कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् । साथै, सुवेदीले बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसमक्ष सपथ लिएका हुन् । साथै, यसअघि कोषको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका मुख्य प्रबन्धक दिनेश केसीको कार्यकाल सम्पन्न भएपछि विदाई गरिएको छ ।

औषधि व्यवसायी सङ्घको अध्यक्षमा खण्डेवाल निर्वाचित

वीरगञ्ज । नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित भएका हुन् । निर्वाचनको मतपरिणामअनुसार खण्डेवालले एक सय चार मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठले ८७ मत प्राप्त गरे । यस्तै सङ्घको उपाध्यक्षमा रामप्रसाद खरेल, आयाततर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा, सङ्घको थोकतर्फको उपाध्यक्षमा टङ्कप्रसाद अधिकारी र खुद्रातर्फको उपाध्यक्षमा यामनाथ पौडेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । सङ्घको महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् । सङ्घको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित भएका छन् । सङ्घको १४औँ अधिवेशनको गत शुक्रबार एक कार्यक्रमकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका थिए । रासस

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त, को–को बने पदाधिकारी ?

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त चयन भएका छन् । शुक्रबार सम्पन्न भएको साधारण सभाबाट आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त अध्यक्षमा चयन भएका हुन् । नवनियुक्त अध्यक्ष पन्त यसअघि प्रथम उपाध्यक्ष थिए भने गुडविल फाइनान्सका सीईओ सरोज काजी तुलाधर संघको अध्यक्ष थिए । यस्तै, संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रबि चन्द्र गुरुङ, द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोज मान श्रेष्ठ चयन भएका छन् । यस्तै, संघको महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् । यस्तै, संघको सदस्यमा प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएका छन् ।