नागरिक लगानी कोषमा अधिकृतदेखि सहायक सम्मका कर्मचारी माग
काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ । अधिकृत(प्रशासन) पदमा ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना, वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युरटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना माग गरेको हो । कात्तिक २२ गतेदेखि २१ दिन भित्र सम्बन्धित पदमा योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्ने कोषले जनाएको छ । लोक सेवा आयोगको सहमतिमा रिक्त पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्याथी पदपूर्ति गर्न लागिएको कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बैंकरहरुको प्रतिबद्धता
काठमाडौं । सामाजिक सुरक्षाकोषमा सहभागिताको विषयमा विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर्स संघका पदाधिकारीबीच छलफल भएको छ । उक्त छलफलमा पछिल्लो समय सामाजिक सुरक्षा कोषको मिति थप गरेसँगै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कोषमा आवद्ध हुन मन्त्री विष्टले आग्रह गरे । छलफलमा सहभागी बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितकोे पदाधिकारी टोलीले कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको छ । कोषले लागु गरेको नीति नियमप्रति बैंकरहरुका असहमति समेत व्यक्त गरिएको थियो । अध्यक्ष ढुंगानाको नेतृत्वमा रहेको टोलीले कोषमा व्यवस्था गरिएको दोहोरो कर खारेज गर्न माग गरेको छ । अध्यक्ष ढुंगानाले शुरुमा कोषमा योगदान रकम जम्मा गर्दापनि कर र पछि पेन्सन लिँदा पनि कर तिर्नुपर्ने कोषको प्रवधान श्रममैत्री नभएको बताए । छलफलमा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली तथा सल्लाहकार रमेश वडालले बैंकरहरुको जिज्ञासाको जवाफ दिए । सो बैठकमा सामाजिक सुरक्षा कोषको दर्ता नभएका अन्य ठूला प्रतिष्ठानहरुको पनि उपस्थिति रहेको थियो । मंसिर १३ गतेसम्म कोषमा आवद्ध हुने मिति रहेको छ, भने हाल करिब ९ हजार रोजगारदाता र एक लाख एक हजार श्रमिक रहेका आवद्ध भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । थप जानकारीका लागि सम्बन्धित समाचारहरू : सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो
इटालीको स्टिल प्लान्टका पाँच हजार कामदारको रोजगारी धरापमा
रोम । इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेका अनुसार मित्तल समूहको नयाँ प्रस्तावका कारण इटालीको कम्पनीबाट पाँच हजार कर्मचारीको भविष्य अन्यौलमा पर्ने भएको छ । स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको हाे । विश्वकै सर्वाधिक ठूलो स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको इल्भा प्लान्ट खरिद नगर्ने निर्णय गरेको छ, र यसको जानकारी इटाली सरकारलाई गराएको छ । मित्तल समूहले इल्भाको सर्वाधिक प्रदूषण फैल्याउने टारान्टो स्टिल प्लान्ट बन्द गर्न अनुरोध गरेको थियो, तर इटाली सरकारले स्थानीयको रोजगारी गुम्ने भन्दै उक्त प्लान्ट बन्द नगर्न मित्तल समूहलाई पत्र लेखेको छ । इटालीका प्रधानमन्त्रीको भनाई सार्वजनिक भएसँगै हजारौंको रोजगारी धरापमा परेको छ । तर प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूहसँगको वार्तापछि भने, “मित्तल समूहले लगानी बमोजिम नाफा गर्न नसकिने भएकाले पाँच हजार रोजगारी कटौती गर्ने प्रस्ताव अघि सारेको छ । तर यो हाम्रा लागि स्वीकार्य छैन ।” प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूह पुनः वार्तामा आउने र सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । दुबै पक्षलाई स्वीकार्य प्रस्तावले मात्र समस्याको समाधान निकाल्नेछ, प्रधानमन्त्रीले भने । आर्सेलोर–मित्तलले गत वर्ष नोभेम्बरदेखि नै यो प्लान्ट खरिद गर्ने उद्देश्यले काम थालेको थियो । कम्पनीले यस कम्पनीको पुनरुत्थानका लागि करिब २ अर्ब ७० करोड डलर लगानी गर्ने योजना बनाएको छ, र सन् २०२४ सम्ममा प्रदूषण नियन्त्रणका लागि एक अर्ब २० करोड डलर खर्च गर्ने योजना छ । इटालीको दक्षिणमा रहेको टारान्टो स्टिल प्लान्ट विगतदेखि नै विवादको घेरामा तानिएको छ किनभने विज्ञहरुको भनाईमा यस प्लान्टको वरिपरिका करिब ७ हजार ५०० मानिसको प्लान्टबाट निस्कने घातक प्रदूषणका कारण मृत्यु भएको छ । युरोपकै ठूलो मानिएको यस प्लान्टमा आठ हजारभन्दा बढी कामदार कार्यरत छन् । टारान्टो दक्षिण इटालीको सर्वाधिक गरिबी र बेरोजगारी दर उच्च रहेको ठाउँ हो । इटालीका प्रधानमन्त्री कोन्टेले यसै विषयमा कुराकानी गर्न बिहीबार मजदुर युनियनसँग भेटघाट गर्ने बताएका छन् । रासस