एक महिनामा सेयरको ग्राफः वर्षाको कोशी जस्तै हाइड्रो, टेलिकमको टावर जस्तो अन्य

काठमाडौं । केही समययता सेयर बजारमा हरियाली छ । बजार बढेका कारण सेयर लगानीकर्ताको सम्पत्ति दैनिक जस्तै बढिरहेको छ । बजारमा कारोबार गर्नेहरुले पनि राम्रैसँग कमाई भएको बताइरहेका छन् । बजारले निर्धारण गर्नुपर्ने सेयर बजारलाई पछिल्लो केही समययता राजनीतिले निर्धारण गर्न थालेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजार मापक नेप्से परिसुचक ३ हजार विन्दुमा पुर्याउन अनौपचारिक रुपमा निर्देशन नै दिएका थिए । मन्त्री पौडेल हटेपछि पनि सेयर बजार माथिको राजनीति कम भएन । गत शुक्रबार बसेको संघीय प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले पुँजी बजारलाई नकारात्मक असर र प्रभाव नपर्ने मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन नै दियो । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि पुँजी बजारमा नकारात्मक असर पर्ने नीतिगत व्यवस्था नगर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । पछिल्लो समय अर्थमन्त्रीको सफलता वा असफलताको मापक नै सेयर बजारमा देखिने नेप्से परिसुचक हुन थालेको छ । यस्ता गतिविधिले सेयर बजार ‘राजनीतिक बाली’का रुपमा परिणत हुन थालेको छ । पुँजी बजारमा बढ्दो राजनीतिक चासोले बजारलाई बजारको रुपमा प्रतिक्रिया जनाउँन अवरोध सिर्जना हुन थालेको आभास मिलेको छ । यद्यपि, सेयर बजारमा संलग्न लगानीकर्ता भने आफ्नो सम्पत्ति बढेको र कारोबारीले बजारबाट दैनिक राम्रै कमाई गरेको कारण उनीहरु खुसी देखिन्छन् । यही सन्दर्भमा हामीले पछिल्लो एक महिनामा नेपाली सेयर बजारका सबइन्डेक्सको ग्राफ कस्तो बनेछ भनेर विश्लेषण गर्ने प्रयास गरेका छौं । पछिल्लो समय असाध्यै बढेको जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्यका कारण जलविद्युत क्षेत्रको सबइन्डेक्सको ग्राफ वर्षाको कोशी नदी जस्तै गरी बढेको बढ्यै देखिएको छ । अंग्रेजी महिनाको जुलाई ११ मा २७७६.७ विन्दुमा रहेको जलविद्युत समुहको सबइन्डेक्स अगष्ट ५ मा ३५०७.३३ विन्दुमा पुगेको छ । जलविद्युत समुहको सबइन्डेक्स यसबीचमा घटेको देखिदैन । करिब बढेको बढ्यै छ । नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी रहेको अन्य समुहको सबइन्डेक्सले भने टेलिकमको टावर जस्तै ग्राफ बनाएको छ । कुनै समय ज्यादै बढ्ने र लगत्तै ह्वात्तै घट्ने गरेका कारण अन्य समुहको सबइन्डेक्सको ग्राफ टेलिकमको टावर जस्तै देखिएको हो । गत जुलाई ११ मा २१७७.१८ विन्दुमा रहेको अन्य समुहको सबइन्डेक्स १५ जुलाईमा २१३२.८२ मा झरेको छ । यस्तै, १९ जुलाईमा भने २१८१.७५ विन्दुमा, २६ जुलाईमा २१४०.४९ तथा २८ जुलाईमा २२१५.१९ र ५ अगष्टमा २१४८.९३ विन्दुमा छ । अन्य समुहको ग्राफ हेर्दा कुनै यात्रुले एक महिनासम्म उच्च पहाडी क्षेत्रको लामो यात्रा गर्दा पार गरेको डाडा र खोला जस्तै लाग्छ । ११ जुलाईमा ३६५०.३२ विन्दुमा रहेको होटल समुहको सबइन्डेक्स २९ जुलाईमा उछालिएको देखिन्छ । सो दिन होटल समुहको सबइन्डेक्स २९६८.