विजनेश आइडिया छ तर पैसा छैन ? हल्ट प्राइजले गर्नेछ करोडौं रुपैयाँ सहयोग
आजको समयमा युवा विद्यार्थीहरुलाई हरेक क्षेत्रमा प्राथमिकता दिने गरिन्छ, कारण हो उनीहरुमा भएको समाज परिवर्तन गराउन सक्ने विचारशक्ति । संसारभर ठूला व्यवसायीहरुले आफ्नो कम्पनीलाई नयाँ दिशातर्फ लैजानका लागि युवाहरुकै विचार आवश्यक ठानेर उनीहरुलाई प्रयोग समेत गरिरहेको पाइन्छ । तर बहुसंख्यक युवाशक्ति भएको हाम्रो देशमा भने युवाहरुको विचारलाई प्राथमिकतामा समेत राखेको पाइँदैन । हाम्रो देशमा कतिपय यस्ता युवा पनि छन् जोसँग उद्यम सञ्चालन गर्ने नौलो उपायहरु होलान् तर पूँजीको कमीले गर्दा त्यस्ता उपायहरु दिमागमै सिमित भएका होलान् । उनीहरुलाई पूँजी भएकाहरुले पत्याउन पनि गाह्रै पर्दछ । आखिर पैसाको माया कसलाई पो हुँदैन र ? हो, यस्ता उद्यमशील विचार भएका नव-युवाहरुप्रति मध्यनजर गर्दै यिनका विचारलाई संसारभर प्रस्तुत गर्ने प्ल्याटफर्मको रुपमा काम गरिरहेको छ ‘हल्ट प्राइज’ ले । र आज यस लेखमार्फत् यही ‘हल्ट प्राइज’ को बारेमा चर्चा गर्न लागिएको छ । के हो त हल्ट प्राइज ? ‘हल्ट प्राइज’ हल्ट इन्टरनेशनल विजनेश स्कुल र संयुक्त राष्ट्र संघको साझेदारीमा वर्षेनी गरिने विद्यार्थी प्रतियोगिता हो जहाँ विश्वभरका विद्यार्थीहरुले सहभागिता जनाएका हुन्छन् । यसलाई विद्यार्थीहरुको नोवेल प्राइज भनेर पनि चिनिन्छ । यस प्रतियोगितामा भाग लिने विद्यार्थीहरुले ३/४ जनाको आफ्नो समूह बनाउनु पर्ने हुन्छ । हरेक वर्ष हल्ट प्राइजले एउटा थिम अर्थात् विषयवस्तु चयन गर्दछ जसलाई आधार मान्दै प्रत्येक समूहले एउटा उद्यम कसरी सञ्चालन गर्न सकिन्छ, त्यो उद्यमले कसरी समाजको कल्याण गर्न सक्छ र त्यसबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने आइडियालाई निर्णायक मण्डल सामु प्रस्तुत गर्नुपर्ने हुन्छ । ‘हल्ट प्राइज’ को यस वर्षको थिम भने ‘फुड फर गुड’ रहेको छ । यो थिममा आधारित रहेर विद्यार्थीहरुले जीवनको लागि अत्यावश्यक वस्तु ‘खाना’ कसरी परिवर्तनको सारथी र मानवताको समृद्धि पनि बन्न सक्छ भन्ने विषयमा आफ्ना उद्यमशील विचारहरु प्रस्तुत गर्नुपर्नेछ । निर्णायक मण्डललाई उत्कृष्ट लागेको समूहहरु कलेजस्तरबाट छनौट भएर देश बाहिर हुने क्षेत्रियस्तरमा प्रवेश गर्दछन् जहाँ उनीहरुको प्रतिष्पर्धा अन्तर्राष्ट्रिय तहका विद्यार्थीहरुसँग हुनेछ । त्यहाँबाट पनि विजेता भई चुनिएकाहरुलाई फाइनल राउण्डको लागि तयार पार्ने हेतुले समर विजनेश इन्क्यूवेटर पठाइन्छ जहाँ यी विद्यार्थीहरुलाई विशेष तालिम र परामर्ष दिइन्छ । यसले गर्दा उनीहरुलाई योजना बनाउन मद्दत पुग्दछ र आफ्नो उद्यमको थालनी गर्न सक्षम समेत हुनेछन् । फाइनल चरण चाहिँ संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा हुनेछ र यस चरणको विजेताले १० लाख अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । रनर अपहरुले पनि राम्रो धनराशी पुरस्कार स्वरुप प्राप्त गर्न सक्नेछन् । विजेताहरुलाई त्यो रकम आफ्नो विजनेश आइडियालाई यथार्थमा परिणत गराउन प्रयोग गराउने उद्देश्यले दिइएको हो । नेपालमा हल्ट प्राइज नेपालमा अन-क्याम्पस कार्यक्रम होस्ट गर्ने कार्यभार पुर्वाञ्चल विश्वविद्यालयले पाएको छ । यस विश्वविद्यालयको क्याम्पस डाइरेक्टरको रुपमा वसिम अन्सारी चयन भएका छन् । डाइरेक्टर अन्सारीका अनुसार यस प्रतिष्पर्धामा संसारभरका विद्यार्थीहरुले आफ्ना रचनात्मक विचारका साथ सहभागीता जनाउने छन् र केही वेग्लै कोणबाट सोच्न सक्ने आफ्नो क्षमताको प्रदर्शन पनि गर्नेछन् । जुन आजको समयमा जरुरी पनि देखिन्छ । त्यसैले ‘हल्ट प्राइज’ आफू र आफ्नो राष्ट्रलाई विश्व सामू चिनाउने एउटा सुनौलाे अवसर पनि हो । यो प्रतियोगिता यस वर्षको डिसेम्वरसम्म चल्नेछ । अन्सारी थप्छन्, “हाम्रो टिम अहिलेको कोभिडले निम्त्याएको असहज परिस्थितीका बावजुद पनि सारा कलेजहरुसँग भर्चुअल माध्यमबाट सम्पर्कमा रहेर धेरैभन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउने कसरतमा जुटेको छ ।”
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको छ । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको हो । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा मार्फत निर्वाचित भएका सञ्चालक विशाल अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको साधारण सभा बाराको सिमरा स्थित होटेल इच्छा प्रा. लिमा भएको थियो ।
रेल्वे कम्पनीले माग्यो १ सय २९ कर्मचारी, सामान्य लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदको लागि एक सय २१ जना कर्मचारी मागेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि सो मात्राको दरखास्त आव्हान गरेको हो । सोमबार प्रकाशित विज्ञापन अनुसार कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू माग गरेको छ । जसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको लागि कर्मचारी माग गरेको छ । त्यस्तै, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत कम्पनीले विज्ञापन खुला गरेको छ । यससँगै, इच्छुक आवेदकले आगामी असोज १२ गतेभित्र रेल्वे कम्पनीको वेबसाइट मार्फत् विभिन्न विज्ञापनमा अनलाइन मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले अधिकृतको लागि एक हजार रुपैयाँ, सहायक स्तरको लागि चार सय रुपैयाँ र श्रेणी विहिन स्तरको लागि तीन सय रुपैयाँ दस्तुर तोकेको छ।