एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १२औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जनालाई सर्वसम्मत निर्वाचित गरेको हो । नवनिर्वाचित संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट दिपककुमार श्रेष्ठ, सुरेन्द्रकुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी निर्वाचित भएका छन् । साधारण सेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन् । यससँगै उनीहरुले आगामी ४ वर्षसम्म कम्पनीको सञ्चालक समिति सदस्य पदको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीको १२औं वार्षिक साधारण सभा बाराको सिमरा स्थित होटल क्लासिकमा साउन ३१ गते आइतबार सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेका आ.व.२०७५।०७६ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ । कम्पनीले २०६४ साल चैत २१ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । गत असार मसान्तसम्ममा कम्पनीको २६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र २४ अर्ब ७२ करोड १५ लाख रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यसैगरी, कम्पनीले यो अवधिसम्ममा कूल २९ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिसकेको छ । कम्पनीले हाल ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाउँहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।

सामुदायिक लघुवित्तको सीईओमा निर्मलकुमार कार्की नियुक्त

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मलकुमार कार्की नियुक्त भएका छन् । साउन २९ गते बसेको संस्थाको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । उनी ४ वर्षको अवधिका लागि करारमा नियुक्त भएका हुन् । यससँगै उनले आगामी साउन ३१ गतेदेखि चार वर्षसम्म संस्थाको सीईओको कार्यभार सम्हाल्ने छन् ।

४ वर्षका लागि कुलमानले लिए प्राधिकरणको नेतृत्व

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नियुक्ति पत्र लिएका छन् । उनले आगामी ४ वर्षे कार्यकालयका लागि बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका हुन । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुन: कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशककका रुपमा नियुक्त गरेका थिए । कानुनी प्रावधानअनुसार प्राधिकरणको कार्यकारी निर्देशकको एउटा कार्यकाल ४ वर्षको हुने गर्दछ । सोही अनुसार घिसिङ गत वर्ष २०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए । यसअघि देशमा दैनिक १८ घण्टाभन्दा बढी समय लोडसेडिङ भइरहेको समयमा घिसिङले प्राधिकरणको नेतृत्व पाएका थिए । उनले प्राधिकरणको नेतृत्व संहालेको केही समयपछि नै देशभर लोडसेडिङको अन्त्य गरेका थिए । उनले ४ वर्षे कार्यकाल पूरा गरेपछि पूर्ववर्ती ओली सरकारले उनलाई प्राधिकरणमा दोहोर्याउन इन्कार गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए । शाक्यलाई सरकारले जल तथा उर्जा आयोगमा पठाएको छ । उनी मंगलबार नै आयोगमा गइसकेका छन् ।