राष्ट्रिय अनुसन्धान विभागले माग्याे २ सय ३२ जना सहायक सूचक, एसईई उत्तीर्णलाई पनि अवसर

काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ।  सहायक सुचकका लागि एसईई उत्तीर्णले पनि आवेदन गर्न सक्ने बताइएकाे छ । १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन पाउने विभागले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ। विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर १ सय ५० रूपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रूपैयाँ लाग्नेछ। विभागले माग गरेका सूचक मध्ये १०४ जना समावेशी समुहबाट छनोट गर्ने जनाएको छ।

विष्णुकुमारीको विदेश यात्राः चलिरहेको पसल बेचेँ, ९० हजार तिरेर चीनको दाङदोङ पुगेँ

काठमाडौं । नुवाकोटकी ३० वर्षीय विष्णुकुमारी तामाङ काठमाडौंको नेपालटारमा सानोतिनो टेलर चलाउँथिन् । उनले टेलर संचालन गरेको ५ वर्ष जति भइसकेको थियो । उनले आफ्नो टेलरमा २ जनालाई रोजगारी पनि दिएकी थिइन् । टेलर राम्रै चलेको थियो । आम्दानीले जेनतेन घरव्यवहार चलाउन पुगेको थियो । तर, यही बीचमा कसैले चीनमा गएर गार्मेन्टमा काम गर्न पाइने र मासिक २ सय ५० अमेरिकी डलर तलब पाइने कथा सुनायो । विष्णुमाया लोभिइन् । ‘कमाई राम्रै हुन्छ भने, विदेश देख्न पनि पाइने कमाइ पनि हुने भएपछि विदेश जान तयार भएँ, मासिक २ सय ५० डलर तलब हुन्छ भनेका थिए, ९० हजार रुपैयाँ तिरेर विदेश गएँ,’ विष्णुकमारीले भनिन् । उनी करिब ७ महिना अगाडि चीनको ल्याओनिङ प्रान्तस्थित दाङ्दोङ सहरको गार्मेट फ्याक्ट्रीमा कामका लागि पुगिन् । काम भने उनलाई पहिला सुनाए जस्तै गार्मेन्ट फ्याक्ट्रीमै पाइन् । तर, तलब भने कम । ‘तलब मासिक २ सय ५० डलर हुन्छ भनेका थिए, तर हामीलाई मासिक ५० डलरको दरले दिइयो, त्यो फ्याक्ट्रीमा हामी ४४ जना नेपाली महिला थियौं, हामीले यति तलबले हुदैन भन्यौं, अनि राति नै थप ५० डलर दिएर मासिक सय डलरमा काम लगाउने भने,’ उनले सुनाइन् । विष्णुकुमारीसँगै गएका अन्य महिलामध्ये केहीलाई सिलाई बुनाईबारे सामान्य जानकारी पनि थिएन । काम गर्ने फ्याक्ट्रीमा राम्रो व्यवहार पनि हुदैनथ्यो । वैदेशिक रोजागारीको लागि एकैचोटी ४४ नेपाली महिला पुर्याइएको दाङ्दोङ सहर चीन–उत्तर कोरिया सिमाना नजिक पर्छ । अहिले विष्णुकुमारी नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किसकेकी छन् । उनीसँगै गएकी रामेछाप घर भएकी रमिला घले भने म्यानपावरलाई ८० हजार रुपैयाँ बुझाएर दाङ्दोङ पुगेकी थिइन् । उनलाई पनि मासिक २ सय ५० डलर नै तलब दिने भनेर लगिएको थियो । ‘तलब पनि भनेअनुसार दिएनन्, एक दिनमा कम्तिमा पनि ११ घण्टा काम गर्नुपथ्र्याे, काम गर्न असाध्यै गाह्रो थियो, नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्कन सक्यौं,’ घले भन्छिन् । सरकारले बैदेशिक रोजगारीको लागि चीन खुल्ला गरेको छैन । उनीहरु सबैजना अवैध रुपमा चीनमा काम गर्न पठाइएका व्यक्ति हुन् । विदेशमा आफन्त गुमाउँदै दैनिक २ परिवार बैदेशिक रोजगारीको शिलशिलामा अहिले दैनिक कम्तिमा १ हजार नेपाली विदेश जाने गरेका छन् । बैदेशिक रोजगार वोर्डका अनुसार यसरी विदेश गएकामध्ये दैनिक औसत २ जना नेपालीले विदेशमै ज्यान गुमाउने गरेका छन् । विदेशमा ज्यान गुमाउने नेपालीका नजिकका नातेदारलाई सरकारले प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरले सहायता रकम दिन्छ । विदेशमा पतिको मृत्यू भएपछि सरकारले दिने सहायता रकम लिन काठमाडौं आएकी थिइन् सल्यानकी जुना ठकुरी । २९ वर्षीय जुना २ सन्तानकी आमा हुन् । ३ वर्ष अगाडि मलेसिया गएका उनका श्रीमान् रामेश्वर ठकुरीको मृत्यु भएको थियो । ‘आज नाइट बसमा आएकी हूँ, मेरा दाजु र श्रीमानका दाजु (जेठाजु) पनि सँगै आउनु भएको छ,’ १३ पुसमा दिउसो बैदेशिक रोजगार बोर्डमा भेटिएकी जुनाले भनिन् । रामेश्वर बैदेशिक रोजगारी सकेर नेपाल फर्कने तयारीमा थिए । उनी नेपाल फर्कन १ महिना मात्रै समय बाँकी थियो । इलाम घर भएकी ३१ वर्षीय इशा राई पनि वोर्डमा चक्कर लगाउदै थिइन् । उनका श्रीमान् केशव राईको बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा मृत्यु भएको थियो । इशा पनि आफ्ना जेठाजुसँग सहायता रकम लिन काठमाडौं आएकी थिइन् । यी प्रतिनिधि घटना मात्रै हुन् । बैदेशिक रोजगारीको अध्यारो पक्षमा महिला पीडित हुने अवस्था बढ्दै गएका तथ्यांकले देखाएको छ । केही घटनामा महिला आफै प्रत्यक्ष रुपमा प्रभावित भएका छन् भने केही घटनामा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् । वार्षिक रुपमा वैदेशिक रोजगारीका लागि गएका करिब ८ सय जनाले ज्यान गुमाउने गरेको तथ्यांक वैदेशिक रोजगार बोर्डसँग छ । आर्थिक वर्ष २०७४/७५ मा ८ सय २१ जनाले ज्यान गुमाएका थिए ।

उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा समय लिई उनले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताए । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भने, “ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।” उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिए । उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरिद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पारेका छन् । उनले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिएका थिए । मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको जानकारी दिए । बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्नु सुझाव दिएका थिए । रासस