अघि बढ्दै नेप्सेको सीईओ नियुक्ति प्रकृयाः छानिए भण्डारी, कार्की र श्रेष्ठ
काठमाडौं । गत भदौदेखि प्रमुखबिहीन बनेको बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रकृया अघि बढ्दै छ । नेप्सेको सीईओ छनौट सिफारिस समितिले पहिलो चरणमा छानिएका ५ जनाको नाम सर्टलिस्ट गरेर उक्त प्रकृया अघि बढाएको हो । यससँगै समितिले ५ जनामध्ये २ जनाको नाम हटाएर ३ जनाको नाम सर्टलिष्टमा राखेको छ । जसमा रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशवप्रसाद श्रेष्ठ रहेका छन् । समितिले यी तीन जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गरको छ । अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरिषदले तीन जनामध्ये एकजनालाई नेप्सेको प्रमुखको जिम्मेवारी दिने छ । यसअघि समितिले सीईओको बन्नको लागि आवेदेन दिएका ११ जनामध्ये ५ जनालाई पहिलो चरणमा छनोट गरेको थियो । जसमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रवित पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारी पहिलो चरणमा छानिएका थिए । अन्तर्वार्ताका लागि छानिएका यी ५ मध्ये प्रवित पन्दाक र रमेश घिमिरे भने दोश्रो चरणमा छानिन सकेनन् । सम्बन्धित समाचार अघि बढ्यो नेप्सेको सीईओ नियुक्ति प्रकृया, पहिलो चरणमा छानिए ५ जना
थपिए २६२ उद्योग, १ खर्ब ८३ अर्ब लगानी हुँदा २० हजार रोजगारी सिर्जना
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा २६२ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा स्वदेशी लगानीका १३६ र विदेशी लगानीका १२६ उद्योग थपिएका हुन् । यी उद्योगमा १ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ । लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा २० हजार २८३ जनाको लागि रोजगारी सिर्जना भएका छन् । सिर्जना भएको नयाँ रोजगारीमा स्वदेशी लगानीका ठूला, साना र मझौला उद्योगमा १२ हजार ३ सय २१ जना र विदेशी लगानीका उद्योगमा ७ हजार ९६२ जनालाई रोजगारी सिर्जना भएको उद्योग विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्र साना, ठूला र मझौला गरी ४१ वटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका थिए । उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ३ हजार ६३२ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ । त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता हुँदा १ हजार ८९५ जनाको लागि रोजगारी सिर्जना भएको छ । असोज महिनामा साना, ठूला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका थिए । उक्त सङख्यामा उद्योग दर्ता भएसँगै २ हजार ६६७ जनाले रोजगारी पाउने अवस्था सिर्जना भएको छ भने कात्तिक महिनामा २८ वटा उद्योग दर्ता हुँदा २ हजार १३४ जनाले रोजगारी पाउने छन् । विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना, ठूला र मझौला गरी २० वटा दर्ता भएका छन् । जसबाट २ हजार ५३ जनालाई रोजगारी दिइने उल्लेख छ ।
आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आईतबार एक सूचना जारी गर्दै आवेदन खुला गरेको हो । २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेल पुस २२ गते निगमबाट बिदाई भएका थिए । इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिन सकिनेछ । निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँ सहित दरखास्त दिन सक्नेछन् ।