श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ न्यौपानेले पाए निरन्तरता
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिलामणी न्यौपानेले निरन्तरता पाएका छन् । मंसिर १४ गते मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई आगामी कार्यकालको लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो । यससँगै सीईओ न्यौपानेले आगामी मंसिर २३ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
राष्ट्रिय बीमा कम्पनीले सीईओ माग्यो, इच्छुकले मंसिर २६ गतेभित्र आवेदन दिइसक्नु पर्ने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आव्हान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको हो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । यससँगै उनीहरुले आगामी मंसिर २६ गतेभित्र कार्यलय समयमा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ । यो पदको लागि बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ । त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपात्रि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्पनीमा १२ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हुनुपर्ने छ । त्यसैगरी, आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिमा ६५ वर्ष ननाघेका हुनुपर्ने छ ।
नेपाल प्रहरीमा २३ सय जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?
फाइल फाेटाे काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ठूलो संख्यामा प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि एकैपटक २ हजार २३० जना प्रहरी माग गरेको हो । सूचना अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदका लागि कर्मचारी माग गरेको हो । जसअनुसार प्रहरी निरीक्षक जनपथका लागि १४६, प्रहरी जवान जनपदका लागि १९७१, प्रहरी कार्यालय सहयोगी (भान्छे) १६३, प्रहरी कार्यालय सहयोगी (हजाम) १० जना माग गरिएको छ । यस्तैगरी, प्रहरी कार्यालय सहयोगी (सिलाई÷बुनाई), कुचिकार र धोबीमा १०÷१० जना माग गरिएको छ । आफूलाई आवश्यक पर्ने पदका लागि १० रुपैयाँको हुलाक टाँसी स्वयं उपस्थित भएर दरखास्त दिन सकिने जनाईएको छ । यस्तै शुक्रबारदेखि आगामी पुस २३ गतेसम्म कार्यालय समयमा दरखास्त आह्वान गर्नुपर्नेछ । दरखास्त फारमका साथमा पद अनुसारको पदका लागि राजश्व दस्तुर बुझाएको हुनुपर्ने प्रहरीले जनाएको छ ।