कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी
काठमाडौं । कृषि विकास बैंकले ११२ जना कर्मचारीको माग गरेको छ । शुक्रबार बैंकले एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारीको माग गरेको छ । बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो । त्यस्तै, १६ जना व्यवसाय सहायक, १ जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ । उक्त पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले शुक्रबारदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ ।
सपोर्ट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । फागुन १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा सञ्चालक पोखरेललाई नियुक्त गरेको हो । यसअघि संस्थाको अध्यक्षमा प्रदीप अधिकारी थिए । उनले दिएको राजीनामा फागुन १० गतेदेखि नै लागू हुने गरी स्वीकृत भइसकेको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बराल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस