रुरु जलविद्युतले एकैपटक घोषणा गर्यो दुई वर्षको लाभांश, बोनस र नगद कति ?
काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकैपटक आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले दुई वर्षको साधारण सभा पनि एकैपटक आव्हान गर्ने छ ।
मौद्रिक नीतिले हल्लायो सेयर बजार, दिनभर तीव्र उतारचढाव, हालसम्मकै उच्च कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो दिनको कारोबार मै बजारमा उच्च उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा ८२.६२ अंकको उतारचढाव देखिएको छ । सो दिनको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अधिकतम ३१८७.४८ र न्युनतम ३१०४.८६ बिन्दुसम्म झरेको थियो । नियमित समयमा कारोबार खुल्दा (११ बजे) नेप्से परिसूचक ३१७१.१ बिन्दुमा थियो । त्यसको तीन मिनेट नबित्दै परिसूचक घटेर ३१४० बिन्दुसम्म झर्यो । त्यसपछि ११ बजेर १६ मिनेट जाँदा परिसूचक बढेर ३१८७.४१ बिन्दुसम्म पुगेको थियो । जुन सो दिनको अधिकतम बिन्दु हो । तर त्यसपछिको बजारमा करिब डेढ घण्टाको अवधिमा बजार निरन्तर घटेर ३१०५ बिन्दुसम्म घट्यो । जुन सो दिनको नियमित समयको न्युनतम बिन्दु हो । त्यस्तै, त्यसपछिको बजारले पुनः उकालोको बाटो तय गरेको थियो । र, २ बजेर ३० मिनेट जाँदा परिसूचक ३१७४.२८ बिन्दुसम्म पुगेको थियो । बजारका लगानीकर्ता संगठनका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएसँगै बजारमा केही करेक्सन आएको देखिन्छ । भेटमा अर्थमन्त्रीले बजारलाई प्रभाव पर्ने कुनै पनि काम हुन नदिने जस्तो आश्वासन दिएसँगै लगानीकर्तालाई केही राहत भएको महसुस गरेसँगै अन्त्यमा बजारले उकालोको बाटो तय गरेको देखिन्छ । अन्ततः आइतबारको सेयर बजार २४.५७ बिन्दुले घटेर ३१५४.३४ बिन्दुमा अडिएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । तीव्र उतारचढाव देखिएको बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २१ अर्ब ६४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासमै पहिलो रेकर्ड हो । सो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको देखिन्छ । बजारमा तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य घटेको छ । जसको एकैदिन ८.५४ प्रतिशतले घटेर प्रतिइकाई १२.८५ रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जनाउँदै यसलाई हटाउन माग समेत गरिसकेका छन् ।
साहस उर्जाको आईपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । साहस उर्जाले साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरेकाे हाे । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता अर्थात ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गरेकाे छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर जारी गर्ने छन् । उनीहरुले साउन २९ गतेदेखि छिटोमा भदौ ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने छ । आईपीओमा ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । त्यस्तै, आयोजनाको इजाजतपत्र वहाल रहने अवधि २०७१ असोज २ गतेदेखि २१०६ असोज १ गतेसम्म रहेकोले विद्युत उत्पादन अनुमति पत्र २९ वर्ष बाँकी रहेको छ । र, साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरएक अर्बण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३, प्रतिसेयर आम्दानी २२.४२ र सञ्चित नाफा ४० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.५६, प्रतिसेयर आम्दानी २१.८७ र सञ्चित नाफा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।