सङ्घीय संसद्को महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मङ्गलबार सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । सीईओमा आवेदन दिन बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोतर वा सोसरहको उपाधि हासिल हुनुपर्नेछ । व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक तथा बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष एवं दुवै क्षेत्रमा भएमा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ । यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक-वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएक हुनुपर्नेछ । दर्खास्त दिंदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेश गर्नु पर्नेछ ।

महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २४ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो । महालक्ष्मीमा गाभिनुअघि यती डेभलपमेन्ट बैंकमा पनि लम्साल सीईओ थिए । उनले कुमारी बैंकमा हेडका रुपमा पनि काम गरिकेका छन् । लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।