डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । बढुवा सिफारिस भएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन् ।

एनएमबि लघुवित्तको डीसीईओमा सजल खड्का नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सजल खड्का नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गरेको हो । खड्कालाई कातिक १ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त भएकाे जनाइएको छ । लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभवी खड्काले यसअघि मातृभूमि लघुवित्तको डीसीईओ थिए । साथै उनले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालेका थिए । उक्त लघुवित्त मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्तको डीसीईओ बनेका थिए । साथै उनले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरिसकेका छन् ।

शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ बन्दै आएका हुन् ।