प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्त भए गौतम र पोखरेल
रुपन्देही । प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् । प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् । गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । रासस
एभरेष्ट बैंकका सीईओ नेगीले बिहीबारदेखि कार्यभार सम्हाले
काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गजेन्दरकुमार नेगीले आफ्नो कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ नेगीले बिहीबार(असोज ३०)देखि आफ्नो सीईओ पदको कार्यभार सम्हालेका हुन् । यस अघि कम्पनीको सीईओ सोमेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएपछि उक्त रिक्त पदमा बैंक सञ्चालक समितिले नेगीलाई नियुक्त गराएको हो । नव नियुक्त सीईओ नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण
काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।” व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पुर्याउँदै आएको छ । रासस