श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गरिने
काठमाडाैं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् । कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ । नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले सो कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले बताए । उनले कल सेन्टरमा गुनासो आउने बित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए । मन्त्री श्रेष्ठले करिब एक महिनायता भिजिट भिसामा गएकाहलाई विचौलियाहरुले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुस गरिएको बताए । ‘नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेको कल सेन्टरबाट त्यहाँ आउने गुनासो र त्यहाँ आउने कलहरुमा अलि प्रभावकारिता नभएको होकि भन्ने हाम्रो मन्त्रालयको सचिवज्यू, मलगायतको टिमको लागेपछि यो कल सेन्टर मन्त्रालय प्राङगणमै स्थापना गरिएको हो । यसले तत्काल वैदेशिक रोजगारमा गएकाहरुको गुनासको सम्बोधन गर्नेछ । विगत एक महिना यता भिजिट भिसामा जानेहरुलाई विचौलिया वा भनौन दलालहरुले अलपत्र पारेपछि पनि ती गुनासाहरुलाई तत्काल सम्बोधन गर्न पनि मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो,’ उनले भने । ६ जना कर्मचारीहरुले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन । मन्त्रालयका सचिव एकनारायण अर्यालले बैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाई गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले सो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनिकरण गर्दै लैजाने विश्वास समेत व्यक्त गरे । सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।
अर्थमन्त्रालयका कारण श्रमिकलाई ५ करोड नोक्सान
काठमाडौं । आफूलाई श्रमजीवी वर्गको पार्टी भनाउने नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माकै कारण श्रमिकले करिब ५ करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । सरकारले श्रमिकको लागि सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम आफैले दिन्छु भनेर लामो समयसम्म नदिएका कारण व्याज वापत सो बराबरको रकम नोक्सानी भएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा गत जेठ र असार महिनाको रोजगारदाता तथा योगदानकर्ता (कामदार, कर्मचारी तथा श्रमिक) को तर्फबाट सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम दिने घोषणा गरेको थियो । गत जेठ १५ मा अध्यादेश मार्फत आएको बजेटमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका थिए । वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले पनि बजेटको सो व्यवस्थालाई निरन्तरता दिएका थिए । बजेटको व्यवस्था अनुसार गत जेठ र असार महिनाको लागि रोजगारदाता र योगदानकर्ताले कोषमा जम्मा गर्नुपर्ने १ अर्ब ५० करोड रुपैयाँ अर्थमन्त्रालयले कोषलाई दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म पनि अर्थमन्त्रालयले सो रकम नदिएको कोषले बताएको छ । सरकारले कोषलाई रकम उपलब्ध नगराएको कारण योगदानकर्ताको खातामा अहिले पनि कुल जम्मा गरेको रकममा २ महिनाको रकम देखिँदैन । सरकारले रोजगारदातालाई पनि आफैले रकम दिने भन्दै गत जेठ र असार महिनाको लागि रकम जम्मा नगर्न भनेको थियो । कोषमा रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी तलबको ३१ प्रतिशत रकम प्रत्येक महिना जम्मा गर्नुपर्छ । कोषका अनुसार जेठ र असार महिनाको रोजगारदाता र योगदानकर्ताको गरी १ अर्ब ५० करोड रुपैयाँ सरकारले दिनुपर्ने हुन्छ । कोषले जम्मा भएको रकममा ६.५ प्रतिशत व्याज दिने भनेको छ । यसरी हेर्दा अर्थमन्त्रालयले समयमै कोषलाई रकम नदिएका कारण ६ महिनामा १ अर्ब ५० करोड रुपैयाँको व्याज (६.५ प्रतिशतका दरले) रकम वापत श्रमिकलाई ४ करोड ८७ लाख ५० हजार (करिब ५ करोड) रुपैयाँ नोक्सानी भएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल, सम्हाले कार्यभार
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् । पोखरेलले कार्यभार सम्हाल्दै आफुसँग रहेको कार्य अनुभवलाई प्रयोग गरी कम्पनीले नयाँ आयम दिई जिवन बीमा कम्पनीहरु मध्ये अग्रणी भूमिका हासिल गर्न सधैं लागि पर्ने बताए । गत पुस १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिएपछि मात्रै पोखरेलले कार्यभार सम्हालेका हुन् ।