वैदेशिक रोजगारको समय अवधिमा नेपालमै मृत्यु भए परिवारलाई ७ लाख सहयोग

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली युवाको श्रम स्विकृति अवधिमा नृेपालमै मृत्यु हुन गएमा परिवारलाई ७ लाख रुपैयाँ सहायता दिने भएकाे छ । बिदामा नेपाल हुँदा जस्तो सुकै अवस्थामा मृत्यु भएको भेटिएका मृतकका परिवारलाई सरकारले आर्थिक सहायता रकम स्वरुप ७ लाख दिने निर्णय गरेको हो । हालसम्म वैदेशिक रोजगारीको क्रममा विरामी भई स्वदेश आएका तथा उपचारको क्रममा मृत्यु हुनेलाई सो रकम दिइने छ । अहिलेसम्म १ सय १४ श्रमिकको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी गराउँनुको साथै सबै मृतक परिवारसामु सहायता रकम पुर्याउने निर्णय गरेको छ । त्यहाँ अन्य विविध कारण नेपाल आएको समयमा २ सय १ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डमा निवेदन दर्ता गरेका सबै मृतकका परिवारसामु सहायता रकम प्रदान गर्ने भएको छ । पछिल्लो समय ५० देखि ६० जनालाई बोर्डले सहायता रकम प्रदान गरेको छ । २०७४ मा वैदेशिक रोजगार ऐन संशोधन भएसँगै मृतकका परिवारलाई ७ लाख रुपैयाँ दिने भएको हो । यस अगाडी ३ लाख रुपैयाँ सहायता रकम बोर्ड मृतकका परिवारलाई दिँदै आएको थियो । वैदेशिक रोजगारमा गएका विरामी भएर तथा बिदामा नेपाल आएका जम्मा ३ सय १५ जना मध्ये अझै २ सय ९० जना मृतकका परिवारलाई ७ लाख रुपैयाँको दरले सहायता रकम प्रदान गर्ने भएको छ । आर्थिक सहायता रकम बराबर वैदेशिक रोजगार बोर्डले करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यस्तै हालसम्म साढे ६ करोड रुपैयाँ १ सय १२ मृतकका परिवारलाई प्रदान गर्न व्यवस्था गरेको थियो ।

यूनाईटेड मोदी हाइड्रोको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त, सञ्चालकमा तिमिल्सिना नियुक्त

काठमाडौं । यूनाईटेड मोदी हाइड्रो पावरको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त नियुक्त भएका छन् । माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पन्तले यसअघि सोही हाइड्रोमा निर्देशकको रुपमा काम गरेका थिए । हाइड्रो क्षेत्रमा १० वर्ष बिताएका उनले सो क्षेत्रमा राम्रो अनुभव बटुलिसकेका छन् । उनी अहिले २५ मेगावटको सिंगटी हाईड्रो इनर्जीमा निर्देशक र तक्सार फिकुवा खोला हाइड्रो प्रालिमा महाप्रबन्धकको रुपमा कार्यरत छन् । साथै, उनले ओम देव प्लाजा र देव लिजिङ कम्पनीमा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)को कार्यभार सम्हालेका थिए । माउन्टेन स्टेटमा अर्गनाइजेसनल लिडरसीप अध्ययन गरेका अध्यक्ष पन्तले कम्प्लेक्स डेभलपर्स लिजर्स एसोशियसन(मल एसोशियसन नेपाल)मा कोषाध्यक्ष भई काम गरेका छन् । त्यस्तै, सोही दिन बसेको संस्थाकाे बैठकले सुधीर प्रसाद तिमिल्सिनालाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको छ । नियुक्तीसँगै अध्यक्ष पन्त र सञ्चालक तिमिल्सिनाले एक कार्यकालको जिम्मेवार सम्हाल्ने छन् ।

कञ्चनपुरका किसानद्वारा एक करोड मूल्य बराबरका माछा उत्पादन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५ सय क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १ सय ३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै रु ९० लाख ७० हजार मूल्य बराबरका माछा उत्पादन भएका पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टले बताए । माछा उत्पादनमा लागेका किसानले रहु, भाकुर, रुपचन्द, कमन, विगहेड, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । उत्पादन गरेका माछा स्थानीय बजारसँगै पोखरीबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । माछा प्रतिकिलो रु ३ सय देखि ४ सयका दरले बिक्री हुने गरेको छ । नगरपालिकाका किसानले वर्षभरी माछा उत्पादन गरी बेच्दै आएका छन् । नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ का ज्ञानेन्द्रबहादुर सिंहले आठ पोखरीमा वार्षिक रुपमा १ सय ५० क्विण्टल माछा उत्पादन गरी  रु ३७ लाख ५० हजार मूल्य बराबरका माछा बिक्री गर्दै आएका छन् । अन्य किसानले भने रु तीन लाख ५० हजारदेखि रु ४० हजारसम्म माछा उत्पादन गरी बिक्री गर्दै आएका छन् । एक लाखभन्दा कम मूल्य बराबरको माछा उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै रहेको छ । चार जना किसानले चालु आवमै पोखरी बनाई माछापालनको शुरुआत गरेका छन । नगरपालिका क्षेत्रभित्र रहेका गौडी सलिना, मणिका, सिद्धनाथ, झारखण्डी, सुनदेवी, निल, शुक्ला, अजिंगर, पुरैना र लरंका ताल मध्ये अजिंगर, पुरैना, लरंका, सिद्धनाथ र झारखण्डी तालमा मात्रै माछापालन हुने गरेको छ । नगरपालिकाका दुई किसानले माछाको ह्याचारी तथा नर्सरी सञ्चालन गरेका छन् । नगरपालिकाको वडा नं ७ का हिक्मत चौधरीले १२ कट्ठा जग्गामा र वडा नं १ का पल्टु चौधरीले दुई दशमलव पाँच बिघामा ह्याचारी तथा नर्सरी सञ्चालन गरे । उनले ह्याचरी तथा नर्सरीमा उत्पादन भएका माछाका भुरा मात्रै बिक्री गरेर रु १० देखि रु १७ लाख आम्दानी गर्दै आएका छन् । नगरपालिकाको वडा नं ३ का गेदु चौधरीले धान खेतमा कमन र विगहेड जातका माछापालन गरी रु एक लाख बढी आम्दानी गरे । डेढ कट्ठा धानखेतमा सोचेभन्दा बढी आम्दानी भएपछि आउँदो वर्ष त्योभन्दा बढी धान खेतमा माछापालन गर्ने बताएका छन् । धान खेतमा माछापालन गर्ने चौधरी नगरपालिकभित्रका पहिलो किसान हुन् । रासस