जनशक्ति नहुँदा ‘आइसियु’ बनेन, एक करोड बजेट फिर्ता
बागलुङ, १७ साउन । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसियु कक्ष बन्न सकेको छैन । जसका कारण आइसियुका लागि स्वास्थ्य मन्त्रालयबाट आएको बजेट समेत फिर्ता हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले आइसियुका उपकरण खरिदका लागि आव ०७१/०७२ मा रु एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट दक्ष जनशक्ति नभएकै कारण फिर्ता भएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अध्यक्ष टीकाराम सापकोटाका अनुसार आइसियु कक्ष चलाउन न्यूनतम चार विशेषज्ञ चिकित्सकको आवश्यकता पर्छ । तर, अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक एकजना मात्र हुनुहुन्छ । उपकरण खरिदका क्रममा समेत विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने अध्यक्ष सापकोटाको भनाइ छ । स्व हरि खड्का ट्रमा सेन्टरको लागि आएको उक्त बजेटबाट आइसियु कक्ष निर्माण गर्ने योजना अस्पतालले बनाएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसकेमा उक्त बजेट पनि फिर्ता हुने सम्भावना छ । आइसियु चलाउनको लागि एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक र रेडियोलोजिस्ट चिकित्सक आवश्यक पर्ने अध्यक्ष सापकोटाले बताए। मन्त्रालयले छिट्टै विशेषज्ञ चिकित्सक उपलब्ध गराउने आश्वासन दिएपछि आइसियुका उपकरण खरिदका लागि प्रक्रिया अघि बढेको छ । सरकारले गत वर्ष बागलुङका स्व सभासद् हरि खड्काको स्मृतिमा ट्रमा सेन्टर खोल्ने निर्णय गरेको थियो । ट्रमा सेन्टरका लागि आइसियु अनिवार्य चाहिने हुँदा विशेषज्ञ चिकित्सकको तत्काल व्यवस्था गर्न अस्पतालले मन्त्रालयसँग माग गरेको छ । दरबन्दीमा चिकित्सक आउन नसके अस्पतालले आफ्नै व्यवस्थापनमा भए पनि आइसियु सञ्चालन गर्ने जनाएको छ । अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले अञ्चलमै आइसियु सेवा नहुनु दुःखद् रहेको बताए । “आइसियु सेवा दिनसके जटिल समस्याको पनि यही निदान र उपचार हुन्छ” चिकित्सक राजभण्डारीले भने “अस्पतालमा स्रोतसाधन र जनशक्ति व्यवस्थापनको लागि सबैले पहल गर्नुपर्छ ।” रासस
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १३ जनाको आवेदन
काठमाडौं, १७ साउन । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्नका लागि १३ जनाले आवेदन दिएका छन् । वर्तमान प्रबन्ध निर्देशक वुद्धिप्रसाद आचार्यसहित टेलिकम भित्रका ९ जना र बाहिरका ६ जनाले प्रबन्ध निर्देशक बन्नका लागि आवेदन दिएका हुन् । सूचना तथा सञ्चार मन्त्रालयले आवेदनका लागि साउन १६ गतेसम्मको समय सिमा तोकेको थियो । टेलिकम भित्रबाट प्रबन्ध निर्देशक आचार्यसहित नायव महाप्रबन्धक कामिनी राजभण्डारी, कम्पनी सचिव गोकर्णप्रसाद सिटौला, मानव संसाधन विभाग प्रमुख रवीन्द्र झा, प्रबन्धकहरु सुनिल कुमार पोखरेल, प्रतिमा प्रधान, मचुतानन्द वैद्य, राजुबाबु आर्याल र गुणकेशरी प्रधान रहेका छन् । टेलिकम बाहिरबाट दिपकराज जोशी, मदन खरेल, अनिलकुमार झा, नागेन्द्र झा लगायत रहेका छन् । टेलिकमले असार २५ गते २१ दिने म्याद तोकेर प्रबन्ध निर्देशकका लागि दरखास्त आव्हान गरेको थियो । नेपाल टेलिकमले पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट प्रबन्ध निर्देशक छनोट गर्न लागेको हो । पहिलो चरण्मा ६ जनालाई छनौट गरि अन्तरवार्ताका लागि बोलाईनेछ ।
बुम रेमिट्यान्सको एजेन्टमा ओम, इन्नोभेटिभ र जनउत्थान नियुक्त
काठमाडौं, १६ साउन । बुम रेमिट्यान्स प्रा.लीले ओम डेभलपमेन्ट बैंक लि, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बूम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम तिनाउ बिकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसीया, कोरीया, जापान, अस्ट्रेलिया, युरोपबाट समेत कारोवार सुरु गर्ने छ । उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले, इन्नोभेटिभ डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवणि कुमार दाहालले र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।