कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त

काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । भदौ ३ गते बसेको संचालक समितिको बैठकले उनलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो । राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधिको बैकिङ्ग अनुभव हासिल गरेका उनी प्रवन्धक पदबाट निबृत्त भएका हुन् । र, यस अघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रबन्धकको रुपमा समेत कार्य गरेका थिए । प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित भएका थिए ।

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो । इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरेका उनले कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलता पुर्वक पुरा गरेका छन् । यससँगै उनले आगामी ४ वर्ष आफ्ना दोश्रो कार्यकाल सम्हाल्ने छन् । क्षेत्रीले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट एफआईआई उपाधी हासिल गरेका छन् । उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन् भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रशासकको रुपमा मानिन्छन् ।

१८ महिनापछि खुल्यो रोजगारीका लागि दक्षिण कोरिया जाने बाटो

काठमाडौं । करिब १८ महिनादेखि रोकिएको दक्षिण कोरिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रिया पुन: सुरु भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतकाे इपिएस शाखाले बुधबार एक टेज्डर आह्वान गरेसगैँ प्रक्रिया पनु: सुरु भएको हो । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेसँगै नेपाली कामदार जाने बाटो खुलेको हो । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार भर्ना नलिँदा प्रक्रिया पूरा गरेका करिब ११ हजार बढी नेपालमा नै रोकिएका छन् । विभागका अनुसार पहिलोपटक जान खोजेका (नियमिततर्फ) ८ हजार र प्रतिवद्धतर्फ ३ हजार गरी झन्डै ११ हजार नेपाली कामदार कोरिया जानबाट वञ्चित भएका हुन । कोरियाले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको थियो । साही शर्त अनुसार इपिएस सरकारले कार्यविधि नै संशोधन गरी बुधबार काठमाडौंबाट सिधै सउलसम्मको हवाई टिकट खरिदका लागि टेन्डर आह्वान गरेको हो । ३१ दिनको अवधि राखेर शाखाले विद्युतीय बोलपत्रको आह्वान गरेको हो । यसअघि कार्यविधिमा सबैभन्दा कममा जसले लैजाने टेन्डर हाल्छ, श्रमिक लैजाने जिम्मा उसैलाई दिने गरिएको थियो । कोरिया जाने हवाईभाडालगायत सम्पूर्ण खर्च श्रमिक स्वंयम्ले बेहोर्नुपर्छ । तीन गुणासम्म हवाई भाडा महगो अन्य समयको तुलनामा कोरोना महामारीपछि दक्षिण कोरिया जाने नेपाली श्रमिकको खर्च झन्डै तेब्बरसम्म हुने भएको छ । सामान्य अवस्थामा कोरिया जाने कामदारको लागत खर्च ८ सय १६ डलर (करिब ९० हजार रुपैयाँ) लाग्ने गरेको थियो । कोभिडपछि तोकिएको वायुसेवा कम्पनीमार्फत कोरिया जाँदा र १४ दिनको होटल क्वारेन्टाइन खर्च सम्बन्धीत व्यक्तिले व्यहोर्दा खर्च बढ्ने अनुमान गरिएको हो । सामान्यतः कोरियाको थ्रीस्टार होटलको प्रतिदिन खर्च ६५ डलरसम्म रहेको छ । यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्छ, सोहीबाट ट्रान्जिट उडान हुँदै कोरिया जाने गरेका थिए । तर कोभिडका कारण कोरिया सरकारले सीधै उडान मार्फत मात्र कोरिया प्रवेशको अनुमति दिँदा नेपाली श्रमिकमाथि आर्थिक भार थपिएको हो । नेपाल र कोरियाबीच समझदारी भएपछि इपीएसमार्फत २००८ देखि कोरियाले अदक्ष कामदारका रूपमा नेपालीलाई लैजान थालेको हो । विभागको तथ्यांक अनुसार हाल कोरियामा झन्डै ३१ हजार बढी नेपाली कामदार रहेका छन् ।