पुर्णचन्द्र थापा प्रधानसेनापति, राष्ट्रपतिबाट दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन। राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइन । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए । मन्त्रिगण, सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरेका छन् । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका सेनापति थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । रासस
रेल विभागको महानिर्देशकमा बलराम मिश्र
काठमाडौं । रेल विभागको महानिर्देशकमा बलराम मिश्र नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले मिश्रलाई महानिर्देशक नियुक्त गरेका हुन् । मिश्रले बिहिबारदेखि नै विभागको कार्यभार सम्हालेका छन् । उनी यस अघि सडक विभागको उत्तर दक्षिण सडक आयोजना प्रमुखको जिम्मेवारीमा थिए । रौतहटका मिश्रले हुलाकी सडक आयोजना प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । कार्यभार सम्हाल्दै उनले नेपालको विकासको मुल प्रवाहका रुपमा हेरिएका रेलमार्गहरुको तिब्रत्तर विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए ।
ज्योति विकास बैंकको नायब महाप्रबन्धकमा शर्मा र सहायक महाप्रबन्धकमा आचार्य नियुक्त
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन् । नवनियुक्त शर्माको २३ वर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एसबिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभव रहेको छ । त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० वर्ष काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च व्यवस्थापनमा स्थापित बाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका व्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने कम्पनीको विश्वास छ ।