २० अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका र एक खर्ब रुपैयाँ भन्दा बढी पुँजीकरण भएको नेपाल टेलिकम, ग्लाेवल आईएमई बैंक, नविल बैंक लगायत धेरै कम्पनीहरुलाई २५ करोड ५० लाख रुपैयाँ पुँजी भएको नेष्डोले कारोबारमा जित्यो । साढे २५ करोड रुपैयाँको कम्पनीको बजार पूँजीकरण ८ अर्ब २६ करोड रुपैयाँ छ । कारोबार मात्र बढेको छैन, मूल्यले पनि सगरमाथा चढ्दैछ । आईतबार अन्त्यमा यो कम्पनीको सेयर प्रतिकित्ता ३ हजार २४० रुपैयाँमा किनबेच भयो । यति धेरै मूल्य भएको कम्पनीको न इतिहास गज्जब छ र न भविष्य भव्य छ । गत असार ३१ गते कम्पनीको तेस्रो साधारणसभा भयो तर कम्पनीले सेयरधनीलाई नगद वा बोनस सेयर केही पनि दिएन । त्यस्तै यो लघुवित्त निकट भविष्यमा अर्को कुनै संस्थासँग मर्ज वा प्राप्तिमा जाने निर्णय गरेको छ । नेप्सेका अनुसार यस लघुवित्तको पहिलो सेयर कारोबार गत गत चैत १४ गते भएको हो । पहिलो दिनको अन्तिम सेयर कारोबार ७४७ रुपैयाँमा भएको थियो । भदौ ५ गते ३ हजार २४० रुपैयाँमा कारोबार बन्दा भयो । यस अवधिमा कम्पनीको सेयर मूल्य ३३४ प्रतिशतले वृद्धि भएको छ । पुराना लगानीकर्ताले छोटो अवधिमा ३ गुणा भन्दा बढी कमाउँदा नयाँ लगानीकर्ता भने जोखिममा पर्ने जानकारहरु बताउँछन् । यस लघुवित्तमा सर्वसाधारणको सेयर ८ लाख २८ हजार कित्ता मात्र भएकोले कर्नरिङमा परेको लगानीकर्ताको भनाई छ । लघुवित्तमा संस्थागत संस्थापक शेयरधनीको २ वटा र व्यक्तिगत संस्थापक शेयरधनी ८१ जना छन् । कुश्मा नगरपालिका ६ पर्वतमा ठेगाना रहेको यस लघुवित्तले वि.सं. २०७५ फागुन २१ गतेदेखि कारोवार शुरुवात हो । लघुवित्तसँग राष्ट्रिय स्तरमा कारोबार गर्न अनुमति पत्र छ । आईपीओ बाडँफाँट गर्दा नेष्डो लघुवित्तका म्यानेजिङ डाइरेक्टर विश्व प्रकाश प्रसाईं ठकुरीले शतप्रतिशत लाभांश वितरण गर्ने दाबी गरेका थिए । तर असारमा साधारणसभा गर्दा कम्पनीले सेयरधनीलाई खाली हात घर फर्कायो । गत आर्थिक वर्षमा २२ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा जनाएएको छ । जहाँ कम्पनीको जगेडा कोषमा ६१ करोड रुपैयाँ भएको उल्लेख छ । नाफा र जगेडा कोष हेर्दा कम्पनीले आगामी वर्ष राम्रो प्रतिफल दिने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर राष्ट्र बैंकले लघुवित्तमाथि बढाउँदै गरेकाे कसिलाे नीति र लघुवित्त प्रति सर्वसाधारणको बढ्दो असन्तुष्टिले लघुवित्तको सेयरमा उच्च मूल्य तिर्ने लगानीकर्ताहरु पनि उच्च जोखिममा रहेको बताइन्छ ।
हिमालय एयरलाइन्सद्वारा महामारी अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक
काठमाडौं । हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफुले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । एअरलाइन्स्ले आज एक कार्यक्रम गर्दै सो प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका केही वर्ष यता हिमालयले विस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गर्दै आएको जनाएको छ । त्यस्तै आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू गर्दै आएको एअरलाइन्स् ले जनाएको छ । एयरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दलीले कोरोना संक्रमणको चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल भएको बताइन् । ‘महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पा¥यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रह्यो,’ उनले भनिन् । सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण रहेको एयरलाइन्सले बताएको छ । हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख रुपैयाँ, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने, अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्य एयरलाइन्सले गरेको कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको हिमालयनले उल्लेख गरेको छ ।
सहकारी विकास बोर्डको सञ्चालक बन्न कागजात नै किर्ते, सीआईबीले तिमल्सिनालाई गर्यो पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेकाे आराेपमा माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ । सीआईबीले ललितपुको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका १३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई मंगलबार ललितपुरको थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याई लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । पक्राउ परेका तिमल्सिनाले राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तका लागि दिएको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको सीआईबीले जनाएको छ । उनले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिवीमा दर्ता भएको पाटन क्याम्पसको मानविकीको ट्रान्सकृप्ट कीर्ते गरी २०७८ को चैत ६ गते बोर्डमा निवेदन दिएका थिए ।