बैरो संघका अध्यक्ष गुरुङले भने-‘हामी व्यवसाय बन्द गर्न तयार छौँ’

काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारको विषयमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले गोप्य रुपमा विभागलाई निर्देशन दिएको भए म्यानपावर व्यवसाय संघ बन्द गर्न तयार रहेको चेतावनी दिइएइको छ । ‘विभागमा धर्ना’ कार्यक्रमको पहिलो दिनमा म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गले यदि सरकारलाई वैदेशिक रोजगार व्यवसायी संघको आवश्यक नपर्ने हो भने हामी बन्द गर्न तयार छौं भने । म्यानपावर व्यवसायी संघले राज्यले निर्माण गरेको नीति तथा नियमलाई पालना गर्दै अगाडि बढेपनि  सरकारले यस विषयमा चाँसो नदिएको उनले बताए । पुन श्रम स्वीकृति लिएका फाइललाई मन्त्रालयले १४, १५ महिनादेखि अल्झाएर राख्दा श्रमिकहरु मारमा परेका र यस विषयमा विभागले ठोस निर्णय लिनु पर्ने उनको भनाई छ । उक्त धर्ना कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले गत आर्थिक वर्षमा मात्र मलेसिया ४२ हजार युवा बाहिरिएको बताउँदै मलेसिया रोजगारको विषयमा छलफल भईरहेको जानकारी दिए । बैदेशिक रोजगारीले आर्थिक स्थितिमा सुधार आएको कुरा अवगत गराउँदै म्यानपावर व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भान्तनाले मलेसियाको रोजगार खुलाउनु पर्नेमा जोड दिए । मलेसिया हाम्रो माग हो, विभाग तथा मन्त्रालयले भनेको हामीले मान्दै आएका छौं, त्यसकारण फ्रि भिजाको नाममा १० हजारको डोको सरकारले बोक्न लगाउँदा पनि बोकिरहेका म्यानपावर व्यवसायीको गुनासो रहेको छ । सरकारले तोकेको रकम बराबरको बैंकले धरौटी दिन माने पनि मन्त्रालयले स्वीकृति नदिएकोमा प्रगतिशील वैदेशिक रोजगार मञ्चका अध्यक्ष चित्रगुप्त साहले दुःखेसो व्यक्त गरे ।

समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ । समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको हो । मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले कतिपय स्थानीय तहले समायोजन भएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि हाजिर गराउन निर्देशन दिएको बताए । उनका अनुसार समायोजन भएर गएका कर्मचारीलाई हाजिर गर्न नदिएमा सङ्घीय सरकारबाट स्थानीय तहलाई उपलब्ध गराउँदै आएका अनुदान रोक्का गर्नेलगायतका अन्य आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ । कर्मचारी समायोजन ऐन-२०७५ को दफा १३ को उपदफा ७ बमोजिम ‘सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्नेछ’ उल्लेख गरिएको छ । मन्त्रालयले ऐनको दफा १३ को उपदफा ८ बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने उल्लेख गरेको छ । ऐनबमोजिम समायोजन भएका कर्मचारीलाई हाजिर गराई कामकाज लगाउने कार्य स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको रहेकाले कतिपय स्थानीय तहका प्रमुखले नै पत्र लेखी कर्मचारी फिर्ता पठाउने गरेको कुरा कानूनविपरीत भएको हुनाले फिर्ता नपठाउन समेत निर्देशन दिएको छ । निर्देशनमा समायोजन भई हाजिर हुन आएका कर्मचारीलाई समायोजन भएको रिक्त पदमा हाजिर गराई कामकाज गराउनुपर्ने, मन्त्रालयले रिक्त दरबन्दी नभएमा समायोजन भएका कर्मचारीको पद थप सिर्जना गरी हाजिर गराई जिम्मेवारी दिनेसमेत निर्देशन दिएको मन्त्रालयका सहसचिव अधिकारीले जानकारी दिए । सरकारले गत वर्ष स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो । रासस

इन्जिनियरिंगका विद्यार्थीद्धारा विभिन्न प्रविधिको विकास

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीले विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । कलेजमा इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिपराज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका थिए । आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाइल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू जस्तै बल्व, फ्यान टाढैबाट अन अफ गर्न सकिने जनाइएको छ । यसरी,  इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका बस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् । सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतिलाई हल गर्न मद्दत गर्दछ । यसैगरी, कलेजमै अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूलाठूला कारखानाहरूमा सामान ओसारपोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए । यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिलकुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ‘ए टु जेड’ नामक कम्प्युटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चाहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंग्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् । उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपकप्रसाद भट्टराईबाट संयुक्त रूपमा गरिएको थियो । कलेजमा विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताएका हुन् । २०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाएका छन् ।