गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘यस वित्तीय संस्थाको कार्तिक १३ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको १२२औं बैठकले यस वित्तीय संस्थामा रिक्त रहेको सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा काठमाडौं भाटभटेनीमार्ग निवासी तुलसा खरेललाई मनोनयन गर्ने निर्णय गरेको व्यहोरा जानकारीको लागी अनुरोध छ,’ नेप्सेले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मानुषी लघुवित्तको सञ्चालक बने सिलवाल
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीए कमलप्रसाद सिलवाल नियुक्त भएका छन् । कार्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पदमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो । ‘उपरोक्त सम्बन्धमा यस मानुषी लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको कार्तिक १२ गते बसेको ८७ औं बैठकको निर्णयअनुसार सीए कमलप्रसाद सिलवाललाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक सदस्य पदमा नियुत्ति हुनु भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं,’ नेप्सेको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहन्छ : श्रममन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने जानकारी दिए । उनले बर्सेनि सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताए । वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बताए । सरकारलाई असफल हुने छुट नरहेको जानकारी दिए । ‘कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन्’, उनले भने । श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको जानकारी दिए ।