आईएमई लाईफको चिफ मार्केटिङ अफिसरमा चौलागाई
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए । चौलागाईले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुन् । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी
गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।