७ हजार खेलाडीका १० लाख रुपैयाँसम्मकाे बीमा राष्ट्रिय बीमा कम्पनीमा
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा छनोट भएका ७ हजार खेलाडी तथा प्रशिक्षकको बीमा राष्ट्रिय बीमा कम्पनीले गर्ने भएको छ । कम्पनीले प्रति खेलाडी १० लाख रुपैयाँका दरले जोखिम बहन गर्ने गरी तयारी शुरु गरेको हो । नेपालमा यहि मंसिर १५ गतेदेखि २४ गतेसम्म साग शुरु हुँदैछ । सागमा विभिन्न विधामा खेल खेल्ने खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धित अन्य व्यक्तित्वको समेत बीमा गर्ने तयारी भएको राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोइरालाले बताए । सागमा फूटबल, जुडो, पौडी, टेबुल टेनिस, फलिबललगायत ३१ वटा खेल हुँदैछ । ‘खेल खेल्ने क्रममा खेलाडीले जोखिम मोल्नु पर्ने भएकाले खेलाडीलाई आर्थिक रुपमा सुरुक्षित राख्न बीमा गर्ने गरिन्छ ।’ अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आएको अवस्थामा हाम्रो मैदानमा उनीहरू घाइते हुँदा हामीले सुरक्षा दिनुपर्ने भएकोले उनीहरूको पनि जोखिम बहन हुनेछ । साथै, नेपाल सरकारले मात्र आर्थिक रुपमा काम गर्दा केही समस्या हुने भएकाले बीमा मार्फत आफूहरूले थप सहज बनाइन लागेको हो । यसरी हुन्छ खेलाडीको बीमाः यहि मंसिर १५ गते देखि २४ गतेसम्म नेपालमा साफ खेल हुँदैछ । उक्त खेलमा बीमा कम्पनीले खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई समावेश गरी बीमा गर्न लागेको हो । राष्ट्रिय बीमा कम्पनीले दिएको जानकारी अनुसार सो खेलमा ८ सय ५० जना नेपाली खेलाडीे सहभागी हुँदैछन् । सागमा सहाभागी हुने सबै खेलाडीहरूको जोखिम बहन हुने राष्ट्रिय बीमा कम्पनीले बताएको छ । यस्तै, ३५० प्रशिक्षकको पनि बीमा गरिएको छ । बीमा वहन गर्ने प्रशिक्षकहरू भने थपघट हुँदैछ । हाल साग खेलको लागि नै भनेर खेलाडी, प्रशिक्षक तथा अन्य सबै खेलसँग आवद्ध हुने व्यक्तित्व समेत गरी ७ हजार जनाको जोखिम बहन गर्न लागिएको छ । यस्तो अवस्थामा खेलाडीहरूको जोखिम बहन हुँदैन खेलाडी आफैले जानी जानी चोट लगाएमा बीमा वापत क्षतिपूर्ति पाइदैन । खेलाडीले आत्महत्या गरेमा वा आत्महत्याको प्रयास गरेमा पनि बीमा बहन गर्न मिल्दैन । मादक पदार्थ वा लागू औषधिको प्रभावबाट हुने क्षतिमा बीमा भुक्तान हुँदैन । त्यस्तै, कावा खाने खेल, व्हिल रेस, घोड दौड, बन्जी जम्पिङ, प्याराग्लाइडिङ वा मोटर साईकल दौड, पोलो, शिकार, पर्वतारोहण, हाइकिङ निशानाबाजी तथा नचाहिँदो खतरा मोल्ने कार्य गरेमा खेलाडीहरूले बीमा गरेको कुनै अर्थ रहँदैन । राष्ट्रिय बीमा कम्पनीले खेलाडीहरूले अनुशासित ढंगले खेल खेलेको अवस्थामा भने बीमाका सम्पूर्ण सुविधा पाउने छन् ।
सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा सुदेश खालिङ, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । शुक्रबार सम्पन्न बैंकको ३२०औं सञ्चालक समितिको बैठकले खालिङलाई बैंकको संचालक पदमा नियुक्त गरेको हो । अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको बैंककाे स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । वाणिज्य बैंकमा सहायकबाट बैंकिङ पेशा शुरु गरेका खालिङसँग बैंकिंङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव रहेको छ । उनी दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।
उद्योगमन्त्री भट्टले भनेः ‘औद्योगिक विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्छु’
चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताएका छन् । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उनले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।” उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उनले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए । मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न यहाँ आएका थिए । रासस