इजरायलमा ८ सय कामदारका लागि आवेदन खुल्यो, को-को जान पाउँछन् ?
काठमाडौं । इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना प्रकाशित गरी दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि ८ सय जनाको लागि आवेदन खुला गरेको हो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको हो । विभागका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागु हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिने सूचनामा उल्लेख छ । ८ सय जना माग भएका मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेका र तीन सय जनालाई वैकल्पिकमा राखिने बताइएको छ । २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएका, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेका वा १२ कक्षा पास भएकाले आवेदन दिन सक्ने विभागले जनाएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । यस काममा जानेको मासिक तलब ५ हजार ८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।
क्याप्टेन थप्दै यती एयरलाइन्स, २ हजार घण्टा उडान अनुभवीले आवेदन दिन सक्ने
काठमाडौं । यती एयरलाइन्स लिमिटेडले क्याप्टेन मागेको छ । मंगलबार एक सूचना जारी गर्दै यती एयरलाइन्सले लाइन क्याप्टेन मागेको हो । एटीआर७२–५०० तथा एटीआर७२–६०० जहाजको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै एटीआर७२–५०० तथा एटीआर७२–६०० एयरक्राफ्टमा लाइन क्याप्टेनको रूपमा न्यूनतम २ हजार घण्टा उडान गरेको अनुभव हुनु पर्नेछ । इच्छुक योग्य व्यक्तिले १५ दिन अर्थात् असार २५ गतेभित्र आफ्नो व्यक्तिगत विवरण कम्पनीको इमेल [email protected] मा सीभी लगायत अन्य कागजातहरू पठाउन सक्नेछन् । सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र छनोटका लागि बोलाइने कम्पनीको भनाइ छ । थप जानकारीका लागि कम्पनीको मानव संसाधन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलको राजीनामा स्वीकृत
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । शुक्रबार साँझ ५ बजे बसेको संस्थाको २१८औं सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव दिपित श्रेष्ठले बताएका छन् । उनका अनुसार पौडेलले असार ६ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजीनामा दिएका थिए ।