०४ विन्दुमा पुगेको थियो । ५ अगष्टमा भने सो समुहको सबइन्डेक्स ३८१२.८६ विन्दुमा छ । यसबीचमा बैंकिङ समुहको सबइन्डेक्स ‘भलाद्मी पारामा बढेको देखिन्छ । ११ जुलाईमा १९५७.०३ विन्दुमा रहेको बैंकिङ समुह २५ जुलाईमा २१५०.०६ विन्दुमा पुगेको थियो । ५ अगष्टमा बैंकिङ समुहको सबइन्डेक्स २१०५.२९ विन्दुमा छ । यो एक महिनाको बीचमा डेभलपमेन्ट बैंक समुहको सबइन्डेक्स भने बढ्ने, नयाँ उचाई कायम गर्ने र फेरि बढ्ने क्रममा देखिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत जुलाई ११ मा ४५३१.६ विन्दुमा रहेको डेभलपमेन्ट बैंक समुहको सबइन्डेक्स ५ अगष्टमा ५०२८.५५ विन्दुमा पुगेको छ । एक महिना अवधिको ग्राफ विश्लेषण गर्दा म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन समुहको सबइन्डेक्सले पनि लगानीकर्तालाई फसाएको देखिदैन । ११ जुलाईमा ६२१४.४१ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स २८ जुलाईमा ६७५९.४५ विन्दुमा पुगेको थियो । ५ अगष्टमा सो समुहको सबइन्डेक्स ६७३४.९५ विन्दुमा छ । विगत एक महिनाको अवधिमा माइक्रोफाइनान्स समुहको सबइन्डेक्सले दिपावली मनाइरहेको छ । नेप्सेका अनुसार गत जुलाई ११ मा ५३००.८५ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स ५ अगष्टमा ५८१५.३५ विन्दुमा छ । एक महिनाको ग्राफ हेर्दा जीवन बीमा समुहको सबइन्डेक्स समुन्द्रको छाल जस्तै गरी अघि बढ्दैछ । जुलाई ११ मा १७२५१.९७ विन्दुमा रहेको जीवन बीमा समुहको सबइन्डेक्स ५ अगष्टमा १८०७७.७३ विन्दुमा छ । एक महिनाको अवधिमा निर्जीवन बीमा समुहको सबइन्डेक्स समुन्द्रको छाल जस्तै गरी अघि बढेपनि त्यसको दुरी अलि लामो छ । ११ जुलाईमा १४१३४.४५ विन्दुमा रहेको निर्जीवन बीमा सहुमको सबइन्डेक्स ५ अगष्टमा १४७२९.४६ विन्दुमा छ । यो एक महिनाको अवधिमा फाइनान्स कम्पनीहरुको सेयरमा उल्लासमय आकर्षण देखिएको छ । नेप्सेका अनुसार गत ११ जुलाईमा २२८८.९८ विन्दुमा रहेको फाइनान्स समुहको सबइन्डेक्स ५ अगष्टमा बढेर २७३४.३५ विन्दुमा छ । यो बीचमा फाइनान्स कम्पनीको सेयरमा लगानी गर्नेहरुले कुनै दिन पनि खासै गुमाउनु परेको ग्राफले देखाउँदैन । तर, कम्पनी अनुसारको ग्राफ भने बेग्लै देखिन सक्छ । कोभिड महामारीका कारण सर्वसाधारणको आम्दानी र व्यापार व्यवसायमा नकारात्मक असर परेको भएपनि नेप्सेको ट्रेडिङ समुहले भने निरन्तर ग्राफ बृद्धि गरिरहेको छ । ११ जुलाईमा ३७५२.५१ विन्दुमा रहेको ट्रेडिङ समुहको सबइन्डेक्स ५ अगष्टमा ४११०.५५ विन्दुमा पुगेको छ । विगत एक महिनाको म्युचुअल फण्ड समुहको सबइन्डेक्सको ग्राफ हेर्दा कुनै उपत्यकाका मानिसहरु पिकनिक खान डाडामा पुगेर रमाइरहेको समय जस्तै लाग्छ । गत ११ जुलाईमा १५.५३ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स डाडा उक्ले जस्तै गरी १८.३२ विन्दुमा पुगेको थियो । ५ अगष्टमा म्युचुअल फण्ड समुहको सबइन्डेक्स १७.५२ विन्दुमा छ ।

सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?

