रिडी पावरको अध्यक्षमा कुबेरमणि नेपाल

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल नियुक्त भएका छन् । तत्कालीन अध्यक्ष सन्जिव न्यौपानेले राजीनामा दिएसँगै सञ्चालक समितिले रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई चयन गरेको हो । यस्तै कम्पनीले रिक्त रहेको प्रबन्ध सञ्चालक पदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालीन अध्यक्ष न्यौपानेको राजीना स्वीकृत लगायतका निर्णय गरेको गरेकाे छ ।

सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्र र सञ्चालकमा नारायणराज नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंकको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । साथै, उक्त बैठकले नारायणराज अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट अन्य सञ्चालक प्रमेशराज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र सञ्चालकहरू अभिजित मुल, ज्योत्सना बोहरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको सह-लगानी छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरूले पूँजीबजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या समाधानका लागि संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरका शाखा कार्यालबाट प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्टको निमित्त सीईओ बनिन् अञ्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी निमित्त सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ । सञ्चालक समितिले सीईओ विजय बहादुर शाहलाई पदमुक्त गरेपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । उनी हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छिन् ।