विजय लघुवित्तको सीईओमा वसन्तराज लम्साल नियुक्त

वसन्तराज लम्साल काठमाडौं, २ साउन । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वसन्तराज लम्साल नियुक्त भएका छन् । कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि लम्साललाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनी सोही वित्तीय संस्थामा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । १४ करोड चुक्ता पुँजी भएको र करिव ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको विजय लघुवित्तले २४ शाखाबाट १६ जिल्लामा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यलय रहेको यो संस्था ३ वर्षअघि सञ्चालनमा आएको हो । चालु आर्थिक वर्षमा थप १० शाखा सञ्चालन गरि सेवा विस्तार गर्ने योजना रहेको लम्सालले बताए । मौद्रिक नीतिमा उल्लेख भएझै लघुवित्तले ७ प्रतिशत स्प्रेडदरमा वित्तीय सेवा दिन नसक्ने उनले बताए । ‘राष्ट्र बैंकको कार्यविधि आउन बाँकी छ । सुधारसहित कार्यविधि आएन भने लघुवित्त संस्था ध्वास्त हुन्छन्’ उनले भने । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले गरेको व्यवस्था सरकारले यस अघि जारी गरेको नीतिसँग मेल नखाएको उनले बताए । सरकारले १८ प्रतिशतसम्ममा कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरिसकेको छ अवस्थामा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सरकारी नीतिसँग मेल नखाने उनले बताए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा र बेलायतबाट डेभलपमेन्ट स्टडीज्मा मास्टर डिग्री हासिल गरेको लम्सालले करिव २० वर्ष विभिन्न एनजीओ आइएनजीमा काम गरेका छन् । सेफर वल्डको कन्ट्री डाईरेक्ट भएर काम गरिसकेका लम्सालसँग यूएन लगायत अन्य अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा रहेर पूर्वी यूरोप, अफगानिस्तानसहित विभिन्न देशमा सामाजिक विकासका क्षेत्रमा काम गरेको अनुभव छ ।

कोरियामा कामदारको तलब वृद्धि, नेपालीले मासिक एक लाख २० हजार कमाउने

काठमाडौं, २ साउन । कोरिया सरकारले कामदारको तलब वृद्धि गरेको छ । कोरियाले सन २०१७ देखि लागु हुने गरि कामदारको तलब ७ दशमलब ३ प्रतिशतले वृद्धि गरेको हो । यो वृद्धिसँगै अब कोरियामा रहेका नेपाली कामदारहरुले सन २०१७ देखि मासिक न्युनतम एक लाख २० हजार रुपैंयाँ आम्दानी गर्नेछन् । ज्याला निर्धारण समितिमा रहेका १६ जनामध्ये ११ जनाको समर्थनमा ज्याला बढाउने निर्णय भएको हो र सो निर्णय सन २०१७ को जनवरी १ तारिख देखि लागु हुनेछ । तलब वृद्धिको निर्णय कार्यान्वयनमा आएपछि कोरियामा कामदारले मासिक १३ लाख ५२ हजार २ सय ३० वन(कोरियाली मुद्रा) प्राप्त गर्नेछन् । हाल उनीहरुले मासिक १२ लाख ६० हजार २ सय ७० वन प्राप्त गर्दै आएका छन् । यसले कोरियामा काम गर्ने नेपालीहरुको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।

भूकम्प पीडितले ट्याक्सी पाउने, प्रभावित १४ जिल्लाका वासिन्दाले आवेदन दिन पाउने

काठमाडौ १ साउन। यातायात व्यवस्था विभागले भूकम्प पीडित १४ जिल्लाका जनताका लागि १५ सय ट्याक्सी संचालन गर्न दिन आवेदन खुला गरेको  छ । काठमाडौं उपत्यकाभरी ट्याक्सी चलाउनको लागि यो आवेदन खुला गरेको  विभागले जनाएको छ। यातायात  व्यवस्था विभागले सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि भदौ २ गतेभित्र भूकम्प प्रभावित जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने उल्लेख गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार दिने उदेश्यले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्षको जेठमा यो निर्णय गरेको थियो । भूकम्प पीडितले सक्कल नागरिकतासहित स्वंय उपस्थित हुनुपर्ने व्यवस्था विभागले गरेको छ । विभागका अनुसार एक भूकम्प पीडितले एउटामात्रै आवेदन दिने पाउनेछन् । भूकम्प पीडितको प्रमाणपत्र भएको व्यक्ति स्वयंको दस्तखत र ल्याप्चेसहित निवेदन फाराम दर्ता गर्नुपर्ने विभागले जनाएको छ । १५ सय भन्दा बढी आवेदन परेमा गोलााप्रथामार्फत ट्याक्सीको छनौंट गरिने विभागले जनाएको छ ।   विभागका अनुसार सरकारद्धारा निर्धारित १४ जिल्लाका भूकम्प प्रभावित बासिन्दाले आवेदन दिन पाउनेछन् । आवेदन दिँदा हालसालै खिचिएको पासपोर्ट साईजको फोटो एक प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सोको प्रतिलिपी पेश गर्नुपर्ने विभागले जनाएको छ ।