पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ नाघेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै लघुवित्तको बजार पुँजीकरण ६ अर्ब १ करोड ७६ लाख ८४ हजार ४०० रुपैयाँ पुगेको हो । लघुवित्तले आज(साउन १४ गते) देखि दोश्रो बजारको यात्रा शुरु गरेको छ । साउन १३ गते नेप्सेमा सूचीकृत भएको संस्थाको आजदेखि दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको पहिलो कारोबार ९१४ रुपैयाँबाट शुरु भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको करिब अधिकतम मूल्य हो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको थियो । यससँगै दिनभरको कारोबारमा लघुवित्तको सेयर मूल्य निरन्तर रुपमा बढेको थियो । र, बिहीबार बढी कमाउनेको दोश्रो स्थानमा पर्न सफल भएको छ । बजारमा लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ९८९.१० रुपैयाँ पुगेको छ । जुन संस्थाको शुरुवाती मूल्यको तुलनामा ८.२२ प्रतिशत अर्थात प्रतिकित्ता ७५.१० रुपैयाँले बढी हो । बिहीबारको बजारमा कूल ९५ हजार २५७ रुपैयाँ बराबरको १०० कित्ता सेयर कारोबारमा किनबेच भएको छ । संस्थाको एकपटकमा १०/१० कित्ता गरी १० पटकमा १०० कित्ता सेयर किनबेच भएको हो । चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको कूल ६० लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत (४१ लाख ६ हजार ७०० कित्ता) संस्थापक र ३२.५० प्रतिशत (१९ लाख ७७ हजार ३०० कित्ता) साधारण सेयर रहेका छन् । सम्बन्धित समाचार जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको ६० लाख ८४ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १३ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर बिहीबार (साउन १४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेबीएलबी’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

पाँच वाणिज्य बैंकले नगद लाभांश दिन नसक्ने, यस्तो छ कारण

काठमाडौं । संचालनमा रहेकामध्ये ५ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिन नपाउने भएका छन् । बैंकहरुले प्रकाशित गरेको गत चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सिभिल, लक्ष्मी, माछापुच्छ्रे, एनआईसी एशिया र प्रभु बैंकले नगद लाभांश वितरण गर्न पाउने छैनन् । तर, असार मसान्तको वित्तीय विवरण आउँदा यी बैंकको अवस्था सुधार भए वा अन्य बैंकको अवस्था विग्रिए नगद लाभांश दिन पाउने बैंकहरुको संख्या र नाम फेरबदल हुन सक्नेछ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नगद लाभांश वितरण गर्नको लागि बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) १२ प्रतिशतभन्दा बढी हुनुहुन्छ । सीएआर ११ प्रतिशत नभएका बैंकहरुले भने लाभांश नै बाढ्न पाउँदैनन् । १२ प्रतिशतभन्दा कम र ११ प्रतिशतभन्दा बढी सीएआर भएका बैंकहरुले भने कर प्रयोजनको लागि मात्रै नगद लाभांश र बाँकी बोनस सेयर दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकको यो व्यवस्था अनुसार सिभिल, लक्ष्मी, माछापुच्छ्रे, एनआईसी एशिया र प्रभु बैंकले नगद लाभांश दिन नपाउने भएका हुन् । यद्यपि, बोनस सेयर दिएर त्यसको कर प्रयोजनको लागि भने यी बैंकहरुले पनि नगद लाभांश भने दिन पाउने छन् । राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने बैंकहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन जारी गरिसकेको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सिभिल बैंकको सीएआर ११.४३ प्रतिशत छ । यस्तै, लक्ष्मीको ११.७२ प्रतिशत, माछापुच्छ्रेको ११.७५, एनआईसी एशियाको ११.४४ र प्रभु बैंकको ११.५३ प्रतिशत छ । त्यसैकारण असार मसान्तसम्मको वित्तीय विवरणले सीएआर १२ प्रतिशतभन्दा बढी नदेखाएमा यी बैंकले नगद लाभांश वितरण गर्न नपाउने देखिएको हो । सबैभन्दा बढी सीएआर कृषि विकासको, अन्यको कति ? सरकारको पनि लगानी रहेको कृषि विकास बैंकको सीएआर नियामक निकायले तोकेकोभन्दा निकै बढी देखिन्छ । गत चैत मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकको सीएआर २१.१० प्रतिशत छ । यस्तै, बैंक अफ काठमाण्डूको १३.८८ प्रतिशत, सेञ्चुरी कमर्शियल बैंकको १२.३३, सिटिजन्स बैंक इन्टरनेसनलको १३.८६, एभरेष्टको १२.८२ र ग्लोबल आईएमईको १३.२२ प्रतिशत छ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंकको १३.१९ र नेपाल इन्भेष्टमेन्ट बैंकको १४.७८ प्रतिशत छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्ममा कुमारी बैंकको १३.९८, मेगा बैंकको १२.२२, नविलको १२.२८, नेपाल बंगलादेश (एनबी) बैंकको १३.७७, नेपाल बैंकको १३.६७ र एनसीसी बैंकको १३.७८ प्रतिशत छ । यस्तै, एनएमबी बैंकको १३.२८, प्राइम कमर्शियल बैंकको १४.०७, सानिमा बैंकको १३.९९, एसबीआई बैंकको १४.१५ र सिद्धार्थ बैंकको १३.३७ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १७.८६, सनराइज बैंकको १३.९१ र राष्ट्रिय वाणिज्य बैंकको १२.८८ प्रतिशत छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई आईपीओ जारी नगरेको कारण उसले दिने प्रतिफलप्रति सर्वसाधारणको चासो कम रहन्छ ।