अब विदेशबाटै नेपालमा ऋण तिर्न सकिने, प्रभु बैंकले ल्यायो नयाँ योजना
काठमाडौं । अब प्रदेश नं. २ का प्रवासी कामदारले विदेशबाटै ऋण तिर्न सक्ने भएका छन् । प्रभु बैंकले ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत उक्त प्रदेशका पाँच वटा जिल्लाका वैदेशिक रोजगारीमा गएका कामदारहरुले सो सुविधा पाउने भएका हुन् । बैंकले प्रदेश न. २ का बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही गरी ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी उक्त नयाँ प्रडक्ट सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो । प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजना अन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन सक्ने बैंकको विश्वास छ ।
कर्णाली एक्स्पो फागुन ६ गतेदेखि, पाँच करोडको कारोबार हुने अपेक्षा
सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो । सङ्घका अध्यक्ष धनबहादुर रावतले महोत्सवमा कृषिलाई विशेष ग्राहयता दिनुका साथै कर्णालीको पहिचान एवं पर्यटन प्रवद्र्धनलाई मुख्य आधार बनाइने जानकारी दिए । उनका अनुसार प्राङ्गारिक कृषिसँग सम्बन्धित मात्रै १०० प्रदर्शनी कक्ष रहने छ । बेलायतको लण्डन ब्रिजको संरचनाअनुसारको मूल गेट, दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावरस्वरुपका संरचना बनाई सेल्फी जोन निर्माण गरिनेछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले एक्स्पोमा कृषि सम्मेलनको पनि आयोजना गर्ने बताए । प्राङ्गारिक कृषि, जैविक विविधताको संरक्षण, जैविक विषादी, जैविक मल, रैथाने बाली संरक्षणका लागि विज्ञसहित सरोकारवालाको सहभागिता रहने गरी टक सो कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । कर्णालीका १० वटै जिल्लाबाट प्राङ्गारिक कृषि तथा जडीबुटी उत्पादन, लघु उद्यमीका उत्पादन प्रदर्शनी कक्ष रहने छन् । महोत्सवमा करिब ५०० व्यावसायिक प्रदर्शनी कक्ष , करिब रु पाँच करोडको व्यावसायिक कारोवार हुने र तीन लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सङ्घले हरेक तीन वर्षमा एकपटक महोत्सव सञ्चालन गर्दै आएको छ । सङ्घले एक्स्पोबाट प्राप्त आम्दानीको रु ५० लाखको अक्षयकोष बनाई प्रकोप पीडितलाई राहत दिने लक्ष्य लिएको छ ।रासस
फागुन १४ गते स्ववियुको चुनाव हुने, कस्ले मार्ला बाजी ?
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्ने प्रस्ताव गरेको छ । निर्वाचनको मिति टुंग्याउन अहिले किर्तिपुरस्थित विश्वविद्यालयमा अहिले विद्यार्थी संघ संगठनहरुसँग बैठक भइरहेको छ । विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन फागुन १४ गते गर्ने र त्यसका लागि फागुन ४ गेसम्म मतदाता नामावली टुग्याएर प्रकाशन गर्नु पर्ने कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ । यसअघि पुस २८ गते उपकुलपति धर्मकान्त बाँस्कोटा र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले क्याम्पस प्रमुखहरूलाई डाकेर फागुन १४ गते निर्वाचन गर्नेगरी तयारी थाल्न भनेका हुन् । बैठकमा क्याम्पस प्रमुखहरू निर्वाचन गराउन सकारात्मक भएका थिए । उनीहरुले स्ववियु निर्वाचनको तयारी र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि निर्वाचन तयारी थाल्न निर्देशनालयले मुलुकभरका क्याम्पसलाई परिपत्र गरेको थियो । मिति घोषणा भएपछि विद्यार्थी संगठन पनि निर्वाचन गराउन सकारात्मक देखिएका थिए । ०७३ मा निर्वाचित स्ववियु पदाधिकारीको म्याद ०७५ फागुनमा सकिएको थियो । त्यसपछि ६/६ महिनाका लागि दुई पटक थपिएको म्याद आगामी फागुन १३ बाट सकिँदै छ । ०७३ मा अधिकांश आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविले विद्यार्थी भर्नालगायतका काम समयसीमाभित्रै सक्न भनेको छ । यतिबेला स्नातकोत्तर तहको भर्ना चलिरहेको छ । त्रिविले एक साताभित्रै निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर थप प्रक्रिया अघि बढाउने थापाले जनाए । निर्वाचनका लागि उम्मेदवार बन्न २८ वर्षको उमेर हद तोकिएको छ ।