मकर जितुमाया सुरी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नेको भएको छ । हाइड्रोले सो मात्राको सेयर जारी गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धमा मकर जितुमाया सुरी हाइड्रो र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । उक्त सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । हाइड्रोले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर निष्काशन गर्नेछ । सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।
मेरो माइक्रोफाइनान्सले कमायो १४५ प्रतिशत बढी नाफा, कर्जा लगानीमा आक्रमक
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १४५.५१ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड ७२ लाख रुपैयाँ बढी नाफा कमाएको हो । संस्थाले प्रकाशित गरेको गत असारमसान्तसम्मको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको अधिकांश सूचकमा सुधार देखिएको छ । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७२.४६ प्रतिशत, सञ्चालन आम्दानी ७८.३९ प्रतिशत र सञ्चालन नाफा १०२.५२ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ४४.७२ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.५१ रुपैयाँले बढी हो । अघिल्लो आवको असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर अम्दानी १८.२२ रुपैयाँ रहेको थियो । त्यस्तै, पीई रेसियो ३४.५७, प्रतिसेयर आम्दानी बढेर १६३.१२ रुपैयाँ पुगेको छ । विवरण अनुसार बिजेनसमा पनि संस्था आक्रामक देखिएको छ । समिक्षा अवधिमा संस्थाले निक्षेप सञ्कलन ५२.३५ प्रतिशत र कर्जा लगानी १३६.४० रुपैयाँले बढाएको छ । यससँगै संस्थाले एक वर्षमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६४ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको छ । निक्षेपमा भन्दा कर्जामा आक्रामक देखिएको संस्थाको निष्क्रिय कर्जा घटेर ३.७८ मा सीमित भएको छ । जुन अघिल्लो आवमा ३.६५ रहेको थियो । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाको जगेडा कोषको रकम २०१.९७ प्रतिशतले बढेर ६३ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको जगेडा कोषमा २० करोड ९० लाख रुपैयाँ रहेको थियो ।
सोमबार मनकामना लघुवित्तको सेयर कारोबार नहुने, यस्तो छ कारण
काठमाडौं । दोस्रो बजारमा मनकामना लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार हुन सकेन । बजारमा प्री ओपनिङको समयमा सेयर म्याचिङ हुन नसक्दा सोमबार (साउन १८ गते) को नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएकाे हो । जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा प्री ओपनिङमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ । यससँगै सोमबार नियमित समयमा कारोबार नभएको यस संस्थाको मंगलबार पनि प्रि ओपनिङकाे समयमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ । संस्थाको गत साउन १७ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत ‘एमकेएलबी’ रहेको छ । सम्बन्धित समाचार मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?