ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् विभिन्न परिसूचकमा सबैभन्दा ठूलो बैंकको रुपमा उभिएको यस बैंकमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् । बैंकले बज्राचार्यपछि रेग्मीलाई दोस्रो महत्वपूर्ण भूमिका दिएको छ ।

नेपाल एसबिआई मर्चेण्टको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लेखनाथ पोखरेल नियुक्त भएका छन् । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि पोखरेलले नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व रहेका कम्पनीको दावी छ । नव-नियुक्त सीईओ पोखरेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा एसबिआई मर्चेण्ट विश्वस्त छ । नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा पन्त नियुक्त

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा बाबुराम पन्त नियुक्त भएका छन् । भदौ २९ गते बसेको मन्त्रिस्तरीय बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।