शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताएका हुन् । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताएका छन् । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उनले भने । कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गरे । आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ । विसं २०१८ मा स्थापना भएको बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, प्लम्बिङ, अटोमोबाइललगायत विषयमा १६ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइसकेको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले यसभन्दा अगाडि विसं २०७३ मा उक्त मेला आयोजना गरेको थियो ।रासस

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले एक कार्यकालसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् । यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् । त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएकाे छ ।   ।