सूर्योदय र वोमी लघुवित्त मर्ज हुने, नेप्सेले रोक्यो सेयर कारोबार

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच भदौ १५ गते साँझ ५ बजे सम्झौता भएको हो । यससँगै दुई संस्थाको सेयर कारोबार भदौ १६ गतेदेखि रोक्का भएको छ । उक्त मर्जरमा जाने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्जले उनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । अब उक्त प्रकृया सम्पन्न भई दुई संस्थाबीच एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा सेयर कारोबार खुल्ने छ । सूयोदय लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको यस संस्थाले २०७० साल असार ६ गते नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो । त्यस्तै, ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको वोमी लघुवित्तले २०६८ फागुन १९ गते नेपाल राष्ट्र बैंकको इजाजत पाएको थियो । जसको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको साँगामा रहेको थियो ।

साना किसान विकास लघुवित्तका सीईओ डा. कोइरालाले पाए निरन्तरता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले पुनः नियुक्ती पाएका छन् । भदौ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ डा. कोइरालालाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । सीईओ डा. कोइरालाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेसँगै सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिएको हो । यससँगै उनले भदौ १४ गतेदेखि नै लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

लाभांश पारित गर्न रुरु जलविद्युतले एकैपटक डाक्यो दुई वर्षको साधारणसभा

काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । परियोजनाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा आगामी असोज १६ गते गर्न लागेको हो । भदौ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा सो दिन बिहान ११ बजे भर्च्युअल माध्यमबाट गर्ने निर्णय गरेको हो । सभाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्दै छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्तावलाई पनि सभाले पारित गर्दै छ । उक्त सेयरको कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ । त्यसैगरी, सभाले कम्पनीको संस्थापक सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक निर्वाचन गर्ने छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असोज ७ गते बुक क्लोज गर्न लागेको छ । यससँगै असोज ६ गतेसम्म कायम सेयरधनीले सो प्रस्तावित लाभांश पाउने छन् ।