काठमाडौं । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको आरोप लागेका धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा अर्थमन्त्रालय अन्योलमा देखिएको छ । सर्वाेत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र श्रीमतीको नाममा सेयर किनेको आरोप लागेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले अघिल्लो साता ३ दिनको म्याद दिएर स्पष्टिकरण सोधेको थियो । आरोपी ढुंगाना र साउदले स्पष्टिकरण मन्त्रालयमा पठाइसकेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । दुबै जनाले नेप्सेमा सुचिकरण नभएको कम्पनीको सेयर खरिद गर्दा भित्री कारोबार गरेको ठहर नहुने दाबी गरेका छन् । यस्तै, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने विवाह गरेर गएकी छोरीले सेयर खरिद गरेको विषयलाई एकाघर परिवारका सदस्यको सेयर किनेको अर्थ नलाग्ने थप दलिल पनि पेश गरेका छन् । ढुंगाना र साउदले पेश गरेको स्पष्टिकरण अध्ययन भइरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । ‘दुबै जना (ढुंगाना र साउद) ले पेश गरेको स्पष्टिकरण प्राप्त भएको छ, उहाँहरुको स्पष्टिकरणको अध्ययन भइरहेको छ, अध्ययनपछि मात्रै के हुन्छ भन्न सक्ने अवस्था छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले विकासन्युजसँग भने । ती अधिकारीले ढुंगाना र साउदमाथि कारबाही हुन सक्ने संकेत गरे । ‘कानुनभन्दा माथि कोही पनि हुँदैन, सबैले कानुन विधि र प्रक्रिया अनुसार काम गर्ने हो, उहाँहरुले आचरण विपरित वा कानुन उल्लघंन गरेको देखिए कारबाहीको भागिदार हुनै पर्छ,’ ती अधिकारीले थपे । तर, अहिलेसम्म अर्थमन्त्रालयले के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । यस्तै, पदको दुरुपयोग गरी आफन्तको नाममा सेयर खरिद गरेको देखिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अहिलेसम्म कुनै कारबाही गरेको छैन ।

मनकामना स्मार्ट लघुवित्तको एक वर्षको प्रगतिः ५८९ प्रतिशतले बढ्यो नाफा, एनपीएल घट्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा ५८९.३१ प्रतिशत बढी खुद नाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ मा सो मात्राले नाफा वृद्धि गरेर ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा ४६ लाख ७६ हजार रुपैयाँ मात्रै थियो । संस्थाले प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको राइट ब्याक प्रोभिजन बढेकोले खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको राइट ब्याक प्रोभिजन २५२३ प्रतिशतले बढेर ९३ करोड ८० लाख रुपैयाँ पुगेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११८.५३ प्रतिशतले बढेर ८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नोक्सान थप बढेर ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) २६.६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३१.१५ रुपैयाँ रहेको छ । हालै आईपीओ निष्काशन गरेको संस्थाको चुक्ता पुँजी ७७.५१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ६ करोड ८२ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी गत असार मसान्तसम्ममा बढेर १२ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम ४१०.३३ प्रतिशतले बढेर ३ करोड ७७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको निक्षेप संकलन र कर्जा लगानी क्रमशः १२४.६८ प्रतिशत र १००.६७ प्रतिशतले बढेको छ । यससँगै गत असार मसान्तसम्ममा लघुवित्तको निक्षेप बढेर ३२ करोड ११ लाख रुपैयाँ र कर्जा लगानी पनि बढेर ९७ करोड ८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको एनपीएल ०.१३ ले घटेर ४.९२ मा सीमित भएको छ ।