हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा पाण्डे, सञ्चालकमा ८ जना नियुक्त
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा हरिप्रसाद पाण्डे नियुक्त भएका छन् । पुस २५ गते बसेको सञ्चालक समितिको ७८औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । सो दिन बसेको कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पछि बसेको बैठकले अध्यक्ष सहित ९ जनाको नयाँ सञ्चालक समिति गठन गरेको हो । जसमध्ये संस्थापक समूहको तर्फबाट एक अध्यक्ष र ६ जना सञ्चालक नियुक्त भएका छन् भने सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त भएका छन् । संस्थापक समूहको तर्फबाट प्रा.डा. भीम प्रसाद न्यौपाने, सरोज कुमार उपाध्याय, पशुपति चौलागाई, रमेश प्रसाद न्यौपाने, सोमनाथ पाठक र श्रीराम पाण्डे सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, कपिल आचार्य र प्रमिला चौहान बस्नेत सर्वसाधारण समूहतर्फबाट नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले धेरै उद्योगहरू स्थापना गरिसेकेका छन् । उनले हालसम्म माछापुच्छ्रे मेटल एण्ड मशिनरी वर्क्स(पी) लिमिटेड, पोखरा फूड्स (पी. लि), सगरमाथा ईन्जिनियरिङ वर्क्स (पी) लि., पोखरा मेशिन टूल्स इंडस्ट्रीज (पी) लिमिटेड, पोखरा नूडल्स (पी.) लिमिटेड र रम्बा सामान्य खाद्य उद्योग (पी) लि. उद्योगहरू स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । उनी टाक्स हाइड्रोपावर कम्पनीका पूर्व निर्देशक र सिभिल हाइड्रोपावर कम्पनीका पूर्व कार्यकारी अध्यक्ष पनि हुन्। पाण्डेले नयाँ उद्योग स्थापना गर्ने, उनीहरूलाई संवोधन गर्ने र उनीहरूसँग सफलतापूर्वक सञ्चालन गर्ने लामो अनुभव रहेको छ। साथै, उनीसँग मेकानिकल ईन्जिनियरिङ, सिभिल इन्जीनियरिङ, शैक्षिक संस्थानहरू, खाद्य उद्योग, जलविद्युत र वित्तीय संस्थानहरुको पनि अनुभव रहेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाद्वारा पदवहाली, सेयर बजार सुधारकाे काम अघि बढाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना शुक्रबार पदवहाली गरेको छन् । पदवहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए । पुँजीबजारको विकासका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधार गर्दै बजारलाई गतिशील बनाउने उनले बताएका छन् । साथै, लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निर्णयको औपचारिक पत्र पाएपछि मात्र ढुंगानाले पद बहाली गरेका हुन् । ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन्।
बागलुङमा दुई औद्योगिक ग्राम बन्ने, २५ करोडसम्मको पूर्वाधार निर्माण गर्ने सरकारकाे याेजना
बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । दुवै ठाउँमा गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनपछि सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्वीकृत प्रदान गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “अर्को साता सम्झौताका लागि उद्योग मन्त्रालयले बोलाएको छ”, उनले भने, “औद्योगिक ग्राम बन्ने निश्चित भयो, यही वर्ष काम शुभारम्भ गर्छौँ ।” सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी तथा समन्वयमा औद्योगिक ग्राम बन्नेछन् । स्थानीय तहको मागअनुसार प्रदेश सरकारले औद्योगिक ग्रामको स्वीकृतिका लागि सङ्घीय सरकारसँग सिफारिस गरेको थियो । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाले वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरेको छ । “झण्डै ८५ रोपनी सार्वजनिक जग्गा छ, अपुग भएमा किनेर भए पनि थप्छौँ”, नगरप्रमुख पौडेलले भने । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माणका लागि १०० रोपनी जग्गा आवश्यक पर्छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ । कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोला गाउँपालिकामा पनि औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्रामका लागि जग्गा छनोट गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताइ । “विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्दैछ”, उनले भने, “यही वर्षदेखि पूर्वाधार निर्माणको काम अघि बढ्ने हाम्रो विश्वास छ ।” माटो परीक्षणलगायत आवश्यक प्राविधिक अध्ययनपछि जग्गा छनोट गरिएको थियो । गण्डकी प्रदेश सरकारले गत वर्ष नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि यो वर्ष छनोटमा पर्न नसकेका हुन् । सङ्घ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि सङ्घ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्नेछन् । औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारणकक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । “झण्डै रु २० देखि २५ करोडसम्मको पूर्वाधार निर्माण हुने कुरा आएको छ”, ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने । मन्त्रालयसँग हुने सम्झौतापछि बजेट र लगानीबारे स्पष्टता आउने उनको भनाइ छ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने स्थानीय तहका पदाधिकारीले बताएका छन् । यो वर्ष बागलुङसँगै पर्वत, कास्की, स्याङ्जा, लमजुङ, गोरखा र तनहुँमा गरी ११ स्थानमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाइएको छ । यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको कावासोती र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणका लागि सङ्घीय सरकारले अनुमति दिएको छ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् भने औद्योगिक क्षेत्रमा ठूलो लगानीका उद्योग स्थापना गरिनेछ । रासस