उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक रु ७५ लाख क्षति
गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ । विद्युत्को भोल्टेजमा आएको समस्याका कारण मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्युत् व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिएका छन् । पटक–पटक विद्युत् भोल्टेजमा देखिएकोे समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उनले बताए । दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्युत्भार कटौतीका कारण ठूलो घाटामा गएको थियो । रासस
नेपाल एसबीआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण चयन
काठमाडौँ । नेपाल एसबीआई बैंक संचालक समितिको असार १९ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बिआरएस सत्यनारायणलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । अध्यक्ष बिआरएस सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्षसत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा विहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
सार्वजनिक नीति तथा सुशासनसम्बन्धी तेस्रो सम्मेलन शुरू
काठमाडौं । दक्षिण एशियाली मुलुकले अङ्गीकार गरेका सार्वजनिक नीति तथा शासन प्रणालीका अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘दक्षिण एशियाको सार्वजनिक नीति तथा सुशासन’सम्बन्धी तेस्रो सम्मेलन बिहीबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्घाटन गर्दै दक्षिण एशियाली मुलुक नेपाल, भारत र बङ्गलादेश एकै प्रकारका समस्याबाट गुज्रिरहेको बताएका छन् । “दक्षिण एशियाली मुलुकले नयाँनयाँ परिस्थितिको सामना गरिराख्नुपरेको छ । बढ्दो गरिबीले गर्दा थप उत्पादन बढाउनुपर्ने आवश्यकता छ”, उनले भने, “अब नयाँनयाँ अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ र सरकारलाई बाटो देखाउनुपर्छ ।” बौद्धिक पलायन बढ्दो चुनौतीका रुपमा देखापरेको उल्लेख गर्दै मन्त्री पण्डितले शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धि गरी मुलुकको आवश्यकता पूरा गर्न अग्रसर हुनुपर्ने बताए । “विकास र समृद्धिका लागि अहिले मुलुकलाई दक्ष जनशक्तिको आवश्यकता छ भने अर्कोतर्फ शैक्षिक बेरोजगारको पनि ठूलो दबाब छ”, उनले भने, “शिक्षित जनशक्ति र मुलुकको आवश्यकताबीच सन्तुलन भएन भने मुलुकका समस्या समाधान हुँदैनन् ।” सार्वजनिक नीति तथा शासन प्रणालीका सम्बन्धमा दक्षिण एशियामा एकै प्रकारका समस्या देखिएको उल्लेख गर्दै उनले सम्मेलनमा सहभागीबीचको अनुभव आदानप्रदानबाट समस्याको समाधान निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सो सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका प्राध्यापक, सार्वजनिक नीतिसम्बन्धी जानकारलगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको छ । सम्मेलनमा सार्वजनिक नीति र शासन प्रणाली, दिगो विकास लक्ष्य, सार्वजनिक सुशासनका विषय, लगानीको वातावरण निर्माणलगायत नीतिगत विषयमा संवाद एवं छलफल हुनेछ । रासस