डिप्रोक्स लघुवित्तको सीईओमा शेषरमण आचार्य

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत(सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आचार्यलाई माघ २० गतेदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ आचार्यले आगामी चार वर्षसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

आइएफआरसीकाे महासचिव पदमा पहिलो नेपाली चापागाईं नियुक्त

काठमाडाैं । आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका छन् । उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उनी सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व हुन् । महासङ्घको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले उनलाई सो पदमा निर्वाचित गरेको थियो । उनले प्राप्त गरेकाे मत सार्वजानिक नगरिए पनि हालसम्मको सर्वाधिक दुईतिहाइ मत प्राप्त गरेकाे जनाइएको छ । बोर्डमा विश्वका शक्तिशाली २९ देश रहन्छन् । सो पदमा एक वर्ष अगाडिदेखि छनोट प्रक्रिया शरुआत हुने बताइन्छ । लिखित तथा मौखिक परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याएकामध्ये विपद् व्यवस्थापनमा ज्ञान, सीप, दक्षता भएका एक जनालाई बोर्डले मतदान प्रक्रियाबाट सो पदमा छनोट गर्दछ । उनको चारवर्षे कार्यकाल १ फेब्रुअरी २०२० देखि औपचारिक शुरुआत भएको महासङ्घले आज जनाएको छ । विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको साझा संस्थाका रुपमा महासङ्घ रहेको छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९२ देशका रेडक्रस सोसाइटीको महासङ्घमा आबद्धता रहेको छ । युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पुर्याएको जनाइएको छ । हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन् । यसअघि महासङ्घको महासचिव पदमा इलाड सइ थिए । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा निवर्तमान महासचिव सइले महासङ्घले कुशल, अतियोग्य, क्षमतवान तथा नयाँ गतिशीलता प्रदान गर्ने महासचिवका रुपमा जगन चापागाईंलाई प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उनको जन्म भएको थियो । आठ दाजुभाइ र दुई दिदीबहिनी भएको परिवारमा उनी हुर्किएका थिए। अहिले ५२ वर्षमा हिँडिरहेका छन् । उनले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाका यात्रा शुरुआत गरेका थिए । भारतबाट खानी (माइनिङ) इञ्जिनीयरिङमा स्नातक अध्ययन गरेका उनले भुटानी शरणार्थी शिविरबाट महासङ्घको सेवामा उनी प्रवेश गरेका थिए । उनले सन् १९९६ जुनमा ताजकिस्तान र सन् २००३ देखि महासङ्घमा दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाए । सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका थिए । चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पुर्याउन उनले नै नेतृत्व प्रदान गरे । विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि उनी १४ गते काठमाडौँ आइ अन्तरराष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए । महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा निर्देशकको नियुक्ति दिएको थियो । उहाँ पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बनेका छन् । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन् । यही अप्ठ्यारो, विपद्मा परेकालाई उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको” उनले जानकारी दिए । रासस

इनासको शाखा नेपालमा पनि विस्तार, अध्यक्षमा दयाराम पाण्डे नियुक्त

काठमाडाैं ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरि सकेको छ । नेपालमा नयाँ शाखाको विस्तार सँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् । कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् । यस्तै, कृपा के.सी., सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।